पाँचौ पटक विश्वकप खेलिरहेको कोष्टारिकाले आज सर्वियाको सामना गर्दैछ।
सन् २०१४ को विश्वकप फुटबलमा क्वार्टरफाइनलबाट बाहिरिएको कोष्टारिकाका लागि यसपटक क्वार्टरफाइनलको यात्रा समेत चुनौतीपूर्ण छ।
कोष्टारिका रहेको समूहमा ब्राजिल, स्विट्जरल्याण्ड जस्ता राष्ट्र छन्। स्विट्जरल्याण्डको फुटबल टोलीलाई अहिले ‘गोल्डेन जेनेरेशन’ भनिएको छ।
सन् २००९ को अण्डर-१७ विश्व च्याम्पियन बनेको टोलीका अधिकांश खेलाडी स्विट्जरल्याण्डमा छन्। अर्कोतर्फ विश्वकपको दाबेदार मानिएको ब्राजिल समेत सोही समूहमा छ।
कोष्टारिकाले सन् २०१४ को क्वार्टरफाइनलमा नेदरल्याण्डको सामना गरेको थियो। त्यतिबेला बलियो नेदरल्याण्डसँगको खेल कोष्टारिकाले पेनाल्टी सुटआउटबाट गुमाएको थियो।
मुख्य खेलाडी ब्रायन रुइज हुन्। ब्रायन पोर्चुगिज क्बल स्पोर्टिङ लिस्बनबाट व्यवसायिक फुटबल खेल्छन्। त्यस्तै सेल्सो बोर्जेजले कोष्टारिकाको मिडफिल्ड सम्हाल्नेछन्। उनी स्पेनेश फुटबल क्लब डेपोर्टिभो ला कोरुनाबाट फुटबल खेल्छन्। तर, विश्वकप अघिको कोष्टारिकाको प्रदर्शन भने निराशाजनक छ।
उसले स्पेनसँग ५ - ० तथा तथा हंगेरीसँग १ - ० को हार बेहोरेको थियो। कोष्टारिकाको सबैभन्दा राम्रो खेलाडी गोलकिपर केलर नाभास हुन्। उनी रियल म्याड्रिडका किपर हुन्।
सन् २०१४ को विश्वकपको प्रदर्शनकै कारण उनले रियल म्याड्रिडमा मौका पाएका थिए। अर्कोतर्फ सन् २००६ मा स्वतन्त्र राष्ट्र बनेपछि सर्विया दोस्रोपटक विश्वकपमा सहभागी हुँदैछ। सर्वियाको टोलीलाई यसपटक खेल कौशल भएको टोली मानिएको छ।
विश्वकप छनोट चरणमा मात्र उसले २० गोल गरेको छ। सर्वियाका अलेक्जेण्ड मेत्रोभिचले मात्र ६ गोल गरेका छन्। २३ वर्षीय मेत्रोभिच प्रिमियर लिग क्लब न्यू क्यासल युनाइटेडबाट व्यवसायिक फुटबल खेल्छन्।
त्यस्तै, ब्रानिस्लाभ इभानोभिच पनि सर्वियाको अर्का राम्रो खेलाडी हुन्। उनी रसियन क्लब जेनिथ सेन्ट पिटर्सबर्गबाट व्यवसायिक फुटबल खेल्छन्। त्यसअघि इभानोभिच चेल्सीका डिफेन्डर थिए। उनले विश्वकप छनोट चरणका १० वटै खेल खेलेका थिए।
सर्वियाको टोलीमा भएका क्षमतावान, निर्मम र अनुभव प्राप्त खेलाडी यसपटक ब्राजिलको समेत टाउको दुखाइ बन्न सक्छ। म्यान्चेष्टर सिटीबाट फुटबल खेलिसकेका अलेक्जेण्डर कोलारोभको डिफेन्स अनि म्यान्चेष्टर युनाइटेडका स्टार खेलाडी नेमेन्या म्याटिच र लाजियोका उदयीमान स्टार सर्गेइ मिलिन्कोभिच साभिच मिडफिल्डमा रहँदा सर्वियाको टोली बलियो देखिन्छ।