जारी विश्वकपमा असार ८ गते रसियाको भोल्गोगार्ड एरिनामा नाइजेरियाले आइसल्याण्डलाई २ गोलले हरायो। यो नतिजाले नाइजेरियाभन्दा अर्जेन्टिनाका समर्थकबढ्ता खुसी भए।
आइसल्याण्डविरुद्ध गोल गरेका अहमद मुसालाई अर्जेन्टिनाका समर्थकले 'लियोनल मुसा'को उपमा दिए।
आइसल्याण्डले उक्त खेल जितेको भए अर्जेन्टिना र नाइजेरियाको विश्वकप यात्रा समूह चरणमै टुङ्गिने थियो। तर नाइजेरियाको जितले अर्जेन्टिनाका समर्थकमा उत्साह भरियो। त्यसो त जितले नाइजेरियाको पनि विश्वकपको 'राउण्ड १६' को सम्भावना कायमै राख्यो।
नाइजेरियाका समर्थकले अर्जेन्टिनाका समर्थकलाई जवाफ फर्काए - 'आवर गोट इज बेटर द्यान योर गोट। अर्थात् हाम्रो 'ग्रेटेस्ट अफ अल टाइम' मुसा तिमीहरूको 'ग्रेटेस्ट अफ अल टाइम' मेसीभन्दा राम्रो छ।
गोट उपाधि पाएका यी दुई खेलाडी आज एकार्काविरुद्ध मैदानमा उत्रदैँछन्। नाइजेरिया र अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेशका लागि प्रतिष्पर्धा गर्दैछन्।
आजको खेलमा नाइजेरिया पराजित भए अर्जेन्टिना नकआउट चरण प्रवेश गर्नेछ भने अर्जेन्टिनालाई पराजित गर्न सके नाइजेरियाको भविष्य चम्कनेछ। यसपटकको विश्वकपमा नाइजेरियलाई 'अण्डर डग' राष्ट्रको रूपमा हेरिएको छ।
अर्जेन्टिनाका मेसीले यो विश्वकपमा २२ पटक गोलपोस्टमा प्रहार गरेका छन्। तर एउटा पनि गोल गर्न सकेका छैनन्। अर्कोतर्फ आइसल्याण्डविरूद्ध मुसाले दुई गोल गरेका छन्। त्यसो त सन् २०१४ को विश्वकपको समूह चरणमा समेत मुसाले अर्जेन्टिनाविरुद्ध दुइ गोल गरेका थिए। तर खेल नाइजेरियाले ३-२ ले गुमाउन पुग्यो।
विश्वकपको समूह चरणमा लगातार अर्जेन्टिना र नाइजेरिया भिडिरहेका छन्। सन् १९९४,२००२, २०१० र २०१४ मा दुबै राष्ट्र एउटै समूहमा परेका छन्। चारै पटक जित भने अर्जेन्टिनाको भएको छ। नाइजेरियाले विश्वकपमा अहिलेसम्म दक्षिण अमेरिकी मुलुकलाई पराजित गर्न सकेको छैन।
तर नाइजेरियाले गत वर्ष भएको मैत्रीपूर्ण खेलमा भने अर्जेन्टिनालाई पराजित गरेको थियो। पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाविरुद्ध नाइजेरियाले दोश्रो हाफमा चार गोल गरेको थियो। यद्यपी उक्त खेलमा मेसीखेलेका थिएनन्।
आज हुने खेलमा नाइजेरियाले आइसल्याण्डविरुद्धकै समिकरणमा अर्जेन्टिनालाई दबाब दिने रणनीति बनाएको छ। नाइजेरियाले आइसल्याण्डविरुद्ध ३-५-२ समिकरणमा खेलेको थियो। अर्जेन्टिनाले भने प्रत्येक खेलमा समिकरण बदलिरहेको छ। जसका कारण यो विश्वकपमा उसले कुनै जित दर्ता गर्न सकेको छैन। नाइजेरिया विरुद्ध अर्जेन्टिनाले ४-३-३ अथवा ४-४-२ समिकरणमा खेल्ने सम्वभाना छ।
अर्जेन्टिनाले गोलकिपर परिवर्तन गर्दैछ। क्रोएशियाविरुद्ध गल्ती गरेका विली क्याबेलिरोको ठाउँमा अर्जेन्टिनाले फ्रान्को अर्मानीलाई खेलाउनेछ। मौका पाए भने अर्मानीको राष्ट्रिय टोलीबाट आज पहिलो खेल हुनेछ। अन्जेलो डि मारियो र एभर बेनेगाले पहिलो एघारमै मौका पाउने सम्भावना छ।
विश्वकपमा निराशाजक प्रदर्शन गरिरहेको तथा खराब फर्ममा रहेको अर्जेन्टिना र मेसीका लागि नाइजेरिया मुस्किलको रूपमा खडा भएको छ। अर्कोतर्फ दक्षिण अमेरिकी राष्ट्रलाई हराउने मौका नाइजेरिया र मुसालाई छ।
खेल नेपाली समयअनुसार पौने १२ बजेबाट सेन्टपिटर्सबर्गस्थित मैदानमा हुनेछ।