वीरगन्जको अलखिया रोडमा मंगलबार साँझ दुई जना मजदुर भेटिए। उनीहरूलाई महानगरपालिकाको चुनावबारे चासो छ।
ठेलामा बसेर काम पर्खिरहेका वडा नम्बर ३ का मतदाता अशोक सराफ र वडा नम्बर ४ का मतदाता मल्लु गोसाईले वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहलाई मतदान गर्ने बताए। आफूहरू अर्कै पार्टीको समर्थक भए पनि यसपालि भोट राजेशमानलाई दिने उनीहरूले बताए।
राजेशमान राजनीतिक मान्छे भएको र मेयरमा उनका प्रतिस्पर्धी तथा निवर्तमान मेयर विजय सरावगी व्यापारी भएकाले आफूहरू राजेशमानकै पक्षमा रहेको उनीहरूले बताए।
बुधबार बिहान माइस्थानमा तीन जना युवा भेटिए। उनीहरू वडा नम्बर १० र ५ का थिए। उनीहरूको आफ्नै व्यवसाय छ। व्यवसायबारे भने खुलेर बताउन चाहेनन्। न त आफ्नो नाम नै खुलाउन चाहे। उनीहरूले सरावगीलाई मत दिने बताए। सरावगीको पाँचवर्षे कार्यकालमा कुनै उद्योगी-व्यवसायीले दुःख नपाएको उनीहरूको अनुभव छ।
सरावगी आफैं वीरगन्जका व्यवसायी हुन्। अघिल्लो पटक मात्र उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम (हालको जसपा) बाट चुनाव लडेर मेयर निर्वाचित भएका थिए। यसपालि उनी एमाले प्रवेश गरेर फेरि मेयरमा उठेका छन्। सरावगीलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन छ।
अघिल्लो पटक राष्ट्रिय जनता पार्टी (राजपा) बाट मेयर लडेर तेस्रो बनेका राजेशमान यसपालि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट मेयरमा उठेका छन्। उनलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाको समर्थन छ।
वीरगन्जमा यसपालि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ। यो निर्वाचनमा कसले बाजी मार्ला?
यो प्रश्नको उत्तर खोज्न हामीले तीन दिन वीरगन्ज महानगरका ३२ वडामध्ये २७ वडाका विभिन्न टोल र बस्ती पुगेर १७० जना मतदातासँग प्रत्यक्ष कुराकानी गरेका छौं।
उनीहरूले कसलाई भोट दिन्छन् र किन भनेर सोधेका छौं।
यसबाहेक वीरगन्जमा गत चुनावमा पार्टीहरूले ल्याएको मत संख्या र यसपालिको जातीय क्लस्टरको विषय पनि हामीले विश्लेषण गरेका छौं।
यी तीनै कुरालाई आधार मान्दा वीरगन्जको प्रतिस्पर्धामा गठबन्धनका उम्मेदवार राजेशमान अघि देखिन्छन् भने उनीपछि एमाले उम्मेदवार सरावगी छन्। त्यसपछि राप्रपाका उम्मेदवार गिरीश गिरी देखिन्छन्।
हामीले कुराकानी गरेका एक सय ७० मध्ये ७७ जना अर्थात् ४५ प्रतिशत मतदाताले राजेशमानलाई मत दिन्छु भनेर खुलेका छन्। उनीहरूमध्ये दस जनाले अघिल्लो निर्वाचनमा पनि उनैलाई मत दिएको बताए।
२७ जनाले अघिल्लो पटक सरावगीलाई मत हालेका रहेछन्। पार्टीगत आबद्धताका कारण अघिल्लो पटक उनलाई मत दिएको भए पनि यसपालि जसपाबाट राजेशमान उठेकाले उनलाई मत दिने उनीहरूले बताए।
२३ जनाले आफू कांग्रेस भएको तर गठबन्धनको उम्मेदवार भएकाले राजेशमानलाई मत दिने बताए। पहिलो पटक मतदान गर्ने तयारीमा रहेका आठ जना पनि राजेशमानको पक्षमा खुलेका थिए। चार जनाले आफू माओवादी पक्षधर भए पनि गठबन्धनकै पक्षमा मत दिने बताए। एक जनाले भने आफू एमाले भएको तर राजेशमानलाई मत दिने बताए।
