दाङको तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा स्यानी चौधरी निर्वाचित भएकी छन्। नेकपा एमालेकी उम्मेदवार चौधरीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राना मगरलाई पराजित गरिन्।
बुधबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार चौधरीले ३०५९७ मत ल्याइन् भने राना मगरले २१०६५ मत पाए।
तुलसीपुरको उपमेयर निर्वाचित हुँदा स्यानी चौधरी ५० वर्षकी भएकी छन्। उपमेयरसम्म आइपुग्न उनले ५० वर्षमा निकै उखाडबखाडपूर्ण यात्रा पार गरेकी छन्।
स्यानीलाई आफू उम्मेदवार बन्छु भन्ने कुरा वैशाख पहिलो सातासम्म कुनै अनुमान नै थिएन।
उनी नेकपा एमालेको संगठित सदस्य पनि थिइनन्। एमालेले स्यानीसहित अन्य केही महिलाको नाम पनि सम्भावित उपमेयरको उम्मेदवारको रूपमा सिफारिस गरेको थियो। राजनीतिभन्दा पनि स्यानीलाई सामाजिक कार्यमै बढी रूची छ। नाम सिफारिस गर्नु पहिला पनि स्यानीले कसैलाई खोजेकी होइनन्।
उनलाई खोज्दै एमालेहरू आफैं स्यानीकहाँ पुगेका थिए। नाम सिफारिस भइसके पनि स्यानीले कसैलाई मलाई टिकट दिनुपर्छ भनेर लबिङ गरिनन्। उम्मेदवार बन्ने चासो नै नराखे पनि एमालेका नेता जब वैशाख १२ गते मनोनयन दर्ताको समय नजिक आउन थाल्यो फेरि स्यानीकहाँ उम्मेदवार बनिदिनु पर्यो भनेर आफैं पुगे।
स्यानीले नेताहरूलाई तत्काल निर्णय दिन सकिनन्। म सोचेर जवाफ दिन्छु भनिन्। त्यसपछि भने स्यानीलाई हुन्छ भनौं कि हुन्न भनौं भयो। आफूले विश्वास गर्ने पत्रकारदेखि सामाजिक क्षेत्रमा काम गर्ने दिदी-बहिनीदेखि फरक पार्टीमा आस्था राख्ने केही नेताहरूको राय लिइन्। सबैले हरियो झन्डा देखाएपछि स्यानीले विश्वासका साथ ठूलो उडान भर्ने निर्णय गरिन्। उपमेयरको चुनाव लड्ने निधो गरिन्।
‘मकहाँ उपमेयरमा उम्मेदवार बन्नु पर्यो भनेर नेताहरू आएपछि निकै सकस भयो,’ स्यानीले भनिन्, ‘के गरूँ भने दुई रातसम्म निदाउन सकिनँ। मलाई निर्णय गर्न यत्ति गाह्रो जीवनमा कहिल्यै भएको थिएन।’
स्यानीमा ठूलो चिन्ताको विषय थियो- उपमेयरमा जितिहालें भने यी बालबालिकाको रेखदेख कसले गरिदेला? स्यानीले चलाएको ‘दिदीघर’मा अहिले पनि बालबालिकाहरू सहारा लिएर बसेका छन्।
अर्कोतर्फ स्यानीका हातमा अमेरिकासहित अरू देशमा पनि जान-आउन मल्टिपल भिसा थियो।
‘सबैभन्दा चिन्ता भनेको राजनीतिमा लाग्दा मेरो नाम बदनाम हुने त हैन भन्ने थियो,’ स्यानीले भनिन्, ‘म त सफा मन चित्त भएर जनताको सेवा गर्न नै जाने हो। आरामको जिन्दगी जिउने/गाडी घोडा चढ्ने वा कमाउने कल्पना मेरो मानसपटलमा छँदै छैन।’
एमाले नेताहरूले स्यानीलाई उम्मेदवारी दिन जोड गर्नुका पछाडि केही स्पष्ट कारण थिए।
