विश्वकप खेलिरहेका स्विटजरल्याण्डका दुई खेलाडी ग्रानित जाका र जर्दान साकिरीमाथि फिफाले अनुसन्धान थालेको छ।
उनीहरुले सर्बियाविरुद्धको खेलमा गोल गरेपछि खुसी मनाउने क्रममा देखाएको व्यवहारबारे फिफाले छानबिन सुरू गरेको हो।
शनिबार स्विटजरल्याण्डले सर्वियालाई २–१ गोलले पराजित गरेको थियो। उक्त खेलमा गोल गरेपछि साकिरी र जाका दुबैले हातबाट ‘डबल इगल’ संकेत गरेका थिए। अल्बानियाको झण्डामा रहेको ‘डबल इगल’ प्रदर्शन गरेको भन्दै सर्बियाले फिफामा उजुरी दिएको हो।
कोसोभो सन् २००८ मा सर्वियाबाट छुट्टिएको हो। साकिरी र जाका दुबैका परिवारको वंशज अल्बानियासँग जोडिन्छ। जाका ४ वर्षको भएपछि उनको परिवार कोसोभो छाडेर स्विट्जरल्याण्ड आएको थियो। अर्का खेलाडी साकिरीले आफ्नो एउटा जुत्तामा अल्बानियाको झण्डा समेत राखेका थिए।
कोसोभोका नागरिकहरूले दुई झण्डाको प्रयोग गर्दै आएको छन्। उनीहरुले कोसोभोको भू-भाग देखाइएको र ६ तारा भएको झण्डासँगै अल्बानियाको झण्डासमेत प्रयोग गर्ने गरेका छन्। भूपरिवेष्ठित कोसोभोलाई छिमेकी अल्बानियाले देशको रूपमा मान्यता दिएको छ। जबकी सर्वियाले अहिलेसम्म मान्यता दिएको छैन।
यही राजनीतिक विवादलाई फुटबलमा तानेको भन्दै फिफाले छानविन सुरु गरेको हो। फिफाको अनुशासन समितिको विधानमा दफा ५४ मा खेलका दौरान सर्वसाधारणलाई भड्काउने कार्य भए खेलाडीलाई २ खेलको प्रतिबन्ध र ८ हजार युरो जरिवाना गराउन सक्ने प्रावधान छ।
फिफाले उनीहरुले सर्वसाधारणलाई भड्काउने काम गरे नगरेको अनुसन्धान गर्ने जनाएको छ। फिफाले मैदानमा कुनैपनि राजनीतिक सन्देश प्रवाह तथा संकेत गर्न प्रतिबन्ध लगाउँदै आएको छ।
साकिरीले गोल गरेपछिको खुसीमा आफूले देखाएको संकेत एउटा भावनात्मक घटनामात्र भएको प्रतिक्रिया दिएका छन्। जाका र साकिरीमाथि फिफाले प्रतिबन्ध लगाए उनीहरूले कोष्टारिकाविरुद्धको खेल गुमाउनेछन्।