बिहिबारदेखि रसियामा सुरू भएको २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत शुक्रबार बीस वर्षपछि विश्वकपमा फर्किएको मोरक्कोले समूह बी को पहिलो खेलमा इरानको सामना गर्दैछ।
सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समय अनुसार राति ८: ४५ बजे पाँचौं पटक मोरक्को र इरान आमने सामने हुन लागेका हुन्। यसअघिका चार भिडन्त मध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो। तर अन्तिम पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।
यसपटक भने मोरक्को शक्तिशाली राष्ट्रको रुपमा उदाएको हो। उत्तर अफ्रिकन मुलुक मोरक्कोका अधिकांश खेलाडी युरोपमा जन्मिएर युरोपियन फुटबल खेलेका छन्।
नेदरल्याण्डमा जन्मिएर त्यहीँ व्यवसायिक फुटबल खेल्दै आएका हकिम जियच जस्ता उत्कृष्ट खेलाडी मोरक्कोको टिममा छन्।
त्यस्तै टर्कीको फुटबल टिम गालातासरेबाट खेल्दै युनिस बेलन्दा पनि मोरक्कोबाट विश्वकप फुटबल खेल्दैछन्। मोरक्कोले सन् २०१२ मा जिम्बाबे र सन् २०१५ मा आइभरी कोस्टलाई अफ्रिकन कप अफ नेसन्समा विजयी बनाएका हर्भ इनार्डलाई कोच बनाएको छ।
मोरक्कोका सबैभन्दा महत्वपूर्ण खेलाडी भने टर्कीको फेनर्वाचेबाट खेल्ने मिडल्डर नबिल दिरार हुन्।
अर्को तर्फ इरान विश्वकपका लागि एसियाबाट छनोट हुने पहिलो टोली हो। उज्बेकिस्तानलाई २-० ले हराएर गत वर्ष इरानले विश्वकप सहभागिताको ढोका खोलेको थियो। दुई चरणको विश्वकप छनोटका १८ खेलमा इरान अपराजित रह्यो। यद्यपी उसले ९ खेलमा गोलरहित बराबरीमा चित्त बुझायो।
इरानले सिरिया विरुद्ध २-२ को बराबरी खेलेको थियो। इरानको यो पाँचौ पटकको विश्वकप सहभागिता हो। तर विश्वकपमा भने इरानको प्रदर्शन निराशाजनक छ।
सन् २०१४ मा इरानले कुनै पनि खेलमा जीत हात पार्ने सकेन। यद्यपी यसपटक इरानका पोर्चुगिज कोच कार्लोस कियोरोजले रसिया उड्नु अघि ‘पर्यटक मात्र हुन नजाने’ बताएका थिए।
इरानले यसपटक कम्तिमा नकआउट चरणसम्म पुग्ने लक्ष्य राखेको छ। त्यसका लागि उसले मोरक्कोलाई पराजित गर्नुपर्ने हुन्छ।
समूह बी मा स्पेन र पोर्चुगल जस्ता राष्ट्र छन्। २० वर्षपछि विश्वकप फर्किएको मोरक्कोलाई इरानले आफ्नो अनुभव प्रयोग गरेर जीत दिलाउन सक्छ। तर युवा र युरोपियन खेलाडीले भरिएको मोरक्कोसँगको प्रतिष्पर्धा इरानका लागि सहज पक्कै छैन।
इरानको टोलीमा यसपटक प्रतिभावान खेलाडीहरु छन्। २२ वर्षका रूसको रुबिन कजानबाट खेल्ने सरदार अजमउँ इरानका लागि गोलकर्ताका रुपमा उदाएका छन्। २२ वर्षको उमेरमा उनले २२ अन्तर्राष्ट्रिय गोलसमेत गरिसकेका छन्। सन् २०१५ को एसियन कपमा उनी अन्य मुलुकका लागि चुनौतीका रुपमा खडा भएका थिए।
एजेन्सीको सहयोगमा