स्यानीले सामाजिक क्षेत्रमा काम गरेर राम्रो छवि बनाएकी थिइन्। स्यानीलाई टिकट दिँदा एमालेलाई दोहोरो फाइदा थियो। एकातिर उनी आममहिला थिइन् भने अर्कातिर थारू समुदायकी। तुलसीपुरमा थारूको समुदायको उल्लेख्य बसोबास छ।
उपमहानगरपालिकाले पनि पछिल्लो एक वर्षयता असहाय बालबालिका राख्ने जिम्मा स्यानीलाई नै दिएको छ।
स्यानीले नेपाली कांग्रेसकी नेतृ सुष्मा लामिछाने गिरीको लागि भनेर केही समयदेखि नै खुत्रुकेमा हरेक महिना रकम जम्मा गर्दै आएकी थिइन्। गिरी पनि महिला अधिकारकर्मी तथा समाजिक अभियन्ता हुन्। दुर्भाग्य उनले त्यसरी जम्मा गरेको रकम गिरीलाई दिन पाइनन्। गिरी कांग्रेसबाट उम्मेदवार नै हुन पाइनन्।
‘मैले त सुष्मा दिदीको लागि खुत्रुकेमा हरेक महिना रकम जम्मा गर्दै आएकी थिएँ,’ उनले थपिन्, ‘उहाँले टिकट नपाएपछि यसपालि त्यो खुत्रुके फोडेर हेर्दा बीस हजार जम्मा भएको रहेछ। मैले त्यसलाई आफैं चुनावमा खर्च गर्नु पर्यो।’
सुष्मालाई स्यानी एक आदर्श नेता ठान्छिन्।
‘सुष्मा दिदी चुनाव लडेको भए म चुनाव नै लड्दिनँ थिएँ,’ स्यानीले भनिन्, ‘उहाँको सम्भावना सकिएपछि उहाँलाई पनि सोधेर मैदानमा उत्रिएकी हुँ।’
सुष्माको चर्चा २०७४ सालमा पनि राम्रो थियो। उनका आफन्त नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले मेयरमा टिकट पाएपछि एकै घर परिवारबाट नदिने निर्णयले सुष्माले उपमेयरको उम्मेदवार बन्न पाइनन्। उनको हकमा यसपालि पनि त्यस्तै भयो। फेरि गेहेन्द्र उम्मेदवार बनेपछि सुष्मा चुप लाग्नुपर्ने अवस्था आयो।
चुनावी प्रचारका क्रममा पनि स्यानीले ठाउँ-ठाउँमा सुष्माको नाम लिइरहन्थिन्। यसअघि पनि विभिन्न सामाजिक संस्थामा काम गरेकी स्यानी गाउँ-गाउँमा समूह बनाउँदै हिँडेकी थिइन्। त्यतिखेर उनी सर्ट/टिसर्ट र पाइन्ट लगाएर हिँड्थिन्। यसपालि उनी कुर्ता सुरूवाल लगाएर चुनावी प्रचारमा हिँडिन्।
‘कतिले समूह बनाउन आउँदा पाइन्ट टिसर्ट लगाएर आउने तपाईं त्यही स्यानी हो कि होइन भनेर सोध्नुभयो,’ स्यानीले भनिन्, ‘म त्यही स्यानी हो भनेपछि गाउँघरका महिला दिदीबहिनीले अंगालो मार्दै भोट दिने प्रतिवद्धता जाहेर गर्नुभयो।’
आफैंले कमाएर बनाएको घरमा स्यानीले असहाय बालबालिकाको लागि ‘दिदीघर’ नामक संस्था सञ्चालन गर्दै आएकी छन्। अहिले दिदीघरमा २१ जना बालबालिका छन्। उनीहरूको शिक्षा-दिक्षाको जिम्मा स्यानीले लिएकी छन्। ती सबै बालबालिकाकी ‘साझा आमा’ स्यानी हुन्।
उनको जन्म गरिब थारू परिवारमा भयो। तर, कसरी-कसरी उनले सानैबाट ठूलो सपना देख्न सिकिन्।
