आजबाट सुरु हुने विश्वकप फुटबलमा अफ्रिकाबाट पाँच मुलुकले प्रतिनिधित्व गर्दैछन्– नाइजेरिया, इजिप्ट, सेनेगल, मोरक्को र ट्युनिसिया।
विश्वकप फुटबल इतिहासमा अहिलेसम्म कुनै पनि अफ्रिकी टिम सेमी–फाइनल पुग्न सकेका छैनन्। यो महादेशले लामो समयदेखि फुटबलमा सम्भावना देखाउँदै आएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता भने हात पार्न सकेको छैन।
यसपालि अफ्रिकी फुटबलको त्यो इतिहास बदलिने आकलन गरिएको छ।
अफ्रिकी देशहरू अहिलेसम्म विश्वकप सेमी–फाइनल नपुग्नुमा कमजोर तयारी, आन्तरिक विवाद, खेलको महत्वपूर्ण समयमा प्राविधिक कुशलता गुमाउनु र अन्तिम समयमा मात्र विदेशी प्रशिक्षक नियुक्त गर्नुलाई मुख्य कारण मानिएको छ।
यसपालिको प्रतियोगितामा नाइजेरिया र सेनेगलले दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने अनुमान छ।
हामी यहाँ विश्वकप खेल्न गइरहेका पाँच अफ्रिकी टिमबारे चर्चा गर्दैछौंः
१) नाइजेरिया

अन्य अफ्रिकी देशको दाँजोमा नाइजेरियालाई पहिल्यैदेखि सशक्त टिमका रूपमा लिइँदै आएको थियो। सन् १९९४ मा पहिलोपटक विश्वकप खेलेयता नाइजेरिया हरेकचोटि यो अन्तर्राष्ट्रिय फुटबल मञ्चमा अफ्रिकी देशको प्रतिनिधित्व गर्न चुकेको छैन।
घरेलु मैदानमा ‘सुपर इगल्स’ भनेर चिनिने नाइजेरियाले सन् १९९८, २००२, २०१० र २०१४ को विश्वकप खेलेको छ।
यसपालि पनि स्वाजिल्यान्ड, जाम्बिया, क्यामरुन र अल्जेरियालाई पाखा लगाउँदै छानिएको हो। सन् २०१६ देखि जर्मनका गेर्नट रोहरले टिमलाई प्रशिक्षण दिँदै आएका छन्। उनी आफ्ना खेलाडीलाई ४–२–३–१ को रणनीतिमा मैदानमा ओराल्छन्।
टिमका स्टार खेलाडी हुन्, क्याप्टेन जोन ओबी–मिकेल, जसले यसअघि २० र २३ वर्ष उमेर समूहको खेलमा टिमको सफल नेतृत्व गरेका छन्।
अन्य प्रभावशाली खेलाडीमा चेल्सीबाट खेल्ने भिक्टर मोस, लिकेस्टरका केलेची इहानाचो र अहमद मुसा तथा आर्सेनलका एलेक्स ओबी प्रमुख छन्।
नाइजेरियाको बलियो पक्ष दरिलो मिडफिल्ड र आक्रामक शैली हो।
समूह चरणमा नाइजेरियाको भिडन्त क्रोएसिया, आइसल्यान्ड र अर्जेन्टिनासँग हुँदैछ। क्रोएसिया र आइसल्यान्डसँग राम्रो प्रदर्शन गर्न सके दोस्रो चरणमा उक्लिन सक्छ। यसअघि १९९४, १९९८ र २०१४ मा पनि नाइजेरिया दोस्रो चरण टेकिसकेको छ। यसपालि भने दोस्रो चरणबाट पनि माथि उक्लिने अपेक्षा गरिएको छ।
२) इजिप्ट

इजिप्टले यसपालि बहुप्रतीक्षित पुनरागमन गर्दैछ। सातपटक अफ्रिकी कप जितेर रेकर्ड राखेको इजिप्ट विश्वकपको ८४ वर्षीय इतिहासमा तीनचोटि १९३४, १९९० र २०१८ मा छनौट भएको छ।
कंगो, घाना र युगान्डालाई हराएर विश्वकप प्रवेश गरेको इजिप्टलाई हेक्टर कुपरले रुसको निम्ति तयार गरेको छ।
यो टिममा लिभरपुलका मोहम्मद सलेह स्टार खेलाडी हुन्। प्रिमियर लिगमा उनले सर्वाधिक गोल गरेका थिए। च्याम्पियन लिगका क्रममा रियल म्याड्रिडसँगको फाइनलमा भने उनी घाइते भए। अन्य स्टार खेलाडीमा आर्सेनलका मोहम्मद एल्नी र अमहद हेगाजी छन्।
स्टार खेलाडीको उपस्थितिमा कमजोर देखिए पनि साझेदारी र डिफेन्समा इजिप्टलाई बलियो मानिन्छ। समूह चरणमा उरुग्वे, रुस र साउदी अरबसँग भिड्दैछ।
३) ट्युनिसिया

