२१औं संस्करणको विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रसिया विजयी भएको छ। मस्कोमा भएको खेलमा रसियाले घरेलु दर्शकलाई साउदीमाथी ५ गोलको जीत उपहार प्रदान गर्यो। विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्दै खाता खोलेको थियो। रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरे।
उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका थिए।
यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रसियाले ७१ औं मिनेटमा तेस्रो गोल गर्यो। रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत गरे। उनले एलेकसानद्रको पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए।
उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए।
यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट 'लेफ्ट फुट सट' हान्दै चौथो गोल गरे। उनलाई ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए।
थप समयको अन्तिम मिनेटमा साउदीका तेसिल अल जासमले फल गरेपछि रशियाले पाएको फ्रि-किकलाई सदुपयोग गर्दै एलेकसान्दर गोलोभिनले रसियाका लागि ५ औं गोल गरे।
खेलको ८८ औं मिनेटमा रसियाका गोलोभीनले फल गरेपछि यस विश्वकपको पहिलो पहेलो कार्ड खाए भने साउदीका जासमले दोस्रो पहेलो कार्ड पाए।
जीतसँगै रशियाले आफ्नो समूहमा महत्वपूर्ण ३ अंक बटुलेको छ।