केही मतदाताले भने आफूले विगतमा कसलाई मत दिएको भनेर खुलाउन चाहेनन्।
सरावगीको पक्षमा ३६ जनाले मत दिने बताए। उनलाई मत दिनेमध्ये १५ जनाले विगतमा पनि एमालेलाई मत दिएको बताएका छन्।
आफूहरू कांग्रेस भए पनि पार्टीको उम्मेदवार नभएका कारण सरावगीलाई भोट दिनेहरू पाँच जना भेटिए। वडा नम्बर १० का एक कांग्रेस मतदाताले गठबन्धन गर्नासाथ कांग्रेस कार्यकर्ताले भोट दिन्छन् भन्ने मान्यता तोड्न पनि सरावगीलाई जिताउन जरूरी रहेको बताए।
सरावगीलाई भोट दिन्छु भन्नेहरूमध्ये पाँच जना नयाँ मतदाता हुन्। त्यस्तै चार जना लोसपा पक्षधर हन्। पहिला पनि सरावगीलाई भोट दिएका कारण दिन्छु भन्नेहरू तीन जना छन्।
राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीलाई मत दिन्छु भन्ने १४ जना मतदाता भेटिए। उनीहरूमध्ये पाँच जना कांग्रेसका मतदाता छन्।
हामीले कुरा गरेमध्ये ४१ जनाले कसलाई मत दिने भन्नेबारे खुलाउन चाहेनन्। उनीहरूमध्ये १४ जना कांग्रेस पक्षधर छन् भने दुई जना एमालेनिकट छन्। त्यस्तै सात जना नयाँ मतदाताले यसबारे बोलेनन्।
यसपालि राजेशमान र सरावगीमध्ये कसले जित्छ भन्नेमा उम्मेदवारी नदिएको कांग्रेसको मत निर्णायक हुनेछ। किनभने वीरगन्ज महानगरमा कांग्रेसको ठूलो प्रभाव छ। गत निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत जोड्दा कांग्रेसले सबभन्दा धेरै ल्याएको थियो भने मेयरको चुनावमा पनि कांग्रेसले दोस्रो धेरै मत ल्याएको थियो।
कांग्रेसका मतदातासँग कुरा गर्दा उनीहरूको मत यसपालि सबै गठबन्धनका पक्षमा जाँदैन भन्ने देखिन्छ। तर अरू उम्मेदवारहरूमा पनि उक्त मत केही मात्रामा बाँडिनेछ।
हामीले कुरा गरेका एक सय ७० मतदातामध्ये ४७ जनाले अघिल्लो पटक कांग्रेसलाई मत हालेको बताए। तीमध्ये २३ जनाले यसपालि राजेशमानलाई दिने, पाँच जनाले राप्रपाका गिरी र अरू पाँच जनाले एमालेका सरावगीलाई दिने बताए।
अब पाँच वर्षअघिको वीरगन्ज महानगरको पार्टीगत मत परिणामको विश्लेषण हेरौं।
गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) को तर्फबाट विजय सरावगीले १९ हजार ३ सय ९३ मत पाएका थिए। जबकि संघीय समाजवादी फोरमले वडामा १९ हजार ९६ मत ल्याएको थियो। त्यसैले उनले व्यक्तिगत रूपमा पार्टीको भन्दा करिब तीन सय मत मात्र तानेको देखिन्छ।
नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ९७ मत पाएका थिए। उनले वडामा आएको जति मत पनि पाउन सकेनन्। वीरगन्जका ३२ वडामा कांग्रेसले १९ हजार ९ सय ८२ मत पाएको थियो। वडामा कांग्रेसका उम्मेदवारले पाएको सबै मत द्विवेदीले पाएका भए गत चुनाव उनले नै जित्ने थिए।
तत्कालीन राजपा (हालको लोसपा) को तर्फबाट उम्मेदवार बनेका राजेशमान सिंहले त्यो बेला १२ हजार १ सय ६५ मत पाएका थिए। राजपाका वडाध्यक्षहरूले जम्मा ८ हजार ५ सय ७६ मत ल्याएका थिए। यसरी हेर्दा राजेशमानले पार्टीको भन्दा ३५ सय मत धेरै पाएका थिए।
तत्कालीन नेपाल लोकतान्त्रिक फोरम (कांग्रेसमा विलय भइसकेको) बाट उम्मेदवार बनेका विमल श्रीवास्तवले ८ हजार ७ सय १ मत पाएका थिए। उनले पार्टीको भन्दा १२ सय मत धेरै पाएका थिए। २०७४ को संघीय निर्वाचनमा तत्कालीन समाजवादी पार्टीको तर्फबाट वीरगन्जबाट निर्वाचित भए पनि उनी अहिले लोसपा सांसद छन्।
