रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा पोर्चुगल पेनाल्टी मिस गर्दै समूह विजेता हुने अवसर गुमायो।
खेलमा दोस्रो हाफको ५३औं मिनेटमा भिएआर मार्फत पोर्चुगलले पेनाल्टी पाएको थियो। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टी प्रहार गरे । तर इरानका गोल रक्षक अली बबिइरानवान्दले सुन्दर बचाउ गरे।
इरानका साइद एजातोलाहीसँगको ट्याकलको क्रममा रोनाल्डो लडेका थिए। रेफ्री एनरिके क्यासरिसले सुरुमा पेनाल्टी दिएका थिएनन् तर पोर्चुगलका खेलाडीले पेनाल्टी अपिल गरिरहेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री, भिएआरको सहयोग लिएका थिए।
रोनाल्डोले विश्वकपमा इरान विरुद्ध पेनाल्टी प्रहार गरेको यो पहिलो पटक भने होइन। यसअघि उनले सन् २००६ को विश्वकपमा पनि इरानसँगको खेलमा पेनाल्टी प्रहार गरेका थिए। त्यसबेला उनले गोल गरेका थिए । तर यो खेलमा चुके। यो सँगै समूह बी बाट विजेता भएर दोस्रो चरणमा जाने सुनौलो मौका गुम्यो।
समूह बी को अन्तिम खेलमा पोर्चुगलले इरानसँग सोमबार राति भएको खेलमा १–१ को बराबरी खेल्यो।
पोर्चुगलबाट मुख्य प्रतिस्पर्धामा रोनाल्डोको पेनाल्टीमा सफलताको दर ५० प्रतिशत छ । उनले पोर्चुगलबाट मुख्य प्रतिस्पर्धामा चार पटक पेनाल्टी प्रहार गरेका छन् ।
त्यसमा दुई पटक गोल भएको छ भने दुई पटक गोल गर्न सकेका छैनन् । उनले सन् २००६ को विश्वकपमा इरान तथा यो विश्वकपमा स्पेनसँगको खेलमा पेनाल्टीमा गोल गरे।
रोनाल्डोले सन् २०१६ को यरोकप फुटबलमा अस्ट्रियासँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेका थिएननन् । यस्तै विश्वकपमा सोमबार राति इरानसँगको खेलमा उन पेनाल्टीमा गोल गर्नबाट चुके।
रोनाल्डोले गोल गर्ने प्रयास नगरेका होइनन् । तर उनका प्रहार कि बाहिर गए कि त रोकिए । अघिल्ला दुई खेलमा ह्याट्रिकसहित चार गोल गरेर गोल्डेन बुडको दौडमा आफूलाई कायम गरेको रोनाल्डोका लागि यो खेलमा गरेको गोल त्यो दौडका लागि थप बलियो बन्ने माध्यम बन्ने थियो।
तर गएरातिको खेलपछि गोल्डेन बुट दौडमा रोनाल्डोभन्दा अघि चार गोल नै गरेका बेल्जियमका रामेलु लुकाकु र पाँच गोल गरेका इंग्ल्याण्डका कप्तान ह्यारी केन छन्।