रूसमा जारी २१औं संस्करणको फीफा विश्वकप २०१८ को अप्रत्याशित परिणाम निस्किएको विश्वकप भन्दा फरक नपर्ला।
विश्वकपको समूह चरणबाटै डिफेन्डिङ च्याम्पियन जर्मनी बाहिरिएको थियो। नकआउट चरण सुरू भए लगत्तै अर्जेन्टीना, पोर्चुगल र स्पेनजस्ता दाबेदार र बलिया टोली बाहिरिए। त्यसपछि क्वार्टरफाइनलबाट ब्राजिल, उरूग्वे जस्ता टिम हारेर घर फर्कन बाध्य भए।
यो सँगै टिमसँग जोडिएका केही ठूला खेलाडीको विश्वकप जित्ने सपना अधुरै रह्यो।
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो, नेइमार जस्ता विश्वप्रसिद्ध फुटबलरले आजसम्म विश्वकप ट्रफी छुन पाएका छैनन्।
मेसी र रोनाल्डोले अहिलेसम्म कुल चार विश्वकप खेले। दुबै खेलाडी नकआउट चरणमा गोल गर्न असफल रहे। अब चार वर्ष पछि सन् २०२२ मा एसियाली राष्ट्र कतारले आयोजना गर्ने २२ औं संस्करणको विश्वकपमा यी दुई हस्ती खेल्ने नखेल्ने टुंगो छैन। ३१ वर्षिय मेसी र ३३ वर्षिय रोनाल्डो विश्वकपमा खेल्नसक्ने सम्भावना पनि उत्तिकै छ। किनकी उनीहरूले जाँदा जाँदै राष्ट्रका लागि महत्वपूर्ण योगदान दिनेछन्।
यी दुई खिलाडी फुटबल विश्वकपमा सर्वश्रेष्ठ फुटबलरको उपाधि जितिसकेका छन्। तर आफ्नो मुलुकका लागि विश्वकप जिताउन सकेका छैनन्।
यस्तै चोटबाट ब्यूतिएका नेइमार मेसी र रोनाल्डोको तुलानमा केही राम्रो खेले पनि क्वार्टरफाइनलभन्दा माथि जान सकेनन्। नेइमारले नकआउटचरणमा एक गोल गरेपनि टिमलाई विश्वकप जिताउन असफल रहे।
यी मात्र होइनन् यसअघिका केही खेलाडीहरूले क्लब फुटबल र व्यक्तिगत प्रदर्शनमा राम्रो नतिजा दिए पनि मुलुकका लागि विश्वकप दिलाउन सकेनन्।
जोहान क्रुफ (हल्याण्ड)

सुन्तला कलरको जर्सी लगाउने हल्याण्डका कप्तान जोहान क्रुफलाई युरोपको इतिहासमै सबैभन्दा उत्कृष्ट फुटबलर भनेर चिनिन्छ। सन् १९७४ मा पश्चिमी जर्मनी मा भएको विश्वकपमा उनले आफ्नो टिमको नेतृत्व गरेका थिए। टिमलाई उत्कृष्ट बनाउँदै उनले हल्याण्डलाई फाइनलसम्मको यात्रा गराए।
तर उपाधिका लागि उनले जर्मनीसँग २-१ गोल अन्तरले पराजित हुँदै ऐतिहासिक अवसरबाट बञ्चित भए।
तीन पटक गोल्डेन बल जितेका क्रुफले मुलुकका लागि एक पटक पनि विश्वकपको उपाधि जिताउन सकेनन्।
फरेन्स पुस्कास (हंगेरी-स्पेन)