त्यो बेला एमालेका बसिरूद्दिन अन्सारीले ८ हजार ६ सय ८८ मत पाएका थिए। जबकि उनको पार्टीले वडामा ल्याएको सबै मत जोड्दा ११ हजार २ सय ७० थियो। चुनावको मुखमा एमाले प्रवेश गरेका बसिरूद्दिनले पार्टीको सबै मत पनि पाउन सकेका थिएनन्।
माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए। माओवादीले सबै वडामा गरी ३ हजार ७ सय २२ मत मात्रै पाएको थियो। अन्सारीले व्यक्तिगत रूपमा धेरै मत तानेको देखिन्छ।
पाँच वर्षअघिको मेयर चुनावको मत परिणाम हेर्ने हो भने पनि वीरगन्जमा कांग्रेस र जसपा लगभग बराबर मतदाता भएका सबभन्दा ठूला दल हुन्। यी दुवै दल र माओवादीसहितको गठबन्धनले राजेशमानलाई उठाएको छ।
त्यसैले राजेशमान यसपालिको मेयर चुनावमा बलियो देखिएका हुन्। हामीले २७ वटा वडामा मतदाताहरूसँग कुरा गर्दा पनि दलहरूको यही तागत यसपालिको चुनावमा पनि प्रतिबिम्वित हुने देखिएको हो।
यसबाहेक, गत चुनावको मत विश्लेषण गर्दा पनि व्यक्तिगत मत तान्न सक्ने क्षमता सरावगीको भन्दा राजेशमानको धेरै देखिन्छ। पाँच वर्ष मेयर चलाइसकेका सरावगीको मत यसपालि उनले गरेका कामले बढ्ने खासै देखिँदैन। बरू पहिलो पटक मेयर बन्ने सम्भावना भएका राजेशमानले नै थप व्यक्तिगत मत तान्न सक्ने धेरै देखिन्छ।
सरावगीका लागि एउटा राम्रो पक्ष के भने, उनी भर्खरै प्रवेश गरेको एमालेको स्थिति यसपालि वीरगन्जमा पहिलेभन्दा सुधारिएको छ। उसले पार्टीमा धेरै नयाँ मान्छे भित्र्याएको छ। मेयर र बीस वडाध्यक्ष उम्मेदवारहरू नै नवप्रवेशी हुन्। उसले २०७४ को निर्वाचनमा पाँच वडामा मात्रै जितेको थियो। त्यो बेला वडाध्यक्ष जितेका अरू पार्टीका ६ जनालाई पनि यसपालि आफ्नो पार्टी प्रवेश गराएर वडामै निर्वाचन लडाएको छ। यसले एमालेलाई पक्कै फाइदा गर्नेछ।
तर सरावगीले जित्न एमालेको तागत र यसपालि वीरगन्जमा थप कमजोर देखिएको लोसपाको साथले मात्र पुग्दैन। कांग्रेसका धेरै असन्तुष्ट मतदाता उनले तान्नु पर्नेछ।
कांग्रेसका मतदातालाई अन्य पार्टीमा भोट हाल्नबाट रोक्न जसपाले प्रयास गरिरहेको छ। एमाले कार्यकर्ताहरू पनि असन्तुष्ट कांग्रेसी मतदातालाई तान्ने दाउमा छन्। राप्रपाका गिरीश गिरीले पनि तान्न खोज्ने कांग्रेसीकै मत हो।
तर हामीले कुरा गरेका कांग्रेसी मतदातालाई आधार मान्ने हो भने कांग्रेसको ठूलो मत सरावगीले तान्न सकेका छैनन्, गठबन्धनका उम्मेदवार राजेशमानले नै ठूलो संख्यामा सो मत पाउने छन्।
हामीले सरावगी र राजेशमान दुवैलाई मन नपराउने मतदाता पनि भेट्यौं।
वडा नम्बर १३ का एक मतादाताले राजेशमानले 'दबंग' तरिकाले र सरावगीले पैसाको भरमा निर्वाचन जित्न खोजेको तर्क गरे। मुख्य सहरमा त्यस्ता केही मतदाता छन् जसले राजेशमान र सरावगीको विकल्प खोजेका छन्। दुईको विकल्प राप्रपाका उम्मेदवार गिरीश गिरी हुनसक्ने भए पनि उनी ढिलो मात्रै आएको उनीहरूको बुझाइ छ।