ट्युनिसियाले विश्वकप खेल्न लागेको यो पाँचौंपटक हो। यसअघि १९७८, १९९८, २००२ र २००६ को विश्वकप खेलेको थियो।
नबिल माल्यूलको प्रशिक्षणमा विश्वकप खेल्न लागेको यो टिम गिनी, लिबिया र कंगोलाई हराउँदै छनौट भएको हो।
अन्य अफ्रिकी मुलुकमा एक वा दुई जना भए पनि यस्ता अनुभवी खेलाडी छन्, जसले पाँच ठूला युरोपेली लिग खेलिसके। ट्युनियासँग यस्ता खेलाडीको अभाव छ। उनीहरूले अहिले तल्लो श्रेणीका लिगको मात्र अनुभव बटुलेका छन्। यसमा सैयफ इडिन, वाहबी काज्री प्रमुख छन्। काज्रीले २४ लिग खेलमा ९ गोल गरेका थिए।
समूह चरणमा ट्युनिसियाको भिडन्त इङ्ल्यान्ड, बेल्जियम र पनामासँग हुँदैछ। प्रतिद्वन्द्वी टिमको खेल इतिहास हेर्दा ट्युनिसियाले समूह चरणबाट अगाडि बढ्नै ठूलै फड्को मार्नुपर्नेछ।
४) मोरक्को

यसअघि २० वर्षअघि विश्वकप खेलेको मोरक्कोले चारचोटि अफ्रिकी देशको प्रतिनिधित्व गरेको छ। सन् १९८६ को मोरक्को टिम विश्वकपमा दोस्रो चरण प्रवेश गर्ने पहिलो अफ्रिकी टिम थियो। यसपालि धेरै आशा गरिएको गाबोन, आइभोरी कोस्ट र मालीलाई हराएर मोरक्कोले विश्वकप यात्रा तय गरेको हो।
यो टिमका २३ खेलाडीमध्ये ६ जना मात्र मोरक्कामै जन्मेका हुन्। बाँकीको जन्म फ्रान्स, स्पेन र नेदरल्यान्डमा भएको हो। उनीहरूले मोरक्कोसँगको आफ्नो सम्बन्ध र सम्पर्क भने कायम राख्दै आएका छन्।
प्रमुख खेलाडीमा राष्ट्रिय टोलीका क्याप्टेन मेहदी बेनाटिया र बार्क बुसुफा छन्। बुसुफाले दुईचोटि बेज्यिन गोल्ड जुत्ता जितेका छन्। सन् २००६ मा उनी चेल्सी युवा टिममा थिए।
मोरक्कोको टिमले आफ्नो पहिलो खेलमा इरानसँग भिड्नुपर्नेछ। इरानलाई पराजित गरे त्यसपछि भिड्नुपर्ने टोली अझ सशक्त छन्– स्पेन र पोर्चुगल।
५) सेनेगल

सन् २००२ को आफ्नो पहिलो विश्वकपमा फ्रान्सलाई हराएर सेनेगलले सबैलाई चकित पारेको थियो। यो जितलाई निरन्तरता दिँदै ऊ क्वार्टर–फाइनलसम्म पुग्यो। विश्वकपको यो चरणसम्म पुग्ने सेनेगल दोस्रो अफ्रिकी टिम हो। त्यतिबेला टिमको नेतृत्व एलिऊ सिसेले गरेका थिए। यसपालि टिमको प्रशिक्षण उनैले गरेका छन्।
सेनेगलसँग युरोपेली लिग खेलिसकेकबा केही प्रतिभाशाली खेलाडी छन्। लिभरपुलमा आफ्नो प्रभावशाली उपस्थिति देखाएका सादियो मानेको नाम अग्रपंक्तिमा आउँछ।
समूह चरणमा सेनेगलको प्रतिस्पर्धा पोल्यान्ड, जापान र कोलम्बियासँग हुँदैछ।
(स्रोतः द कन्भरसेसन)