लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आज विश्वकप फुटबलमा आइसल्याण्डको सामना गर्दैछ। उनका चीर प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोलाल्डोले गए रातिको खेलमा ह्याट्रिक गरेपछि आज उनले पनि त्यस्तै प्रदर्शन गरुन् भनेर अर्जेन्टिनाका मात्रै नभएर तटस्थ समर्थकले समेत आशा गरेका छन्।
अर्जेन्टिना सन् २०१४ को विश्वकपको उपविजेता हो। यद्यपी यसपटकको विश्वकपका लागि भने अर्जेन्टिनाले मुस्किलले छनौट चरण पार गर्यो। अर्जेन्टिनाको अग्रपंक्तिमा बार्सिलोनाबाट खेल्ने मेसीका साथै मेनचेस्टर सिटीका सर्जियो अग्वेरो, युभेन्टसका पाओलो दिबाला र गोञ्जालो हिग्वेन र पिएसजीका एन्गेल डी मारियाजस्ता प्रतिभावान् खेलाडी छन्। तर गोलकिपिङ, डिफेन्स र मिडफिल्डमा सोही स्तरका खेलाडी छैनन्।
कोच जोर्गे साम्पओलीले हिजै घोषणा गरेको प्लेइङ ११मा दिबाला र हिग्वेन छैनन्।
नियमित गोलकिपर सर्जियो रोमेरो प्रतियोगिताअघि नै घाइते भएपछि चेल्सीका अतिरिक्त किपर ३६ वर्षीय विल्फ्रेडो काबालेरो आज नेपाली समय अनुसार साँझ ६:४५ मा मस्कोको ओत्क्रिति अरिनामा सुरू हुने खेलमा खेल्नेछन्।
डिफेन्समा निकोलास ताग्लियाफिको, मार्कस रोहो, निकोलस ओटामेण्डी र एडुवार्डो साल्भियो खेल्नेछन्। मिडफिल्डको आधारशीला जाभियर मास्कारानो र लुकास बिग्लियाले दिनेछन्।
मास्कारानोले अर्जेन्टिनाका लागि क्लबका लागिभन्दा राम्रो खेल्ने गरेका छन्। गत विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउनमा उनले लगभग मेसीकै जति योगदान गरेका थिए।
तर अहिले उनी ३४ वर्षका छन् र खेलजीवनको उत्तरार्धमा बार्सिलोना छोडेर चीनमा खेल्न थालेका छन्। शारिरिक क्षमतामा कमी आए पनि उनले आफ्नो अनुभव र ज्ञानको भरपूर उपयोग गर्ने आशा साम्पाओलीले गरेका छन्।
मेक्सिमिलियानो मेजाले अर्जेन्टिनाको मिडफिल्ड पूरा गर्ने छन् भने फरवार्ड लाइनमा अग्वेरो, मेसी र डी मारियाको खतरनाक तिकडी हुनेछ।
अर्जेन्टिनाका लागि प्रतिष्प्रधात्मक (मैत्री बाहेकका) खेलमा २०१६ नोभेम्बरपछि मेसीबाहेकले गोल नगरेकाले अरू फरवार्डमाथि दबाब हुनेछ।
तर अग्वेरो यो सिजनमा क्लबका लागि राम्रो फर्ममा थिए। २०१४को विश्वकपमा पूरा फिट नभए पनि खेलेका अग्वेरो अहिले भने फिट छन्।
अर्जेन्टिनालाई गोल गर्न बोका जुनियर्सका स्टार क्रिस्टियन पावोन र हिग्वेनजस्ता खेलाडीलाई उतार्ने विकल्प पनि हुनेछ। तर गोल गर्नका लागि फरवार्ड लाइनका खेलाडीसम्म बल पुग्नुपर्छ।
मास्कारानो, बिग्लिया र मेजाले आफ्ना फरवार्डका साथीलाई कति बल निकाल्नेछन् भन्ने कुरामा खेलको नतिजा भर पर्नेछ।
अर्कोतर्फ आइसल्याण्ड पहिलो पटक विश्वकपमा सामेल भएको छ। तीन लाख तीस हजार जनसंख्या रहेको आइसल्याण्डका कोच ‘डेन्टिस्ट’ समेत हुन्। आइसल्याण्ड विश्वकपमा छनौट हुने हालसम्मकै सानो मुलुक हो। यसको जनसंख्या मस्को सहरको तीन प्रतिशत पनि छैन। तर आइसल्याण्ड फुटबलमा भने ‘जायन्ट किलर’ को रूपमा देखा परेको छ।
आइसल्याण्डले सन् २०१६ को युरो कपको क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई हराएर सनसनी मच्याएको थियो। युवा खेलाडीहरू रहेको आइसल्याण्डसमेत युक्रेन र क्रोएसिया भएको समूह विजेता भएर यो विश्वकपका लागि छनौट भएको हो।
आइसल्याण्डका मुख्य खेलाडी आरोन गनरसोन हुन्। उनी प्रिमियर लिग खेल्ने टोली कार्डिफ सिटीबाट व्यवसायिक फुटबल खेल्छन्।
इभर्टनका फरवार्ड जिल्फी सिगडर्सनले अर्जेन्टिनाको डिफेन्सलाई अप्ठयारो पार्न सक्छन्।
सानो जनसंख्या भए पनि आइसल्याण्डमा फुटबलको ठूलो क्रेज छ। आइसल्याण्डको राष्ट्रिय टोली मैदानमा उत्रँदा समर्थकहरू गीत गाउँदै ताली बजाउँदै मैदानमा पुग्छन्।
युरोकपको प्रदर्शनबाट फर्किएको आइसल्याण्डका खेलाडीको स्वागतमा हजारौँ समर्थकले एकसाथ लयात्मक ताली (थण्डर क्ल्याप) बजाएका थिए। जसलाइ ‘भाइकिङ वार’ च्यान्ट भनिन्छ। आज मस्कोमा अर्जेन्टिनालाई रोकेमा समर्थकलाई खुशी मनाउने अर्को कारण हुनेछ।