रसियामा आज हुने स्वीडेन र स्वीजरल्यान्डबिच हुने खेलका विजेताले क्वाटरफाइनल प्रवेशसँगै विश्वकपमा आफ्नो नयाँ इतिहास लेख्नेछन् । त्यसैले मंगलबारको खेलमा दुबै टोलीको लक्ष्य सो परिवर्तित इतिहास आफ्नो पक्षमा पार्ने हुनेछ।
स्वीडेनले विश्वकपको अन्तिम आठमा स्थान बनाएको २४ वर्ष भइसकेको छ। स्वीसले त झन् क्वाटरफाइनलमा नपुगेको ६४ वर्ष भइसकेको छ। आजको खेलमा दुबै टोलीले यस इतिहासलाई परिवर्तन गर्न कुनै कसर बाँकी राख्ने छैनन्। स्वीडेनले सन् १९९४ मा अमेरिका विश्वकपमा आफूलाई अन्तिम ८ मा पुर्याएको थियो। विश्वकपमा यो नै उसको आजसम्मको उत्कृष्ट प्रदर्शन हो।
जारी विश्वकपको समूह चरणमा दुबै टोलीले गतिलो प्रदर्शन गरेका थिए। आज पनि त्यही प्रदर्शनलाई निरन्तरता दिने चुनौती छ। यसपाली समूहचरणमा स्वीडेनले मेक्सिकोमाथि सनसनीपूर्ण विजय हासिल गरेर अन्तिम १६ मा आफूलाई अटाएको हो। स्वीस टोलीले पनि नाटकीयरूपमा सर्वियालाई हराउँदै आफ्नो स्थान सुरक्षित गर्न सफल बन्यो।

आजको खेलमा यी दुबै टोलीका पहिलो रोजाइमा पर्ने खेलाडीको अनुपस्थितिले असर गर्ने देखिन्छन्। स्वीस टोली मुख्य डिफेन्डर फाबियन लुकास तथा कप्तान स्टेफन लिचेसटाइनर बिना मैदानमा उत्रनेछ भने स्वीडिस टोली पनि आजको खेलमा सबास्टियन लार्सनबिना मैदानमा हुनेछ।
यस विश्वकपमा स्विडेन 'अन्डर डग'का रूपमा आएको छ। आज पनि ऊ मूख्यरूपमा आफ्नो बलियो डिफेन्समा भर पर्नेछ। मेक्सिको विरुद्ध ३-० को सनसनी नतिजा निकालेको उसले स्वीस टोलीलाई पनि उस्तै खतरासँग सामना नगराउला भन्न सकिन्न। आजको भिडन्तमा सन्तुलित स्वीडिस टोलीको लक्ष्य स्वीजरल्यान्डलाई पराजित गरेर विश्वकप यात्रा जीवित राख्ने नै हो।
यसैगरी आफै विश्वकपको आयोजक राष्ट्र हुँदा बनाएको इतिहासलाई परिवर्तन गर्ने ध्याउन्नमा रहेको स्वीस टोलीले स्विडेनलाई कडा टक्कर दिनेछ। स्वीस टोलीले खराब सुरूवात गर्ने बानी बनाएको छ जुन स्वीडेनसँगको म्याचमा नहोला भन्न सकिन्न। तर आज उसले त्यसलाई सुधार्ने प्रयास भने गर्नेछ। स्वीजरल्यान्डका लागि स्वीडिस खेलाडीको शारिरिक बल हो। त्यसैले सुरूवातदेखि नै उसले खेलमा वर्चश्व जमाउनुपर्ने चुनौती उस्तै छ।

कप्तानसहित पहिलो रोजाइका दुई खेलाडीको सट्टा खेल्न लागेका लाङ तथा डिजोरीले उनीहरूको कमीलाई कसरी पुरा गर्छन भन्ने पनि स्वीस टोलीका लागि महत्वपूर्ण छ।
जारी प्रतियोगितामा स्विट्जरल्यान्ड अपराजित टोली हो। यो विश्वकपमा ऊ कुनै पनि खेलमा गोलबिहिन बनेको छैन। गएको अक्टोबरमा पोर्चुगलसँग पराजित भए बाहेक पछिल्लो दुई वर्षदेखि उसको नतिजा खराब छैन्।
स्वीडेन र स्वीजरल्यान्ड पछिल्लो ९८ वर्षमा एकअर्कासँग २९ पटक आमनेसामने भएका छन्, जसमा स्विस टोलीले ११ खेलमा जीत हासिल गरेको छ भने १० खेल स्वीडिस टोलीको पक्षमा सकिएको छ। तर अन्तराष्ट्रिय टुर्नामेन्टमा यी दुबै कहिल्यै एकअर्कासँग भिडेका छैनन्।
स्विडेन र स्विट्जरल्याण्डबीच मंगलबार साँझ पौने ८ बजे सेन्ट पिटर्सवर्गमा प्रतिष्पर्धा हुनेछ ।