खेलमा हार जित निश्चितनै हुन्छ। एउटाले जितेर अर्कोले हार्नै पर्छ। तर खेल मात्र होइन मैदानभित्र मानवीय संवेदनासमेत झल्किन्छ।
रूसमा जारी विश्वकपको नकआउट चरणको दोस्रो खेलमा देखिएको एउटा घटनाले विश्वभरका तमाम खेलाडी र त्यससँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएकालाई भावनात्मक बनायो।
खेलाडी बिचको विवाद, चोट र अप्ठ्यारोले हेर्नेहरुलाई पनि असजिलोमा पारिरहेको बेला रुसमा जारी विश्वकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलपछि धेरैको मन कुँडिएको छ। तर सम्झनामा स्थायी रुपमा बस्ने दृश्य, पोर्चुगल र उरुग्वेबिचको खेलको अन्त्य तिर देखियो।
सामूहिक भावनाको मर्म बुझाउने यही खेलमा भावनाको त्यो रुपले धेरैलाई सम्हालेको छ।
खेलमा उरुग्वेले २–१ को अग्रता लिएको थियो। उरूग्वेका लागि दुवै गोल गर्ने एडिसन काभानीले गरेका थिए। १६ मिनेट समय बाँकी थियो। काभानी चोटग्रस्त भए। काभानीको खुट्टामा समस्या देखियो। उनी मैदानमा रहेर थप समय खेल्न नसक्ने भए।

काभानी पीडाले मैदानमा थुचुक्क बसे। उता टिम समस्यामा भए पनि पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डो काभानीको अवस्था बुझ्न आए। काभानीलाई हात दिए। उठाए। खुट्टा खोच्याउँदै अगाडि बढ्न खोजे। उनलाई हिँड्न अप्ठ्यारो भएको रोनाल्डोले देखे। अनि नजिक पुगेर काभानीलाई आफ्नो काँध दिए। काभानी रोनाल्डोको काँधमा हातले सहारा लिँदै मैदानबाट बाहिरिए।

जस्तो सुकै अवस्था भए पनि मानवीयता भुल्न नहुने सन्देश यी दुई खेलाडीले मैदानबाट दिएका छन्।
अन्ततः खेल काभानीकै दुई गोलमा उरूग्वेले जित्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो। पोर्चुगल अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो। तर उनको यो कामले सबैको प्रशंसा पाइरहे।

