अधिकांश नेपालीको मुखमा झुन्डिएका फुटबलका तीन हिरो लिओनल मेसी, क्रिष्टियानो रोनाल्डो र नेयमार हुन्।
उपाधि जित्ने लक्ष्यसहित रसिया आएका मेसी र रोनाल्डो नकआउट चरणको पहिलो खेलबाटै घर फर्किएका छन्। अब नेइमार बाँकी छन्। जो आज मेक्सिकोसँग भिड्दैछन्।
सोमबार नेपाली समय अनुसार पौने ८ बजे नेइमार मैदान उत्रदा अधिकांश समर्थकको चाहना हुन्छ- रोनाल्डो र मेसी जसरी ब्राजिल नहारोस्।
हुन पनि हो, पछिल्लो लामो समय घाइते भएर मैदान बाहिर बसेका नेइमार रसिया विश्वकपमा कुल कुल देखिएका छन्।
फ्रेन्च क्लव पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका नेइमारका लागि पूर्खाको बिडो थाम्ने गतिलो जिम्मेबारी थपिएको छ।
पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा समूह ई को विजेता हो। ब्राजिलले समूह चरणमा स्वीट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने कोस्टारिकालाई २–० ले हराएको थियो। अन्तिम खेलमा सर्बियालाई २–० ले हराउँदै समूह विजेता भएको ब्राजिल लयमा फर्किएको छ।
छैटौं पटक विश्वकपको उपाधि पछ्याइरहेको ब्राजिलले सोमबार विश्वकप अन्तिम १६ मा मेक्सिकोको सामना गर्दा सबैको ध्यान स्ट्राइकर नेइमारमा हुनेमा दुबिधा छैन ।
सन् २००२ को विश्वकप समूह चरणमा ब्राजिलविरुद्ध गोल गर्ने इङ्ल्यान्ड एक मात्र टोली थियो। उक्त विश्वकप जितेपछि भने सधैं दाबेदार राष्ट्र बन्दै आए पनि ब्राजिलले छैठौं पटक भने उपाधि जित्न सकेको छैन। टेटेको टोलीले पछिल्लो २८ खेलमा मात्र २ गोल खाएको छ । जसले जारी प्रतियोगितामा उनीहरूको बलियो रक्षापंक्तिलाई प्रमाणित गर्छ । जारी प्रतियोगितमा समूह ‘ई’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा नेइमार र फिलिप कौटिन्होको प्रदर्शन तारिफयोग्य छ । तर १९९८ पछि युरोपियन भूमिमा विश्वकपको उपाधि जित्न दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले आफ्नो मजबुत रक्षापंक्तिलाई थप मजबुत बनाउन आवश्यक छ।
यता पहिलो खेलमा विश्वविजेता जर्मनीलाई १–० ले पाखा लगाउँदै प्रतियोगिताको सुखद सुरुआत गरेको मेक्सिको छैठौं पटक उपाधि जित्ने ब्राजिलको लक्ष्यमा पूर्णविराम लगाउँदै क्वार्टरफाइलनमा स्थान पक्का गर्न चाहन्छ। पछिल्लो ६ संस्करणमध्ये मेक्सिकोले सबै संस्करणमा समूहचरण पार गरे पनि अन्तिम १६ भन्दा माथि भने उठ्न सकेको छैन । मेक्सिको समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो।
ब्राजिलका लागि नेइमार मात्र नभएर कौउटिन्हो पनि आक्रमक खेलाडी हुन्। इङ्लिस क्लब लिभरपुलहुँदै हालैमात्र बार्सिलोनाबाट व्यवसायिह फुटबल खेल्न थालेका उनी लयमा छन्।
मेक्सिकोविरुद्ध नकआउट चरणमा भिड्दै गर्दा ब्राजिललाई दबाब हुनेछ। कारण, विश्वकपको नकआउट चरणबाट ठुला भनिएका र उपाधि दाबेदार टोली घर फर्किएका छन् । समूह एफको विजेताको रुपमा नकआउट चरण पुगेको ब्राजिलको गति सुस्त देखिएको छ ।
मेक्सिकोले सन् २०२६ को विश्वकप अमेरिका, क्यानडासँग मिलेर संयुक्त रुपमा आयोजना गर्दैछ। सन् १९८६ मा विश्वकपको आयोजना गरेको उसले पहिलो पटक अन्तिम ८ मा स्थान बनाउने प्रयास गर्नेछ।
मेक्सिकोविरुद्धको खेलमा ब्राजिलका फिलिप लुईस पहिलो रोजाईमा उत्रनेछन् । सर्वियाविरुद्धको खेलमा चोट बोकेका मार्सेलोले आजको खेल गुमाउन सक्नेछन्। ब्राजिलका डानिलोको चोटमुक्त हुँदैछन्।
मेक्सिकोलाई मुख्य डिफेन्डर डेक्टर मोरिनाको प्रतिबन्धले समस्यामा पार्न सक्छ । दुई पहेलो कार्डका कारण उनी ब्राजिलविरुद्धको खेलमा देखिने छैनन्।
ब्राजिल र मेक्सिको यसअघि ४० पटक भिडेका छन्। जसमा आधा बढी खेलमा ब्राजिलले सफलता हात पारेको छ । मेक्सिकोविरुद्धको पछिल्ला ४ भेट ब्राजिलले जित निकालेको छ।२०१४ को विश्वकपमा पनि मेक्सिको र ब्राजिल समूहचरणमा आमने–सामने हुँदा गोलरहित बराबरी खेलेका थिए । त्यसअघिका तीन भिडन्तमा भने ब्राजिलले बाजी मारेको थियो।