रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा आइतबार घरेलु टोली रसियाले एकपटकको च्याम्पियन स्पेनको सामना गर्दैछ।
नेपाली समयअनुसार साँझ ७:४५ बजे मस्कोस्थित लुज्निकी स्टेडियममा हुने खेलमा बलियो स्पेनविरूद्ध ७० हजार घरेलु दर्शकसामू रूसले गतिलो चुनौती दिनेछ।
समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणका तीनै खेलमा अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो। पहिलो खेलमा बलियो टोली पोर्चुगलसँग बराबरी खेलेको उसले दोस्रो खेलमा इरानलाई १-० गोल अन्तरमा पन्छायो भने अन्तिम खेलमा मोरक्कोसँग २-२ गोलको बराबरी खेल्दै रसियासँगको भेट पक्का गरेको हो।
उता समूह ‘ए’ को उपविजेता रसियाले समूह चरणको अन्तिम खेलमा उरूग्वेसँग ३-० को हार व्यहोर्नुबाहेक अन्यमा जित निकालेको थियो।
समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रसिया स्पेनको चुनौती पन्छाउदै नकआउट चरण पुग्ने योजनामा हुनेछ। यस्तोमा घरेलु टोलीलाई घरेलु समर्थक र मैदानको साथ हुने गर्दछ।
स्पेनसँग अग्रपङ्ति र मिडफिल्ड चुस्त रहे पनि गोलरक्षक र डिफेनसमा भने कमजोरी देखिएको छ। यसमा सुधार गर्न सके स्पेनले क्वार्टरफाइनल यात्रा तय गर्नेछ।
सर्जियो रामोस र जेरार्ड पिके टिममा रहे पनि उनीहरूले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन्। मार्को एसेन्सियोले डेभिड सिल्भालाई प्रतिस्थापन गर्दै आक्रमणको जिम्मेवारी लिनेछन्। सर्जियो बुस्केटको बिषयमा स्पेनले जोखिमपूर्ण निर्णय लिनुपर्नेछ।
रुसका स्मोलनिकोभले उरुग्वेविरुद्ध पाएको रातो कार्डका कारण आजको खेल गुमाउनेछन्। मारियो फर्नान्डेस राईट ब्याकमा देखिनेछन्।
सोभियत संघको विभाजनसँगै रुसले अहिलेसम्म स्पेनलाई पराजित गर्न सकेको छैन।
१९३० देखि ९० सम्म सोभियत संघको नामबाट खेलेको रसियाले त्यसपछिका तीन विश्वकपमा समूह चरण पार गर्न नसके पनि यसपटक भने समूह चरण पार गर्न सफल भएको हो। समूह चरण पार गरेर हौसिएको रसिया स्पेनलाई पनि स्तब्ध पार्दै क्वार्टरफाइनल पुग्ने योजनामा हुनेछ।
यता स्पेनले २०१० को विश्वकप जितेपछि विश्वकपमा पहिलो पटक नकआउट खेल्दैछ। विश्वविजेता स्पेन २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो।
स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन्। जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो। पछिल्लो पटक यि दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेको थियो