विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ।
आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ।
नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ।
आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती गायक, रचनाकार र अभिनेता रोबी विलियम्सले सांगितिक प्रस्तुती दिनेछन्।
उनलाई रसियन गायिका आइडा गारीफुलिनाले साथ दिनेछिन्। ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन्। विश्व फुटबल महासंघ (फिफा) ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक हुने जनाएको छ।
फिफा वरियताअनुसार विश्वकपमा सहभागी रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ।
रसिया फिफा वरियतामा ७० औं स्थानमा छ भने साउदी अरेबिया ६७ औं स्थानमा छ। सन् २००८ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनलसम्मको यात्रा नै रसियाको फुटबलमा अहिलेसम्मको उपलब्धि हो।
रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनोट भएको हो। साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागी भैसकेको छ।
विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाउँदैछन्। रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ।
प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी हुँदैछन्। विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै, उपविजेताले २८ मिलिनय डलर पाउनेछ।