तुलसीपुर उपमहानगरपालिका-१३, फूलबारीस्थित गरिब र अशिक्षित परिवारमा जन्मेकी उनलाई पढ्ने खुब सोख थियो। उनी घरको सिकुवामा बसेर गाउँभरका केटाहरू स्कुल गएको हेरिरहन्थिन्। काँधमा झोला भिरेर स्कुल गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो।
उनको परिवारमा भने छोरीको के कुरा, छोराहरू नै स्कुल जान्थेनन्। उनका एक दिदी र तीन दाजुभाइ छन्। कसैले पढेका छैनन्। एकदिन उनकी दिदी स्कुल जाँदा आमाले खुट्टा सुन्निने गरी कुटिछन्। यही डरले पढ्न जानै छाडिन्।
उनी भने डराइनन्।
कति साहसी भने अम्मापुर विद्यालयमा एक्लै नाउँ लेखाउन गइन्।
मास्टरले नाउँ सोधे। उनलाई थाहा थिएन। उनी अलमलिइन्, 'खोइ, घरमा त सबै स्यानी भनेर बोलाउँछन्।'
मास्टरले त्यही नाउँ लेखिदिए।
त्यसै दिनबाट उनको नाउँ रह्यो- स्यानी चौधरी।
स्कुल जान थालेपछि उनले घरमा खुब खप्की खाइन्। कुटाइ पनि सहिन्, तर हार खाइनन्।
उनले स्कुल जाने एउटा जुक्ति लगाइन्। अरूले नचिनोस् भनेर उनी केटा बनेर स्कुल जान्थिन्। भर्ना हुनासाथ कपाल खौरिइन्। लंगौटी लगाइन्। दुई कक्षा पुग्दासम्म उनी केटी हुन् भनेर कसैले सुइँको पाएनन्।
‘कपाल काटेर लंगौटी लगाएपछि म केटाजस्तै देखिएँ। कसैले चिन्दै चिनेनन्,' स्यानीले सम्झिइन्, 'म केटाहरूसँगै बस्थेँ। केटाहरूसँगै खेल्थेँ।’
दुई कक्षा पुगेपछि भने स्यानी केटी हुन् भनेर अन्य समुदायका केटीहरूले चाल पाए। उनीहरूले नै केटाजस्तो लंगौटी नलगाउन र कपाल नकाट्न आग्रह गरे।
स्कुल जान थालेको झन्डै दुई वर्षपछि स्यानी पहिलोपटक आफ्नै भेषमा कक्षाकोठा छिरिन्।
यता छोरी पढ्न गई भनेर घरमा दिनकै रडाको हुन्थ्यो। स्कुलबाट थाकेर आउँदा पनि एक अम्खोरा पानी खुवाउने कोही हुन्थेन। काम छाडेर बरालिएर हिँडी भनेर सबैले गाली गरे। कुटे।
‘म घाँस काट्न जाँदा छिट्नीमा किताब लुकाएर लैजान्थेँ। मकैबारीमा बसेर पढ्दा-पढ्दै कतिपटक घरकाले लखेटेका छन्,’ चौधरीले भनिन्, ‘घाँस काट्न जाँदा पनि किताब लगेकी त छैन भनेर हेर्थे।’
किताब लिएर गए घाँस ल्याउन ढिला गर्छे भन्ने घरकालाई चिन्ता हुन्थ्यो।
कक्षा ४ पुगेपछि उनलाई पढाइ छाड्न धेरै दबाब आयो। स्यानीले भने सुने-नसुन्यै गरिन्। उनका जेठा दाजु झोंक्किएर देउखुरी बसाइँ सरे। यसको दोष उनकै थाप्लोमा थोपरियो।
माइला दाइले भने सहयोग नै गरे। उनी गाउँघर डुलेर कुखुरा किन्थे र बजार लगेर बेच्थे। बजार जाँदा स्यानीको निम्ति सुटुक्क कापीकलम किनेर ल्याइदिन्थे।
अम्मापुर स्कुलमा कक्षा ४ भन्दा बढी पढ्ने सुविधा थिएन। योभन्दा ठूलो कक्षा पढ्न टाढाको रनियापुर जानुपर्थ्यो। घरकाले जान दिने कुरै भएन, रोकिनु स्यानीको स्वभावै थिएन।
