रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा इङ्ल्याण्डलाई हराउँदै क्रोएशिया फाइनलमा पुगेको छ। बुधबार राति भएको खेलमा क्रोएसियाले एक पटकको विश्व च्याम्पियन इंल्याण्डलाई २-१ ले निराश पार्दै पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
विश्वकप उपाधिका लागि अब क्रोएशियाले फ्रान्ससँग भिडन्त गर्नेछ।

खेलको १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएशियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पुर्याउन सफल भएको हो।

क्रोएशिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। सो विश्वकपमा नेदरल्याण्डलाई तेश्रो स्थानमा सिमित भएको उसले त्यसयता ५ वटा विश्वकप खेलिसकेको छ। सो खेलमा ५ गोल गरेका डाभोर सुकरले सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट जितेका थिए।
सो विश्वकपमा फ्रान्ससँग २-१ ले पराजित भएपछि त्यतिबेला 'डार्क हर्स'को उपाधि पाएको क्रोएशिया फाइनल पुग्न सकेको थिएन। अब २० वर्षपछि क्रोएशियाले फ्रान्ससँग सो पराजयको बदला लिने सुनौलो अवसर समेत पाएको छ।
आज भएको खेलमा इङ्ल्याण्डले पाँचौ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो। इङ्ल्याण्डका लागि पहिलो गोल ट्रिपियरबाट भएको थियो।

एक गोलले पछाडि परेपछि दबाबमा परेको क्रोएशियाले खेलको ६८ औं मिनेटमा गोल फर्काउँदै आफ्नो विश्वकप फाइनल यात्रा जिवित राख्न सफल भयो। पेरिसिकले सो बराबरी गोल गरेका थिए।

बराबरी गोलपछि उत्साहित बनेको क्रोएशियाले इङ्ल्याण्डको पोस्टमा केही खतरनाक प्रहार गरेको थियो। तर, ती प्रहारहरू गोलमा परिणत भने हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो।