पुस्कासलाई एक सर्वकालिक उत्कृष्ट फरवार्डका रूपमा चिनिन्छ। सन् १९५२ मा ओलम्पिक खेलबाट उनले हंगेरीलाई स्वर्ण पदक जिताएका थिए। त्यसको दुई वर्षपछि सन् १९५४ मा स्विट्जरल्याण्डमा भएको विश्वकप फुटबलमा उनको टिम फाइनलसम्म पुगेर पराजित भएको थियो।
प्रतियोगितामा जितको मुख्य दाबेदार हंगेरी पश्चिम जर्मनीसँग पराजित हुन पुग्यो।
सन् १९६२ मा उनले स्पेनको नागरिकता लिए। यसै वर्ष चिलीमा भएको विश्वकपमा उनले स्पेनबाट सहभागी जनाए। तर यहाँ पनि उनले टिमका लागि विश्वकपको उपाधि जिताउन सकेनन्।
अल्फ्रेडो डि स्टेफनो (अर्जेन्टीना-स्पेन)

फिफाले डि स्टेफनोलाई २०औं सताब्दीका पाँच उत्कृष्ट फुटबलको सूचीमा राखेको थियो। सूचीमा पेले, म्यारोडोना, क्रुफ र बैकेनबोर थिए।
यस्ता उत्कृष्ट खेलाडी भए पनि उनी विश्वकप खेल्न भने पाएनन्। सन् १९५० र सन् १९५४ को विश्वकपमा उनले अर्जेन्टिनाका लागि भनेर खेल्न पाएनन्।
यसपछि स्पेनको नागरिकता लिएका उनले सन् १९५८ मा स्पेन छनोट नभएपछि विश्वकपका लागि मैदान उत्रन पाएनन्। त्यसको चार वर्षपछि चिली विश्वकपमा पनि घाइते भएकाले उनले खेल्न सकेनन्।
युसेबियो (पोर्चुगल)

युसेबियोको जन्म मोजाम्बिकमा भएको थियो। त्यसबेला यहाँ पोर्चुगलको शासन थियो। युसेबियोलाई पोर्चुगलको पहिलो महान फुटबलर भनेर चिनिन्थ्यो।
सन् १९६५ मा उनले युरोपको उत्कृष्ट खेलाडीको अवार्डसमेत जिते। यसको एक वर्षपछि इंग्ल्याण्डमा भएको विश्वकपमा युसेबियोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो। तर फाइनल प्रवेशका लागि घरेलु टोलीसँग २-१ ले पराजित हुँदै विश्वकप उचाल्ने सपना अधुरै रह्यो।
जोर्ज बेस्ट (उत्तरी आयरल्याड)

उत्तरी आयरल्याण्डका यी महान फुटबलरले कुनै पनि विश्वकपको उपाधि जिताउन सकेनन्। तर उनले डेनिस लवी बबी चार्ल्टनसँग मिलेर सन् १९६८ को युरोपियन कपमा आफ्नो टीम म्यान्चेस्टर युनाइटेडलाई च्याम्पियन बनाए। यसै वर्ष उनी युरोपका उत्कृष्ट खेलाडीसमेत भए।
मेक्रो व्यान बेस्टन (हल्याण्ड)

मेक्रोले एक मात्र विश्वकपमा आफ्नो मुलुकका लागि खेल्न पाए। सन् १९९० मा इटालीमा भएङ्को विश्वकपमा उनले देशको प्रतिनिधित्व गरेका थिए। यसअघि सन् १९८८ मा उनले हल्याण्डलाई युरोपियन च्याम्पियन बनाएका थिए।
सन् १९९२ मा उनी फिफा वर्ष खेलाडीसमेत भए। उनले तीन पटक गोल्डेन बलसमेत जिते। तर सन् १९९३ मा गम्भीर चोटका कारण उनको फुटबल करियर सकियो।
यी नमा नभएर आफू र क्लबका लागि राम्रो खेले पनि मुलुकलाई विश्वकप जिताउन नसकेका केही खेलाडीहरूमा जोसे पाउलो मेल्डिनी (इटाली), लुइस फिगो (पोर्चुगल), जिको (ब्राजिल), रोबर्टो बेगियो (इटाली) र माइकल प्लेटिनी (फ्रान्स) छन्।
हेरौ यो सूचीमा अब क-कसको नाम जोडिनेछ।
बिबिसीबाट