२० वर्षअघि सन् १९९८ मा घरेलु मैदानमा पहिलो पटक विश्वकप उपाधि उचालेको फ्रान्स गत विश्वकपमा अन्तिम आठबाट घर फर्किएको थियो।
सन् २००० मा युरो विजेता फ्रान्स यसपालिको भने विश्वकप उपाधिको प्रवल दाबेदार हो।
फ्रेञ्च टोलीले समूहको पहिलो खेल आजअष्ट्रेलियासँग खेल्दै छ। धेरैको अनुमानमा फ्रान्सले विजयी नतिजा निकाल्छ भन्नेछ।
टोलीको समिकरण हेर्दा पनि यो अनुमानलाई बल पुग्छ। युरोकपको उपाधि आफ्नै कप्तानीमा उचालेका डिडियर डेस्चाम्पको प्रशिक्षकत्वमा रहेको फ्रान्सको वर्तमान टोलीमा प्रतिभाशाली खेलाडीहरूको उपस्थिति छ। फ्रेञ्च टिममा खेलको गतिलाई आफ्नो पक्षमा परिवर्तन गर्ने सक्ने ठानिएका मिडफिल्डर पाउल पोग्बा छन्। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने २१ वर्षीय पोग्बा यस सिजनमा म्यानचेस्टरका मुख्य खेलाडी थिए।
फ्रेन्च टोलीमा चेल्सीबाट खेल्ने एनगोलो कान्टे, एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान, पिएसजीका केलियन एमबाप्पे, बार्सिलोनाका उस्मान डेम्बेजस्ता खेलाडी छन् जसले फ्रान्सलाई विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा उभ्याएको छन्।
फ्रान्सले पछिल्ला तीन वटै खेल जितेको छ। फ्रान्सले मार्चमा विश्वकप आयोजक राष्ट्र रसियालाई ३–१ ले हराएको थियो। मेमा आयरल्यान्डमाथि २–० को जित निकाल्यो। अघिल्लो साता फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको थियो। यस्ता विशेषताका बाबजुद् एसियाली टोली अष्ट्रेलियालाई कमजोर ठान्ने भूल फ्रान्सले गर्ने छैन्। अष्ट्रेलियामा गतिलो खेल पस्केर उत्कृष्ट नतिजा निकाल्न सक्ने सामर्थ्य छ।
सिरियालाई पराजित गर्दै अन्तरमहादेशीय 'प्लेअफ'बाट आफूलाई विश्वकपको यात्रामा ल्याएको अष्ट्रेलियाले होन्डुरसलाई ३-० ले पराजित गर्दै विश्वकपमा आएको टोली हो। सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको अष्ट्रेलियाले २००६ यता लगातार विश्वकप खेल्दै आएको छ। अष्ट्रेलिया २००६ को विश्वकपमा अन्तिम १६ मा पुगेको थियो। यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।
आज हुने फ्रेन्च टोलीसँगको भीडन्तमा सबैको नजर अष्ट्रेलियाका भेट्रान खेलाडी टिम काहिलमाथि हुनेछ। पछिल्ला तीन विश्वकपमा गोल गरिसकेका काहिलले यस विश्वकपमा पनि गोल गर्दै लगातार चार विश्वकपमा गोल गर्ने पाँचौ खेलाडी अनुमान गरिएको छ। सन् २००६ मा अन्तिम १६ मा पुगेको नतिजा नै अष्ट्रेलियालेको हालसम्मको उत्कृष्ट नतिजा हो।
विश्वकपमा प्रवल दाबेदार नमानिए पनि अष्ट्रेलिया पक्कै त्यस नतिजालाई सुधार गर्ने लक्ष्यका साथ रसिया आएको छ। फ्रान्सलाई आफ्ना खेलाडीहरूको फिटनेसको चिन्ता भए पनि अष्ट्रेलिया यसबाट मुक्त छ।
फ्रान्सका फुल ब्याक डिज्ब्रिल सिदिबे घुँडाको चोटसँग संघर्षरत छन्, उनलाई बेन्जामिन पाबार्डले विस्थापन गर्ने सम्भावना छ। उता अष्ट्रेलियाका एनड्र्यू नाबुट, टोमी जुरिक, टिम चाहिल तथा जेमी म्याकाल्रेन पूर्ण रूपमा फिट रहेकाले पनि फ्रान्ससँग भिड्दै गर्दा उसको आत्मविश्वास बलियो छ।
फ्रान्स र अष्ट्रेलिया हालसम्म चार पटक एकअर्कासँग भिडेका छन् जसमा सन् १९९४ मा जापानमा भएको खेलमा फ्रान्सले १-० को नतिजा निकालेको थियो भने अष्ट्रेलियाले २००१ मा १-० को नतिजा निकालेको थियो। दुबै टोलीबिच भएको पछिल्लो भिडन्तमा फ्रान्सले अष्ट्रेलियामाथि ६-० को जित निकालेको छ। त्यस्तै बितेका ९ वर्ल्डकपमा फ्रान्स दुईपटकमात्र समूह बिजेता बनेको छ। उसले विश्वकपका पछिल्ला १२ ग्रुप म्याचमा ३ वटामा मात्र जित निकालेको छ।
अष्ट्रेलियाले हालसम्म विश्वकपमा खेलेका १३ खेलमा मात्र दुई खेलमा जित हासिल गरेको छ।
उसले सन् २००६ को विश्वकपमा जापानमाथि ३-१, सन् २०१० मा सर्वियामाथि२-१ को नतिजा आफ्नो पक्षमा पारेको थियो। उसले १९७४ मा भने चिलीसँग ०-० को बराबरीको नतिजा ल्याएको थियो।
फ्रान्स र अष्ट्रेलिया आज कजान एरिना रंगसाला,कजानमा एकअर्कासँग नेपाली समय अनुसार ३:४५ मा भिड्नेछन्।