रसियामा जारी फिफा विश्वकप फुटबलमा स्पेनले इरानमाथि संघर्षपूर्ण जित निकालेको छ। अधिकांश समय बल नियन्त्रणमा लिएको स्पेनले १-० गोल अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाएको हो।
बुधबार भएको समूह चरणको दोस्रो खेलमा स्पेनले इरानमाथि ७० प्रतिशत बल नियन्त्रणमा लिए पनि १-० गोलको झिनो अन्तरमा हराउन बाध्य भयो।
इरानको कडा डिफेन्सबीच स्पेनले १७ पटक प्रहार गरेको थियो। जसमध्ये ८ पटक किपरले रोके भने ६ पटक अन टार्गेन र ३ पटक टार्गेटमा बल प्रहार भएको थियो। यस्तै ७९ प्रतिशत सफल पास खेलेको स्पेनले १०५ किमी दौडिएको थियो।
कजानस्थित कजान एरिनामा स्पेनलाई जित दिलाउन डिएगो कोष्टा नायक बने। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोष्टाले गोल गरेका थिए। इरानी डिफेन्डरले क्लियर गर्न खोजेको बल कोष्टालाई लाग्दै गोलमा परिणत भएको थियो। उनको यो विश्वकपमा तेस्रो गोल हो। यसअघि पहिलो खेलमा पोर्चुगलविरुद्धको उनले दुई गोल गरेका थिए।
यो जितसँगै समूह बी को स्पेनले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। स्पेनले २ खेलबाट ४ अंक जोडेको छ । यो समूहमा पोर्चुगलको पनि समान खेलबाट ४ अंक छ। स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३ - ३ गोलको बराबरी खेलेको थियो।
पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १ - ० ले हराएको थियो। इरानले पहिलो खेलमा मोरक्कोलाई १ - ० ले हराएको थियो । इरानको पनि दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ। इरानले अब पोर्चुगलसँग खेल्नेछ।
स्पेनले अब अन्तिम खेलमा मोरक्कोसँग खेल्नेछ। दुई खेल गुमाईसकेको मोरक्को प्रतियोगिताबाट बाहिरीसकेको छ। यदि स्पेनले मोरक्कोलाई हराए सोझे दोस्रो चरणमा पुग्नेछ। तर, स्पेन मोरक्कोसँग पराजित भए वा बराबरीमा रोकिए। पोर्चुगल र इरानको खेलमा भर पर्नुपर्नेछ। यदि इरानले पोर्चुगललाई हराए स्पेन र पोर्चुगलमध्ये १ बाहिरिनुपर्नेछ। तर, पोर्चुगलले इरानलाई हराए स्पेन र पोर्चुगल दुबै दोस्रो चरणमा जानेछन्।