विश्वकप फुटबलमा आज क्रिष्ट्रियानो रोनाल्डोको पोर्चुगलले एसियाली महारथी इरानको सामना गर्दैछ। मोरक्कोविरुद्ध जीत र स्पेनसँगको बराबरीका बाबजुद पोर्चुगलले नकआउट चरण सुनिश्चित गर्न सकेको छैन।
समूह चरणको अन्तिम खेलमा सोमबार पोर्चुगल जित्नैपर्ने दबाबमा छ। इरानसँग पराजय बेहोरको खण्डमा पोर्चगुल समूह चरणबाट बाहिरिनेछ। रोनाल्डोको उत्कृष्ट प्रदर्शन पानीमा बगेर जानेछ।
इरानसँगको बराबरीले पोर्चुगल नकआउट चरणमा छनोट हुन सक्छ। तर यसमा सर्तहरु कायम रहनेछन्। मोरक्कोले स्पेनलाई दुई गोल भन्दा धेरै अन्तरले पराजित गरे बराबरी भएको खण्डमा समेत पोर्चुगल बाहिरिनेछ। त्यसैले बराबरी गर्दा समेत पोर्चुगलले स्पेनको जीतको कामना गर्नुपर्नेछ।
केहीगरि मोरक्कोले स्पेनलाई २ गोल अन्तरले पराजित गरेको अवस्थामा इरानलाई फाइदा पुग्नेछ। इरान नकआउट चरण जानेछ। त्यसैले रोनाल्डोमाथि आज गोल गर्ने दबाब छ।
पछिल्लो समय उत्कष्ट लयमा रहेका रोनाल्डो र युरोकप विजेता पोर्चुगललाई इरानी तगारो पन्छाउनु कठिन भने हुनेछैन। रोनाल्डोले यो विश्वकपमा फ्रेममा प्रहार गरेका चार वटै बललाई गोलमा परिणत गरेका छन्। रोनाल्डोलाई रोक्नु इरानका लागि सबैभन्दा ठूलो चुनौती हो।
रोनाल्डोले सन् २००६ को विश्वकपको पहिलो गोल समेत इरानविरुद्ध गरेका थिए। खेल पोर्चुगलले २-० ले जितेको थियो। इरानले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन। युरोकप विजेता पोर्चुगललाई पराजित गर्दा इरानले इतिहास रच्नेछ।
दक्षिण कोरियासँग सन् २००२ को विश्वकपको उद्घाटन खेलमा पराजय बेहोर्नुबाहेक एसियाली मुलुकसँग अहिलेसम्म पोर्चगुलले हार बेहोरेको छैन।
तर समूह चरणको दोस्रो खेलमा जित हात पारे पनि मोरक्को विरुद्ध पोर्चुगल उत्कृष्ट प्रदर्शन गर्नबाट चुक्यो। पोर्चुगलको डिफेन्स कमजोर देखिन्छ। जसको फाइदा इरानले उठाउन सक्छ।
पोर्चुगलका पूर्व कोच कार्लोस केरोज अहिले इरानका कोच छन्। इरानले कर्नरको मौका पाए त्यसलाई गोलमा परिणत गर्न सक्ने खुबी क्वेरेजले दिलाएका छन्।
इरानका डिफेन्डर एसान हाजसाफीले आजको खेल गमाउनेछन्। उनी ग्रिसको ओलिम्पियोकोसबाट फुटबल खेल्दै आएका थिए। पोर्चुगलका जोआओ मोटिन्होले आज खेल्ने नखेल्ने निश्चित छैन। उनी बिरामी परेको बताइएको छ।