'कांग्रेसले उम्मेदावारी नै दिएन। उसले जित्ने ठाउँमा यसै अरूलाई छोड्यो। एमाले र लोसपा गठबन्धनको उम्मेदवार पनि पैसामा मतदाता किन्न खोज्छ। राजेशमान बाहुबली खालको छ,' एक कांग्रेस कार्यकर्ताले भने, 'यस्तो बेलामा बुद्धिजीवि छवि बनाएका गिरीश गिरी मतदाताको रोजाइमा पर्न सक्थे। तर उनी उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्रै आएका छन्। सामाजिक सञ्जाल नचलाउने धेरै मतदातालाई उनीबारे थाहा छैन।'
वीरगन्जको चुनावमा यहाँको जातीय क्लस्टर पनि महत्वपूर्ण फ्याक्टर हो। एक लाख २४ हजार मतदाता रहेको वीरगन्ज महानगरपालिकामा मुस्लिम मतदाता २५ हजारभन्दा धेरै छन्।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका इम्तियाज आलाम उपमेयरको उम्मेदवार छन्। मुस्लिम समुदायको भोट तान्न गठबन्धनलाई यसले धेरै सहज बनाउने छ। त्यसबाहेक वीरगन्जको मुस्लिम समुदायमा जसपा र माओवादीको पनि प्रभाव राम्रै छ।
यो महानगरमा यादव समुदायका १५ हजारको हाराहारीमा मतदाता छन् भने पहाडी समुदायको मत १२ हजारको हाराहारीमा छ। दसदेखि १२ हजार वनिया समुदायका छन्। मारवाडी समुदायको मत पाँच हजार छ। अरू अन्य समुदायका मतदाता छन्।
मारवाडी समुदायको झन्डै पाँच हजार मत सरावगीलाई एकलौटी जस्तै जानसक्ने सरावगी पक्षधर मतदाताको दाबी छ।
'सरावगीले आफूले सकेको काम गरेकै छन्। त्यसैले उहाँले फेरि पनि जित्नुपर्छ। अब त उहाँको अनुभवले पनि काम गर्छ,' सरावगी पक्षधर एक मतादाता भन्छन्, 'मारवाडी समुदायको सबै उहाँलाई जान्छ। मारवाडी मात्रै होइन, व्यापार-व्यवसाय गर्ने सबैको मत जान्छ।'
हामीले कुरा गर्दा उद्योगी-व्यवसायी अनि मुख्य बजारका बासिन्दाहरू धेरै सरावगीको पक्षमा देखिएका छन्। जो खुलेनन् उनीहरूमध्ये धेरैको मत पनि सरावगीलाई जान सक्छ। मुख्य बजारको मतको एउटा हिस्सा गिरीश गिरीलाई पनि जाने छ।
सँगै राजेशमानको एउटा जबरजस्त माहोल छ। उनलाई मत दिनेहरू हाक्काहाक्की भन्दिन्छन्। राजेशमान पक्षका मतदाताहरू सरावगी माथिल्लो वर्गका हुन् र उनले गरिबका पक्षमा केही काम गर्दैनन् भन्ने आरोप लगाउँछन्। २०५४ सालमा कांग्रेसको तर्फबाट वडा सदस्य जितेयता राजेशमानले चुनाव जितेका छैनन्। तर उनी जनतामाझ गइरहने भएकाले एकपटक जसरी पनि जिताउनै पर्ने वडा नम्बर १६ शिवशंकर यादवले बताए।
'राजेशमान नगरबासीका लागि भनेर लागिरहेको धेरै भयो। दुःखी गरिबलाई केही पर्यो भने तुरुन्तै पुग्छन्। त्यस्तो मानछेलाई जिताउनु पर्छ,' उनले भने, 'सधैंभरि उनलाई हराउन हुँदैन। यो उनको अन्तिम मौका हो।यसपटक पनि हारे भने राजनीति छोड्न सक्छन्। त्यसैले जिताउनै पर्छ।'
ठेलामा सामान बेच्ने, मजदुरी गर्ने अधिकांशले सरावगीले गरिबहरूलाई वास्ता नगर्ने आरोप लगाए।
वीरगन्जको सडकमा ठेलामा चिया बेच्ने वडा नम्बर ४ की निर्मालादेवी गुप्ताले सरावगीले गरिबलाई वास्ता नगर्ने बताइन्।
'राजेशमानले गरिबलाई आडभरोसा दिन्छन्, त्यसले हामीलाई हिम्मत आउँछ। त्यसैले उनको सम्भावना धेरै छ। चाहे देहात होस् चाहे टाउनमा होस्। राजेशमानकै सम्भावना देखेकी छु,' उनले भनिन्, 'भन्न त सबैले दिने भनेका छन्। मान्छेको धेरै भरोसा त हुँदैन। के हुन्छ, उपरवाला भगवान जानून्!'