उनी रनियापुर गएर पढ्न थालिन्। घरको यातना कम हुँदै गयो। गाली भने रोकिएन।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरूमा स्यानी जहिल्यै पहिलो वा दोस्रो हुन्थिन्। त्यसैबाट प्राप्त पुरस्कारले उनी पढ्ने खर्च जोहो गर्थिन्। त्यति बेला सरकारी स्कुलमा पनि मासिक शुल्क तिर्नुपर्थ्यो। कहिलेकाहीँ आमाले बुनेको गुन्द्री र पटकी (चटकी) चोरेर पनि स्कुलको शुल्क तिरिन्।
स्यानी आफूले चोरेका सामान हेडसरलाई दिन्थिन्। हेडसर त्यसबापत् शुल्क तिरिदिन्थे।
रनियापुरमा सात कक्षासम्म पढेपछि उनलाई फेरि अर्को स्कुल जानुपर्ने भयो। त्यहाँ माध्यमिक पढाइ हुन्थेन। उनी अमर मावि उररहीमा आठ कक्षा भर्ना भइन्। स्कुल आउजाउ गर्न दैनिक डेढ-दुई घन्टा पैदल हिँड्नुपर्थ्यो। बाटोमा बबई नदी तर्नुपर्थ्यो, अहिलेजस्तो पुल थिएन। सर्टले किताब टाउकोमा बाँधेर पौडी खेल्दै नदी तर्ने गरेको उनी बताउँछिन्।
'बाढी आउँदा पनि स्कुल जान जीवन दाउमा राखेर नदीमा हेलिन्थें,' उनले भनिन्, ‘भिजेकै कपडामा कक्षाकोठा पुग्थें। दिनभरि बस्दा कपडा पूरै गनाउने।’
यसरी स्कुल आउँदा-जाँदा बर्खे भेल तर्दातर्दै स्यानीले मज्जाले पौडी खेल्न सिकिन्। जस्तोसुकै विपत् सामना गर्ने शक्ति पनि पाइन्।
‘म आज जे पनि गर्न सक्छु। मैले गर्न नसक्ने केही छैन जस्तो लाग्छ,’ स्यानीले भनिन्।
२०४७ सालमा स्यानीले अमर मावि उरहरीबाट एसएलसी पास गरिन्। पश्चिम दाङमा थारू समुदायबाट एसएसली पास गर्ने उनी पहिलो हुन्। यो खबरले चारैतिर चर्चा पायो। उनलाई तुलसीपुरको रक्षा चौरस्थित राप्ती आँखा अस्पताल र ब्याकवार्ड एजुकेसन सोसाइटी (बेश) बाट जागिरको प्रस्ताव आयो।
स्यानी तुलसीपुरको राप्ती बबई क्याम्पस भर्ना भएकी थिइन्। आँखा अस्पताल उनको क्याम्पसबाट ८/९ किलोमिटर दूरीमा थियो। बेशको कार्यालय भने तुलसीपुर बजारमै थियो। उनले क्याम्पस पायक पर्ने बेश रोजिन्। उनी दिनभरि कलेज पढ्थिन्, राति गाउँका अशिक्षित महिलालाई पढाउँथिन्।
उनले तुलसीपुरबाट राजनीति शास्त्रमा बिए र काठमाडौंबाट समाजशास्त्रमा एमए गरिन्। आँखा अस्पतालमा काम गर्न नगए पनि स्यानीको संघर्षबाट प्रभावित भएर अस्पतालमा कार्यरत एक डेनिस चिकित्सकले उनलाई जापान जाने भिसालगायत सम्पूर्ण चाँजो मिलाइदिइन्।
स्यानी दुई वर्ष जापान बसिन्। त्यहाँको कलेजमा प्रथम भइन्। आज उनी नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिन जापान, अमेरिका गइरहन्छिन्। नेपाली, थारू, जापानी र अंग्रेजी गरी चार भाषामा फर्रर कुरा गर्न सक्छिन्।
जापानबाट फर्केपछि स्यानीले गाउँमा आमाबाबुका लागि एक लाख हालेर एक बिगाहा जग्गा किनिदिइन्। तुलसीपुर- ६, डुम्रीगाउँको आफ्नो घरबास भने २०६० सालमा जोडेकी हुन्। त्यहीँ उनी अनाथ बालबालिकालाई आश्रय दिइरहेकी छन्।