फुटबलमा खेलमा जब खेलाडीले बल बढाउँछन् वा गोल हान्छन् वा खराब खेल्छन् त्यसको असर मैदान छेउमै हुने प्रशिक्षकको हाउभाउमा देखिन्छन्। पिचभित्रका खेलाडीसँगै बाहिरका प्रशिक्षकलाई क्यामेराले बारम्बार देखाइरहन्छन्। किनकी कुनै टिमको प्रदर्शनमा प्रशिक्षकको पनि ठूलो भूमिका हुन्छ।
रूसमा जारी विश्वकप फुटबलको दोस्रो नकआउट खेलमा शनिबार दक्षिण अमेरिकी टिम उरूग्वेले युरोपको सबैभन्दा बलियोमध्येको देश पोर्चुगललाई २-१ले हरायो।
जितपछि उरूग्वेका खेलाडी ड्रेसिङ रूममा खुसी मनाइरहेका थिए।
२०१६ को युरो विजेता पोर्चुगललाई हराए पनि एक जना बुढा भने उरूग्वेले अझै राम्रो खेल्नु पर्ने बताइरहेका थिए। समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने- हामीले बल अझै धेरै समय आफूसँग राख्नुपर्थ्यो। पोर्चुगलसँग ६१ प्रतिशत समय बल थियो। यसका लागि हामीले केही गर्नुपर्छ। उनी थिए उरूग्वेका प्रशिक्षक ओस्कार वासिङट्न ताबरेज।
ताबरेज अहिले ७१ वर्ष पुगे। उनी टोलीमा तिखो आलोचना गर्ने भनेर चिनिन्छन् तर उनी मनका भने सफा छन्। उनका केही साथीले मजाक गर्छन्-ताबरेज फुटबलमा आउनुअघि प्राथमिक विद्यालयमा मास्टर थिए। त्यही भएर ‘मास्टरी’ उनको आदत हो।
सन् ६०-७० को दशकमा ताबरेज व्यावसायिक फुटबलर थिए। उनको खेलाडीभन्दा प्रशिक्षकको अनुभव धेरै सँगालेका छन्।
३० वर्षदेखि प्रशिक्षण गरिरहेका उनी कोलम्बिया, अर्जेन्टिना, इटाली र स्पेनका ठूला क्लबका प्रशिक्षक बनिसकेका छन्।
३ मार्च १९४७मा जन्मेका ताबरेजलाई २ दशकअघि गुलेन बार सिन्ड्रोम नामको शारिरिक समस्या भएको थियो। यो रोगका कारण शरिरका मांसपेशी कमजोर हुन्छन् र कहिलेकाहीँ सास फेर्न पनि गाह्रो हुन्छ।
पछिल्ला केही वर्षमा ताबरेजको स्वास्थ्य तीव्र गतिमा बिग्रियो र उनको शरिरमा सिन्ड्रोमको असर देखिन थाल्यो।
त्यसैले उनी अचेल खेलका दौरान मैदानबाहिर एउटा लठ्ठीको सहारामा उभिइहेका देखिन्छन्। आफ्नो टिम र फुटबलप्रतिको उनको जोशलाई भने कुनै पनि समस्याले कम गर्न सक्दैनन्।
उनी सन् २००६ देखि उरूग्वेका प्रशिक्षक छन्। उनको प्रशिक्षकत्वमा उरूग्वे चार चोटी विश्वकपमा छानिएको छ भने एक पटक सेमिफाइनलसम्म पुगेको छ।
रूसमा जारी विश्वकपको समूह चरणका तीन खेलमा उरूग्वेलाई कसैले गोल हान्न सकेन।
समूह चरणमा इजिप्टलाई हराएपछि ताबरेजले भनेका थिए- बल गोलपोष्ट भित्र जाओस् वा निशाना नभेटाओस्। हामीले सधैँ गोल गर्नेबारे सोच्नुपर्छ। जुन आक्रामकताका साथ मेरो टिमले खेलिरहेको छ यसबाट म खुसी छु। तर उनीहरूलाई अन्तिम १६ बाट सेमीफाइनलसम्म पुग्न अझै बढी जोर लगाउनु पर्छ।
ताबरेज यस्ता प्रशिक्षक हुन् जसले चार विश्वकपमा एउटा टिमको प्रशिक्षण सम्हालेका छन्। उनीबाहेक इंग्ल्याण्डका वाल्टर विन्टरबान्टम, जर्मनीका जोसेफ हर्बर्गर र हेलमुट र हंगेरीका लोयोश बारतोरीले पनि एउटा टिमलाई चार पटक विश्वकपमा प्रशिक्षण दिएका छन्।
उरूग्वेका फुटबलप्रेमीले ९ लाई भाग्यमानी नम्बर मान्छन्। ताबरेज पनि उरूग्वेका लागि खेल्दा ९ नम्बरको जर्सी लगाउँथे। अहिले उरूग्वेका सबैभन्दा चर्चित स्टार खेलाडी लुइस स्वारेज पनि ९ नम्बरको जर्सी लगाउँछन्।
ताबरेजले पहिल्यै नै भनिसकेका छन् कि स्वारेज र अर्का स्ट्राइकर एडिन्सन काभानीले उरूग्वेको खेललाई नयाँ स्तरमा पुर्याएका छन्।
शनिबार भएको पोर्चुगलविरूद्धको खेलमा ३१ वर्षिय काभानी घाइते भएका छन्। यसले ताबरेजलाई केही चिन्तित बनाएको छ।
उनले भनेका छन्- काभानीको चोट टोलीका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो। उनीसँग निको हुनका लागि एकदमै थोरै समय छ। हामी उनको चोट कति गम्भीर हो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छौं।
उरूग्वेले सन् १९३० र १९५० विश्वकपको उपाधि उचालेको छ।
पछिल्लो पटक उपाधि जितेको ६८ वर्षपछि उरूग्वे फेरि उपाधिका लागि बलियो दाबेरदारका रूपमा प्रस्तुत भएको छ। जारी विश्वकपमा उरूग्वे अपराजित छ। उसको यही प्रदर्शनका आधारमा अहिले धेरैलाई चासो छ- ६८ वर्षपछि ७१ वर्षिय ताबरेजले उरूग्वेलाई तेस्रो विश्वकप उपाधि जिताउलान् त?
(बिबिसीबाट)