फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नाइजेरियामाथि अर्जेन्टिनाले फेरि अग्रता लिएको छ।
अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता उल्टाएर नाइजेरियाले ५१ औं मिनेटमा बनाएको बराबरीमा फेरि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको हो।
खेलको ८६ औ मिनेटमा मार्कोश रोजोले गोल गर्दै अर्जेन्टिनाको अग्रता बनाएका हुन्।
यसअघि सेन्ट पिटर्सवर्ग स्टेडियममा मैदानमा नाइजेरियाका भिक्टर मोसेसले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा मोसेसले सहजै गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
यसअघि अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्। जारी विश्वकपमा मेस्सीको यो पहिलो गोल हो ।