इंल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ को फाइनलमा पुगेको छ।
क्रोएसियाले बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा पूर्व विजेता इङ्ल्यान्डलाई २-१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो।
क्रोएसियाको जितमा मारियो मान्जुकिच र इभान पेरिसिच गोल गरे। इंल्याण्डका लागि कायरन ट्रिपियरले गोल गरेका थिए।
निर्धारित समयको खेलमा १-१ को बराबरीमा सकिएको खेलमा क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरेका थिए।
अत्यान्तै प्रतिश्पर्धात्मक खेलको १०९ औं मिनेटमा मान्जुकिचले गोल गर्दै क्रोएसियालाई ऐतिहासिक उपलब्धि दिलाएका हुन्।
पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले अब उपाधिका लागि आइतबार पूर्व विजेता फ्रान्ससँग खेल्नेछ।
सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको क्रोएसियाले बुधबार राति अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। ५४ प्रतिशत बल नियन्त्रणमा राखेको क्रोएसियाले २२ पटक इंल्याण्डको पोस्टमा बल प्रहार गरेको थियो। जसमध्ये ७ वटा प्रहार अन टार्गेट थिए भने ११ वटा अफ टार्गेट थियो। ४ वटा प्रहार किपरले रोकेका थिए। इंल्याण्डले भने ११ पटक मात्र क्रोएसियाको पोलमा प्रहार गरेको थियो जसमध्ये अनटार्गेट प्रहार १ मात्र थियो।
इङ्ल्यान्डविरुद्ध सुरुवातमा पछि परे पनि क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।
५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयाश सफल हुन सकेन। इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरि फाइनल पुग्न सकेको छैन। इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो।
समूह डिमा रहेको क्रोएसियाले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
पहिलो खेलमा नाइजेरियालाई २-०ले हराउँदै उत्कृष्ट सुरूवात गरेको थियो। दोस्रो खेलमा उपाधिको दाबेदार मानिएको लियोनल मेसीको टिम अर्जेन्टिनालाई ३–० ले स्तब्ध पार्दै आफूलाई उपाधिको लागि दाबेदार बनाएको थियो।
समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ ले हराउँदै उसले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो ।
नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै अन्तिम ८ पुग्यो।
क्वाटरफाइनलमा आयोजक रूसलाई पनि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा गरेको थियो।
बुधबार इंग्ल्याण्डलाई पछि परेको अवस्थाबाट फर्किएर पराजित गर्दै उपाधि नजिक पुगेको हो।
हेर्नुहोस् तथ्याड्कमा इंल्याण्ड र क्रोएसियाको खेल कस्तो रह्यो
