रूसमा बिहीबारदेखि विश्वकप २०१८ सुरू हुँदैछ। विश्वकप खेल्ने ३२ राष्ट्रमध्ये अधिकांश देशका खेलाडी रुस पुगिसकेका छन्।
फुटबल खेलाडी प्रायः छरिता हुन्छन्। गोलकिपरहरू अलिक ठूलो ज्यान भए पनि अरू स्थानमा खेल्ने खेलाडीको छरितो जिउ हुन्छ।
यसपालि विश्वकपमा इंग्ल्याण्डको कप्तानी सम्हालेका फास्ट स्ट्राइकर ह्यारी केन भने आश्चार्यजनक रुपमा प्रतियोगिताकै सबैभन्दा बढी तौल (हेभीवेट) भएका खेलाडीमध्ये भएको खुलेको छ।
फिफाले सार्वजनिक गरेको खेलाडीको व्यक्तिगत विवरणअनुसार ९८ किलोका केन दोस्रो भारी खेलाडी हुन्।
सबैभन्दा भारी खेलाडी पानामाका डिफेन्डर रोमन टोरेस हुन्। उनी ९९किलोका छन्। इंग्ल्याण्डकै डिफेन्डर ह्यारी मेग्वेयर, साउदी अरेबियाका गोलकिपर अब्दुल्लाह अल्मुयफ, डेनमार्कका डिफेन्डर यानिक भेस्टरगार्डको तौल ९८ किलो छ।
दक्षिण कोरियाका स्ट्राइकर किम सिन उक ९७ किलोका छन् भने इंग्ल्याण्डका गोलकिपर ज्याक बटलेन्ड र क्रोएसियाका गोलकिपर लभ्रे कालिनिच ९६ किलोका छन्।
फ्रान्सका गोलपिकर अल्फोन्जे एरिओला र इजिप्टका डिफेन्डर अहमद हेगाजीको तौल ९५ किलो छ।
९० केजीमाथि तौल भएका अन्य खेलाडीमा बेल्जियमका स्ट्राइकर रोमेलो लुकाकु (९४ केजी), जर्मनीका गोलकिपर म्यानुअल नोयर (९३ केजी) छन्।