रसियामा जारी विश्वकपमा जर्मनी र मेक्सिको फुटबलमा मेक्सिकोले साविकको विश्वविजेता जर्मनी विरूद्ध विजय हासिल गरेको छ। उसले विश्वविजेता जर्मनीलाई १-० गोलले हराएको हो।
यो हारसँगै जर्मनीको एउटा ऐतिहासिक सिलसिलामा पनि विराम लागेको छ। डिफेन्डिङ च्याम्पियनका रूपमा जर्मनीले हालसम्म विश्वकपको पहिलो खेल कहिल्यै पनि हारेको थिएन। तर मेक्सिकोसँगको हारले त्यो रेकर्डमा विराम लागेको छ।
जर्मनले डिफेन्डिङ च्याम्पियनका रूपमा अर्जेन्टिनालाई सन् १९५८ मा ३-१ ले हराएको थियो भने सन् १९७८ मा पोल्यान्डलाई ०-० मा रोकेको थियो। त्यस्तै सन् १९९४ मा बोलेभियालाई १-० ले हराएको उसको इतिहास थियो। तर आज मेक्सिकोका लोजानोले जर्मनको त्यो इतिहास भत्काइदिए।
यस्तो हार जर्मनीसँगै इटाली र स्पेनले पनि बेहोरेका छन्। इटाली पाराग्वेसँग १-० ले पराजीत बनेको थियो भने स्पेन नेदरल्यान्डसँग ५-१ ले हारेको छ।
आजको खेलमा मेक्सिकोका लागि हिर्भिङ लोजानोले खेलको पहिलो हाफमा मेक्सिको लागि गोल गरेका थिए। उनले खेलको ३५ औं मिनेटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका हुन्। काउन्टर एट्याकमा उनले गोल गरेका थिए।