२१औं विश्वकप फुटबलको दोस्रो खेल अन्तर्गत शुक्रबार समूह ‘ए’ को उरूग्वे र इजिप्ट भिड्नेछन्।
दुई पटकको विश्व विजेता उरूग्वेले अहिलेसम्म २ पटक मात्र विश्वकपमा सहभागिता जनाएको इजिप्टबीच नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा रसियाको इकाटेरिनवर्ग एरिना रंगशालामा खेल हुनेछ।
सन् १९३० को पहिलो संस्करणको विश्वकप फुटबल आयोजना गरेको उसले ट्रफी घरमै राखेको थियो।
१३ औं पटकसम्म विश्वकप खेल्दै गरेको उसले यसअघि पहिलो विश्वकपको उपाधि जित्ने क्रममा अर्जेन्टिनालाई ४–२ गोलअन्तरले पराजित हराएको थियो।
सन् १९५० मा विश्वकपको फाइनलमा उसले आयोजक ब्राजिललाई २–१ गोलअन्तरले हराउन सफल भएको थियो।
त्यसपछि सन् १९५४, १९७० र २०१० मा उरूग्वे सेमिफाइनलसम्म पुग्न सफल भएको थियो।
सन् १९६६ मा क्वार्टरफाइनलसम्मको यात्रा गरेको उरूग्वेले सन् १९८६, १९९० र २०१४ मा अन्तिम १६ मा पुगेको थियो।
यस्तै सन् १९६२, १९७४ र २००२ को विश्वकपमा भने ऊ समूह चरणबाटै बाहिरिएको थियो।
यता तेस्रो पटक विश्वकप फुटबल खेल्न लागेको इजिप्टले यसअघि सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपबाट विश्वकप खेल्न सुरू गरेको हो।
त्यसपछि इजिप्टले सन् १९९० मा इटालीमै भएको विश्वकपमा सहभागिता जनायो।
२ पटक विश्वकप खेलिसकेको इजिप्टले दुबै विश्वकपमा समूह चरण पार गर्न सकेन।
पछिल्लो समय केही लयमा देखिएको इजिप्टले तेस्रो विश्वकप यात्रा स्मरणीय बनाउनेमा आशावादी छ।
हेर्नलायक खेलाडी
लुइस स्वारेज (उरूग्वे)
बार्सिलोनाबाट क्लब फुटबल खेलिरहेका स्वारेजले उरूग्वेका महत्वपूर्ण खेलाडी हुन्।
सन् २०१० देखि विश्वकपमा उरूग्वेबाट खेलिरहेका स्वारेजले सन् २०१० को विश्वकपमा ३ गोल गरेका थिए भने सन् २०१४ को ब्राजिल विश्वकपमा २ गोल गरेका थिए।
सन् २००७ मा उरूग्वेको राष्ट्रिय खेलाडीबाट डेब्यू गरेका उनले ५१ गोल गरिसकेका छन्।
रुस विश्वकप २०१८ मा पनि उरुग्वेको उनी पहिलो रोजाईका खेलाडी हुन्। यो वर्षमा उनले क्लब फुटबलमा ला लिगामा मात्र २५ गोल गरिसकेका छन्।
एडिसन काभानी (उरूग्वे)
फ्रेन्च क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेल्ने एडिसन काभानी उरुग्वेका भरपर्दा फरवार्ड हुन्।
सन् २००८ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका काभानीले अहिलेसम्म खेलेका १०० अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरेका छन्।
३१ वर्षीय काभानीले सन् २०१० को विश्वकप र २०१४ विश्वकप समेत खेलेका छन्। सन् २०१० र २०१४ मा काभानीले १—१ गोल गरेका थिए।
पछिल्लो समय राम्रो लयमा रहेका उनले क्लब फुटबलमा सिजन २०१७/१८ का लागि ३२ खेलबाट २८ गोल गरेका थिए।
टिम उरुग्वे
फरवार्डः इडिसन काभानी, म्याक्सिमिलिएनो गोमेज, लुइस स्वारेज, क्रिस्थिएन स्टुएनी
मिडफिल्डरः जियोर्जियन डी एर्रास्काएटा, रोड्रिगो बेनटान्कुर, डिएगो लेक्साल्ट, नाथिटन नान्डेज, क्रिष्टियन रोड्रिगेज, कार्लोस सान्चेज, लुकास टोरेइरा, माटिएस वेकिनो, जोनथान उरेटाविस्काया
डिफेन्डरः मार्टिन कासिरेस, सेबास्टिएन कोएटेस, जोसे मारिया जिमिनेज, डिएगो गोडिन, म्याक्सिमिलिएनो परेरा, ग्यासटन सिल्भा, गुइलेर्मो भारेला रहेका छन् ।
गोलरक्षकः मार्टिन क्याम्पाना, फर्नान्डो मुस्लेरा, मार्टिन सिल्भा
मोहमद सलाह (इजिप्ट)
इजिप्टका प्रमुख खेलाडी मोहमद सलाहलाई लिइएको छ।
सन् २०११ देखि राष्ट्रिय टिममा आवद्ध सलाह इजिप्टका लागि विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी हुन्।
२५ वर्षीय सलाहले अहिलेसम्म खेलेका ५६ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरेका छन्। सलाह अहिले इंग्लिस क्लब लिभरपुलबाट क्लब फुटबल खेल्दै आएका छन् ।
मोहमद इल्नेनी (इजिप्ट)
मिड्फिल्डर मोहमद इल्नेनी रसिया विश्वकपका लगि इजिप्टका भरपर्दा खेलाडी हुन्।
२५ वर्षीय मोहमदले अहिलेसम्म ६१ अन्तर्राष्ट्रिय खेल खेल्दै ५ गोल गरेका छन्।
टिम इजिप्ट
फरवार्डः मोहम्मद सलाह, मारवान मोहशिन, महमौद हसन, अमर वार्दा, मोहमौद कह्रबा
मिडफिल्डरः तारेक हमिद, अब्दल्लाह एल शैद, सम मोर्सी, मोहम्मद एल्नेनी, रमदान सोभी, महमौद शिकबाला,
डिफेन्डरः अहमद फाथी, साद समीर, ऐमन अश्रफ, महमुद हम्दी, मोहमद शाफी,अहमद हिगाजी, अलि जब्र, अहमद एल्मोहामेदी, उमर जब्र
गोलरक्षकः इशाम अल हदीरी, मोहम्मद इल शेनावी, शरिफ अक्रमी