वीरगन्ज वडा नम्बर १० मा कपडा पसल गरेका वडा नम्बर १९ का एक युवा लोसपा कार्यकर्ता हुन्। एमाले र लोसपाको तालमेल भएकाले उनी सरावगीलाई भोट दिनेमा छन्। तर उनी पनि यसपालि राजेशमानको माहोल छ भन्छन्।
'मैले त सरावगीलाई मत दिने हो, तर राजेशमानले जित्नेजस्तो देख्छु,' उनले भने।
सरावगीको कार्यकालबाट धेरै मतदाता खुसी देखिँदैनन्। उनले सुरूमा सरकारी सेवा-सुविधा नलिने प्रतिबद्धता जनाए पनि पछि आफैंले महँगो गाडी चढेको आरोप छ। उनले विकास निर्माणको कामसमेत गर्न नसकेको वडा नम्बर २४ का राकेश पटेलले बताए।
'अहिलेसम्म विकासको नाममा केही नगर्ने, सहरमा एउटा सार्वजनिक शौचालय छैन, फोहोर उत्तिकै छ। अहिले फेरि अर्को कार्यकाल चाहियो अरे,' उनले भने, 'वीरगन्जको मूल सडकको त हालत त्यस्तो छ भने गाउँको सडक कस्तो होला?'
चुनाव जितेपछि सहरबाहिरका गाउँमा सरावगी नआएको गुनासो पनि कतिपय मतदाताको छ।
वीरगन्ज वडा नम्बर २० अर्वतगञ्जका सनिक कुमार यादवले भने, 'राजेशमान चुनाव हारेर पनि धेरैपटक गाउँ आएका छन्। तर सरावगी भोट माग्न समेत आएका छैनन्। राजेशमान धेरैपटक चुनाव उठेर समेत हारेका छन्।'
पहिलोपटक मतदान गर्ने आफूजस्ता धेरैले राजेशमानलाई भोट दिने उनले बताए। 'हाम्रो गाउँमा केही पर्यो भने पनि तुरून्तै उनैले ध्यान दिन्छन्,' उनले भने।
यसरी वीरगन्जवासीलाई खाँचो पर्दा उभिन आइपुग्ने र सकेजति मद्दत गर्न तयार हुने 'दबंग' शैलीले पनि राजेशमानलाई आममतदाताले मन पराएका छन्। अघिल्लो चुनावमा आफ्नो पार्टीले ल्याएकोभन्दा ३ हजार ५ सय बढी मत ल्याउनुको कारण यही हो।
जसरी राजेशमानलाई भोट दिन्छु भन्ने छन् त्यसैगरी उनीलाई राम्रो नमान्ने पनि छन्।
'गुण्डाराज चलाउने हो भने राजेशमानलाई मत दिनुपर्छ। मुख्य कुरा हामीले कस्तो वीरगन्ज बनाउन खोजेको हो भन्ने हो,' वडा नम्बर २४ का जंगबहादुर प्रसादले भने, 'वीरगन्जलाई व्यवस्थित र सुरक्षित सहर बनाउने हो भने सरावगीलाई मत दिनुपर्छ।'
राजेशमान वीरगन्जमा सबभन्दा धेरै पटक दल परिवर्तन गर्ने नेता हुन्। २०५४ सालमा नेपाली कांग्रेसबाट वडा सदस्य जितेका राजेशमान यो अवधिमा राप्रपा, रामसपा, राजपा, जसपा, लोसपा हुँदै फेरि जसपा आइपुगेका छन्।
यसपालिको चुनावमा पनि उनी सुरूमा एमालेमा जान चाहेका थिए। एमालेले सरावगीलाई भित्र्याएपछि उनी जसपा आएका हुन्।
वडा नम्बर २४ मा भेटिएका एक कांग्रेस कार्यकर्ताले उनलाई व्यंग्य गर्दै भोट दिने बताए।
'म त कांग्रेस हो। राजेशमान दाइ पनि पहिला कांग्रेस नै हो,' उनले भने, 'नगरपालिकाको सबभन्दा सानो पदमा उठ्दा कांग्रेसबाट जित्नुभएको हो दाइले। अब सबभन्दा ठूलो पदमा जितेपछि पनि कांग्रेसमा आउनुहुन्छ होला।'