विश्वकप फुटबलको क्वाटरफाइनलको अन्तिम खेलमा आज इंग्ल्याण्डले स्वीडेनको सामना गर्दैछ। विश्वकपको पछिल्लो प्रदर्शनहरुबाट आत्मविश्वासी बनेको इंग्ल्याण्ड आज स्वीडेनलाई पन्छाएर सेमिफाइनल पुग्ने दाउमा छ।
अर्कोतर्फ विश्वकप छनौट चरणमै पूर्व विजेता इटाली तथा सन् २०१० को उपविजेता नेदरल्याण्ड जस्ता राष्ट्रलाई पन्छाएर विश्वकप आएको स्वीडेनले राम्रो ‘टिम गेम’ खेलिरहेको छ। यस्तोमा आजको खेल इंग्ल्याण्डका उत्कृष्ट खेलाडी र उत्कृष्ट टोली स्विडेन बीच हुनेछ।
आजको खेल जीते इंग्ल्याण्ड १९९० पछि फेरि एकपटक सेमिफाइनल पुग्नेछ। सन् २००२ मा जापानमा भएको विश्वकपको क्वाटरफाइनलमा इंगल्याण्ड ब्राजिलसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो। त्यसको चार वर्षपछि जर्मनीमा भएको विश्वकपमा पनि इंग्ल्याण्ड पेनाल्टी सुटआउटमा पोर्चुगलसँग हार बेहोर्न पुगेको थियो। स्वीडेन भने सन् १९९४ पछि पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो।
स्वीडेन र इंग्ल्याण्ड यसअघि २४ पटक आमने सामने भएका छन्। जसमध्ये ८ खेलमा इंग्ल्याण्ड विजयी भएको छ भने ७ खेल स्वीडेनले जितेको छ। त्यस्तै ९ खेल बराबरी भएका थिए। विश्वकप फुटबलमा यी दुइ राष्ट्र तेश्रो पटक भिड्न लागेका हुन्। सन् २०१२ मा यी दुई राष्ट्रले अन्तिम पटक मैत्रिपूर्ण खेल खेलेका थिए। इंग्ल्याण्डले ४ – २ ले गुमाएको उक्त खेलमा जाल्टन इब्रामोभिचले चारै गोल गरेका थिए। तर यसपटक स्वीडेनसँग इब्रामोभिच छैनन्। उनले स्वीडेन विश्वकप छनौट भएपछि खेल्ने इच्छा देखाए पनि टिममा भने परेनन्।
स्वीडेनले जारी विश्वकपमा ६ गोल गरेको छ। जबकी इंग्ल्याण्डका कप्तान हेरी केन एक्लैले ६ गोल गरेका छन्। स्वीडेनले जारी विश्वकपमा गरेको ६ गोल मध्ये पाँच गोल हाफ टाइम पछि गरेको छ। अर्थात् स्वीडेन विपक्षी टोली खेल रणनीति अनुसार व्यवहार गर्न पोख्त देखिएको छ।
स्वीडेनका कोच आने अण्डरसनले आफू इङ्ग्लिस प्रिमियर लिग फुटबल हेर्दै हुर्किएको र त्यसको सँधै तारिफ गर्ने गरेको बताएका छन्। ‘तर इंग्ल्याण्डको खेल हेरेर हामी हुर्किएका होइनौँ’, अण्डसनले खेल अघि इंग्ल्याण्ड माथि तिखो प्रहार गरेका छन्।
इंग्ल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटले भने इंग्ल्याण्डको खेलबाट आफू खुसी रहेको बताएका छन्।
‘हामी अहिल्यै घर जान चाहादैनौँ’, साउथगेटले भनेका छन्। इंग्ल्याण्डका कप्तान हेरी केनले इङ्गलिस टोली एउटा परिवार जस्तै बनेको प्रतिक्रिया जनाएका छन्।
स्वीडेनले विश्वकपमा मजबुत डिफेन्सको प्रदर्शन गरेको छ। इंग्ल्याण्डको मुख्य चुतौती नै स्वीडेनको डिफेन्स छिचोल्नु हुनेछ। कोलम्बिया विरुद्ध पेनाल्टी सुटआउटमा जीत हात पारेर इंग्ल्याण्डले इतिहास रचिसकेको छ।
विश्वकपमा पेनाल्टी सुटआउटमा पहिलोपटक इंग्ल्याण्ड विजयी भएको हो। तर कोलम्बिया विरुद्ध एक्स्ट्रा टाइममा इंग्ल्याण्डका खेलाडी थकित र छरिएका थिए।
स्वीडेनको खेलमा भने काउन्टर एट्याकमा गति देखिदैँन। स्विट्जरल्याण्ड विरुद्धको खेलमा समेत स्वीडेनका मार्टिन ओल्सनले बेञ्चबाट आएर गति दिएका थिए। त्यसले आक्रमणमा गति बढाउनु स्वीडेनको चुनौती हो।
स्वीडेन र इंग्ल्याण्डबीचको खेल समरा अरिनामा पौने १२ बजे सुरु हुनेछ।