चार वर्षअघि क्वार्टरफाइलनमा पुगेर सनसनी मच्चाएको कोलम्बिया यसपटकको विश्वकप फुटबलको पहिलो खेलमा आज एसियाली महारथी जापानसँग भिड्दै छ। खेल नेपाली समय अनुसार साझ पौने ६ बजे रसियाको मार्दोभिया एरिना स्टेडियममा हुनेछ।
सन् २०१४ को ब्राजिलमा भएको विश्वकप फुटबलमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका प्लेमेकर जेम्स रोड्रिगेज कोलम्बियाका मुख्य खेलाडी हुन्। हाल बायर्न म्युनिकबाट खेल्दै आएका रोड्रिगेजबाट यसपटक पनि धेरै आशा गरिएको छ।
कोलम्बियाका कप्तानसमेत रहेका रोड्रिगेजमाथि यतिबेला सबैको आँखा छ। गत विश्वकपताका विश्वकै सर्वोत्कृष्ट स्ट्राइकर दरिएका रादामेल फाल्काओ घुँडाको चोटका कारण ब्राजिल जान पाएका थिएनन्। आफ्नै गोलका भरमा कोलम्बियालाई १६ वर्षपछि विश्वकप पुर्याए पनि उनले खेल्न भने पाएनन्। चोटपछि उनी पुरानो लयमा फर्किन सकेनन् र राष्ट्रिय टोलीबाट पनि बाहिर रहे।
मेनचेष्टर युनाइटेड र चेल्सीमा लोनमा गए पनि उनले राम्रो प्रदर्शन गर्न सकेनन्। चेल्सीबाट फेरि मोनाको फर्केपछि हाल उनी राम्रो फर्ममा छन्।
३२ वर्षमा पहिलो विश्वकप खेलिरहेका आफ्नो पिँढीका उत्कृष्ट स्ट्राइकरले रसियामा छाप छोड्ने प्रयास गर्ने छन्।
रोड्रिगेज र फाल्काओलाई युभेन्ट्सका दाहिने विन्गर हुआन क्वाद्रादोले एट्याकिङमा सघाउने छन्।
कोलम्बियाको डिफेन्समा टोटनह्याम हटस्परका डेभिन्सन सान्चेज र बार्सिलोनाका येरी मिनाको युवा जोडी छ। तर आर्सनलका दोस्रो रोजाइका गोलकिपर डेभिड ओस्पिना क्लब र राष्ट्रिय टोलीबाट खेलेका पछिल्ला केही खेलहरूमा गरेका गल्ती दोहोर्याउने पो हुन् कि भनेर धेरैलाई डर छ।
सन् २०१४ को विश्वकपमा पनि जापान र कोलम्बिया एउटै समूहमा थिए। जसमा कोलम्बियाले ४-१ को जित निकालेको थियो। यसबीचमा जापानले कोलम्बियासँग अर्को खेल खेलेको छैन। अहिलेसम्म यी दुईबीच भएका तीन खेलमा जापानले कुनै पनि जितेको छैन भने कोलम्बियाले गत विश्वकपको खेलसमेत गरी दुईमा जित हासिल गरेको छ। जापानले अहिलेसम्म विश्वकपमा कुनै पनि दक्षिण अमेरिकी देशलाई हराएको छैन। विश्वकपमा जापानको प्रदर्शन सन्तोषजनक छैन। छैठौँ पटक विश्वकपमा सहभागी भएपनि जापानले सन् २००२ र २०१० मा मात्र समूह चरण पार गरेको थियो। सन् २००२ मा जापानले घरेलु मैदानमा नकआउट चरण खेलेको थियो। विश्वकपअघि म्यानेजर वाहिद हलिलहोजिचलाई हटाएर अकिरा निसिनोले नयाँ म्यानेजर नियुक्त गरेको छ।
जापानी टोलीमा युरोपियन फुटबल खेलेका अनुभवी खेलाडीको भने कमी छैन। जापानी स्टार खेलाडी सिन्जी कागावा बोरुसिया डर्टमन्डबाट फुटबल खेल्छन्। त्यस्तै सिन्जी ओकाजाकी लेसेस्टरबाट व्यावसायिक फुटबल खेल्छन्। कोलम्बियाविरुद्ध यी दुबैको भूमिका महत्वपूर्ण हुनेछ। त्यस्तै टर्कीस क्लब गलातासारेका डिफेन्डर युतो नागामोतो जापानका लागि प्लस पोइन्ट हुन्। अनुभवी फर्वार्ड केइसुके होण्डाले ओकाजाकी र कोलोनका स्ट्राइकर युयाओसाकालाई साथ दिनेछन्।
इटालियन क्लब एसी मिलानबाट फुटबल खेलिसकेका होण्डा हाल मेक्सिकोमा व्यावसायिक फुटबल खेल्छन्। होण्डा सन् २०१० र सन् २०१४ को विश्वकपमा गरी दुई पटक विश्वकपमा गोल गर्ने एकमात्र जापानी खेलाडी हुन्। यसपटक पनि होण्डामाथि जापानको ठूलो भरोसा छ।