खुट्टाको चोट बल्जिएपछि बिचै प्रशिक्षण छोडेर हिँडेका ब्राजिलियन स्टार नेइमार अभ्यासमा फर्किएका छन्। यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए।
रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए।
पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
शुक्रबार कोस्टारिकाविरुद्धको खेलका लागि तयारी गरिहेको ब्राजिलको बुधबारको प्रशिक्षणमा नेयमार पुनः फर्किएका हुन्।
ब्राजिल फुटबल कन्फेडरेसनले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै नेयमार बुधबार सोचीको प्रशिक्षणमा सहभागी बनेको जानकारीसमेत दिएको छ।
उक्त ट्विटमा विश्वकपको दोस्रो खेलका लागि ब्राजिलको तयारी जारी रहेको बताएको छ। पहिलो खेलमा ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेलेको थियो।
स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो। सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो।