सन् २०१४ मा आफ्नै घरेलु मैदान भएको विश्वकपमा साविकको विजेता जर्मनीसँग अप्रत्यासित हार बेहोरेको दक्षिणी अमेरिकी फुटबल पावर हाउस यस पटक विजेता बनेर त्यो पीडा बिर्साउने लक्ष्यका साथ रसिया आएको छ।
ब्राजिलले समूह 'इ'को पहिलो खेल स्विट्जरल्यान्डसँग खेल्दै छ। दुबै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने आंकलन छ। खेल प्रतिष्पर्धात्मक भए पनि ब्राजिलले महत्वपूर्ण ३ अंक यसै खेलबाट बटुल्न सक्दो प्रयास गर्ने छ।
उसको पछिल्लो समय देखिएको प्रदर्शनले त्यो अंक बटुल्न उसलाई कठिन नहोला। ब्राजिलले पछिल्लो पटक खेलेका २१ खेलमा एक खेलमात्र हारेको छ भने मात्र पाँच गोलको सामना उसले गरेको छ।
विश्वकप छनोट चरणदेखि नै उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै जारी विश्वकपमा ऊ अग्रपंक्तिको दाबेदारको रूपमा प्रस्तुत हुँदै आएको छ। त्यस्तै युरोपेली टोलीको पछिल्लो खेल श्रृखंला पनि रोचक नै छ। उसले पनि गतिलो प्रदर्शन गर्दै आएको छ जसका कारण ब्राजिलका लागि ऊ सहज हुनेछैन।
सन् २०१६ को युरो कप खेलयता स्विट्जरल्यान्डले खेलेको १७ खेलमा एक खेल मात्र हारेको छ। कोलम्बियासँगको क्वार्टरफाइनल खेलमा नेयमार घाइते भएपछि जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजिलको अहिलेको टोली २०१४ भन्दा अहिले बलियो छ। रियल मेड्रिडबाट खेल्ने क्यासेमिरो र बार्सिलोनाका फिलिपे काउटिन्होजस्ता राम्रा खेलाडी ब्राजिलको मिडफिल्डलाई सशक्त तुल्याउनेमा कुनै शंका छैन।
नेयमारमाथि यस खेलमा सबैको आँखा हुनेछ। अघिल्लो पटक पुरै नेयमारमाथि भरपरेको जस्तो देखिएको ब्राजिलका लागि उनको बोझ कम गर्नका लागि युवा स्ट्राइकर गयाब्रियल जिजस टोलीमा छन्।
तीन महिना चोटका कारणले मैदान बाहिर रहेका नेयमारको खेल कस्तो हुनेछ त्यो पनि आजको म्याचको चासो हो।
यद्यपी अष्ट्रियासँग विश्वकप अगाडि खेलेको मैत्रीपूर्ण खेलमा ब्राजिलले ३-० नतिजा निकालेको थियो त्यसमा नेयमारले एक गोलको योगदान दिएका थिए।
सो खेलबाट उनले आफू फिट रहेको देखाइसकेका छन्। दुई वर्षअघि विश्वकप छनोट चरणका एक-तिहाइ खेलहरू सकिँदा ब्राजिल दक्षिण अमेरिकामा छैठौं स्थान थियो। त्यही बेला टिटे ब्राजिलका नयाँ प्रशिक्षक बने। त्यसयता ब्राजिलको खेलमा ठूलो सुधार आएको छ।
टिटेले नै १९ वर्षीय जिजसलाई टोलीमा मौका दिए। राष्ट्रिय टोलीबाट उनै जिजसले १६ खेलमा ९ गोल गरेका छन्। टिटेको प्रशिक्षकत्वमा ब्राजिलको टोली डिफेन्समा पनि आफ्नो आक्रमक शैली जत्तिकै बलियो छ। त्यस्तै, लगातार पाँचौ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड गत विश्वकपमा अन्तिम १६ मा पुगेर अर्जेन्टिनासँग अतिरिक्त समय भएको गोलबाट घर फर्किन बाध्य भएको थियो।
विश्वकपको दाबेदार नमानिए पनि उसले जादु नगर्ला भन्न सकिन्न। स्विट्जरल्यान्ड आफ्नो स्टार स्ट्राइकर जारेदान शाकिरीको भरमा हुनेछ। उनले राष्ट्रिय टोलीका लागि ६९ खेलमा २० गोल गरेका छन्।
यस वर्षको फुटबल सिजनमा खासै चम्कन नसकेका उनले त्यो खराब सिजनलाई विश्वकपबाट बिर्साउन प्रयास गर्नेछन्। उनीसँगै वेस्टहाम र वाटफोर्ड फ्यानका लागि परिचित अनुहार भलोन बह्रमी स्विट्जरल्यान्डले भर गरेका अर्का खेलाडी हुन्।
तर पछिल्लो समय उनी आफ्नो चोटसँग संघर्षरत छन्। पछिल्लो पटक स्विट्जरल्यान्ड स्पेनसँग १-१ को बराबरीमा रोकिएको थियो।
ब्राजिल र स्विट्जरल्यान्ड आज रोस्टेभ एरिनामा आमनेसामने हुनेछन्।