सन् २०१०, जुन ८ तारिख।
दक्षिण अफ्रिकामा विश्वकप सुरु हुन तीन दिन मात्र बाँकी थियो। अफ्रिकाको जोहानसवर्गस्थित स्यान्डटन कन्भेन्सन सेन्टरको बैठकमा रुस र इङ्ल्यान्डका प्रतिनिधि थिए। उनीहरूबीच सन् २०१८ को विश्वकप कुन देशमा आयोजना गर्ने भनी छलफल हुँदै थियो।
रुसले बाजी हात पार्यो।
त्यसअघि रुसले सन् २०१४ को ‘हिउँदे ओलम्पिक्स’ पनि आफ्नो पोल्टामा पाारिसकेको थियो।
विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएको रुसको निम्ति त्यो दिन दुई कारणले विशेष रह्यो।
पहिलो त, लाखौं दर्शकले एकसाथ भ्रमण गर्ने विश्वकपजस्तो अन्तर्राष्ट्रिय फुटबल मेला आयोजना गर्ने अवसर पाएको थियो। यसले रुसलाई आर्थिक फाइदा हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा आफ्नो राजनीतिक छवि सुधार्न पनि मद्दत गथ्र्यो।
राष्ट्रपति भ्लाद्मिर पुटिन दंग परे। विश्वकप आयोजनाको खबरले रुसी जनतामाझ सकारात्मक तरंग ल्याउने र यो आफ्नो राजनीतिक भविष्यका लागि पनि फाइदाजनक रहेको उनले बुझेका थिए।
यो बुझाइ उनको अभिव्यक्तिमा पनि झल्कियो।
विश्वकप आयोजनाको खबर पाएर पुटिन कति खुसी भए भने विरलै अंग्रेजी बोल्ने उनले अंग्रेजीमा भने, ‘फ्रम द बटम अफ माइ हार्ट, थ्यांक्यू’।
परिस्थितिअनुसार सामान्य प्रतिक्रिया दिएका भए पनि पुटिनको यो अभिव्यक्तिले निकै चर्चा पायो। किनकि, उनले अंग्रेजी बोलेका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुुसार पुटिनले सार्वजनिक समारोहमा अंग्रेजीमा प्रतिक्रिया दिएको सामान्यतया सुनिँदैन। त्यो दिन पनि उनको अभिव्यक्ति अनुवाद गर्न सहयोगी तम्तयार थिए। अंग्रेजीमा आएको उनको प्रतिक्रियाले भने सबैलाई चकित बनायो।
पुटिनलाई अंग्रेजी बोल्न सकस हुन्छ। नआउने होइन, तर रुसी भाषामै सहज महशुस गर्छन्। विश्वकप आयोजनाको जिम्मा पाएको खुसियालीमा अंग्रेजीमा ‘धन्यवाद’ भन्दा धेरैलाई ‘अनौठो’ लागेको सञ्चार माध्यमहरूले लेखेका थिए।
आन्तरिक राजनीति र बाह्य सम्बन्धका कारण रुसलाई ‘फ्रेन्ड्ली’ देश मानिँदैन। यो वर्ष विश्वकप आयोजनासँगै उसले दस लाखभन्दा बढी पाहुना सत्कार गर्ने मौका पाएको छ। यो मौकाको रुसले कति फाइदा उठाउँछ, त्यो देख्न बाँकी छ।
बिहीबार राति पौने नौ बजेदेखि विश्वकपको पहिलो खेल रुस र साउदी अरेबियाबीच हुँदैछ। फिफा वरियताको ७० औं स्थानमा रहेको रुसले आयोजकका रूपमा पहिलो खेल खेल्ने मौका पाएको हो। विश्वकप खेल्ने ३२ देशमध्ये रुस सबभन्दा पछिल्लो स्थानमा छ।
वरियता जहाँ भए पनि रुसले विश्वकप आयोजनामा कुनै कसर छोडेको छैन। ६ वर्षदेखि तयारी गरिरहेको उसले यसमा ११ अर्ब डलर खर्चिसकेको छ। राजनीतिक विश्लेषकहरूले यही आधारमा ‘रुसले विश्वकप जितेको’ भन्न थालिसकेका छन्। पुटिनले पनि यो विश्वकप कहिल्यै बिर्सन नसक्ने रोमाञ्चक हुने दाबी गरेका छन्।
सोचेजस्तै विश्वकपको प्रभाव सफल भए पुटिनले फेरि अंग्रेजीमै धन्यवाद देलान् कि!