अघिल्लो शुक्रबार केही टुर गाइडहरुसित एउटा टेबलमा थिएँ। कुरैकुरामा एउटाले भन्यो, ‘केटा वा केटी जे भए पनि मलाई केही फरक पर्दैन। आखिर गेस्ट भनेको गेस्ट नै हो।’
प्रायःलै उस्तै धारणा राखे।
‘केटीहरुलाई घुमाउँदा तुलनात्मक रुपमा मलाई बढी सहजमात्र होइन, रमाइलो पनि लाग्छ। त्यसमा अर्कै खालको म्याचिङ र हार्मोनी हुन्छ’, मैले त्यसो भन्दा उनीहरुले अन्यथा अर्थमा लिए। लिए लिउन्।
‘पक्कै पनि गेस्ट भनेको गेस्ट नै हो तर ऊ गेस्ट मात्र होइन, ऊ मान्छे पनि हो। र, ऊ खासमा मान्छे हो। म गेस्टसँग एउटा मेसिनजस्तो गाइड मात्र हुन सक्दिन। र, ऊबाट मैले ऊ मेसिनजस्तो गेस्ट मात्रै पनि अपेक्षा गर्दिनँ। र, गेस्टहरु पनि गाइडबाट त्यस्तै अपेक्षा गर्लान्। त्यसैले केटा वा केटी गेस्टमध्ये छान्न भनियो भने म केटी गेस्ट नै छान्छु’, मैले थपें।
यति भन्दै पछिल्लो तीन बर्षको मेरो टुर गाइडिङक्रममा भेटिएका केही स्त्री अनुभव सुरु गर्छु।
ललिदा। ऊ अमेरिकाबाट आएकी थिई। मैले उसलाई केवल काठमान्डु घुमाएको थिएँ। केवल एक दिन। छुट्टिने बेला उसले मलाई दुवै हातले कसिलो अँगालो मारी। निकै बेर छाडिन। उसले अंगालो पनि यसरी मारेकी थिई, मलाई छालाभन्दा निकै भित्रसम्म गहिरो स्पर्शको अनुभुति भएको थियो। ऊ एक्लै आएकी थिईन। उमेरले ठ्याक्कै ऊ भन्दा दोब्बर उमेरकी उसकी साथी नोर्मा पनि सँगै आएकी थिई।
मैले ललिदालाई बौद्धको एउटा रुफटप रेस्टुरेन्ट उक्लदै गर्दा चुम्बन गरेको थिएँ। ‘सिच्युएसन’ भन्छु। हामी भ¥याङ उक्लँदै थियौं। म अगाडि–अगाडि थिएँ। पछाडि फर्कें। उनीहरु केही सिँढी तलै रहेछन्। नोर्मालाई पछाडि पारेर ललिदा ओरालिए झैं गरी उक्ली। अलिकति पनि ग्याप नरहने गरी माथिल्लो सिँढीमा म र तल्लो सिँढीमा ऊ एक छिन टक्क अडियौं। उकालोले उसको स्वाँस्वाँ बढेको थियो। चिट्चिट् मसिना पसिनाहरु उसका निधारभरि थिए। मैले नोर्माकै अगाडि ललिदाको कानैनेर सुस्तरी भनेँ, ‘मे आई चुम्बन यु?’
‘यस’, त्यति भनेर ललिदाले आँखा चिम्ली। मैले उसको निधारमा चुम्बन गरिदिएँ।
‘सी इज चुम्बनेबल’, ललिदालाई देखाउँदै नोर्माले भनी।
‘यु आर चुम्बनेबल टु’, भन्दै मैले नोर्मालाई पनि चुम्बन गरिदिएँ। पछिल्लो चुम्बन भने नोर्माको चित्त नदुखोस् भनेर गरेको थिएँ।
त्यही दिन मैले जीवनमा पहिलो पटक त्यो शब्द सुनेको हुँ। त्यसपछि पनि मैले त्यो शब्द कहिल्यै सुनेको छैन कसैबाट। तर, पटक पटक त्यो शब्द मनभित्र गुञ्जिछ अनि म ललिदालाई सम्झन्छु।
त्यसअघिको कुरा हो, भक्तपुर घुमेर ठमेल आइपुगेपछि स्वीट्जरल्यान्डकी मोनिकाले मलाई भारी नै बोकाएझैं अंगालो मात्र गरिन, चुम्बन पनि गरी।
गाला जोडेर हावामा चुम्बन गर्नु त सामान्य नै हो। थुप्रै–थुप्रै पटक त्यसरी मलाई थुपै्र महिला गेस्टले चुम्बन गरेका छन्। तर, त्यो कुनै चुम्बन होइन। त्यो अलिकति खुसी, अलिकति हार्दिकता र अलिकति औपचारिकताको मिश्रण हो।
यहाँ चुम्बनको कुरा किन गरेको भने त्यो मनको उपहार हो। मनको उपहार उनीहरुले दिने टिप्सभन्दा असंख्य गुणा गहिरो हुन्छ, मनले बुझ्दा। खासगरी पश्चिमा देशहरुबाट नेपाल घुम्न आउनेहरु गाइडप्रति आफ्नो आन्तरिक सन्तुष्टिलाई त्यसरी पनि व्यक्त गर्दारहेछन्। त्यहाँ यौन वा आकर्षणको आवेग हुन्छ नै भन्ने चाहिँ हुँदैन।
तर, मेरै कर्मक्रममा कति यस्ता समयहरु पनि आए, जहाँ आकर्षण र आवेग उत्पन्न हुन्थ्यो तर पेशाको डोरीले मलाई सीमाभन्दा बाहिर जान दिँदैन थियो। त्यसैलाई भनिन्छ होला, पेशागत संयम। तर, यदाकदा स्थिति यस्तो पनि आउँदो रहेछ, छुटिसकेपछि आफ्नै अगाडि समुद्र आयो तर एक घुट्की पानी पनि नखाइ त्यो त्यसपछि कहिल्यै नभेटिने गरी गयो। त्यसपछि उत्पन्न हुने एउटा अन्त्यहिन थकथक क्या नमीठो!
अस्ट्रेलियाबाट आएकी थेसरा सुन्दरताको नमुना थिई। काठमाडौं आएपछिको पहिलो छाकले नै उसको पेट गडबड भएछ। छिनछिन रेस्टरुम चाहिने उसलाई। रुटिन जसरी सिटी गाइडिङ गर्नु भनेको गोरुले दाईं गर्नु जस्तै हो। रिङ्गटा लाग्ने गरी मियोलाई घुमेको घुम्यै गर्नु जस्तै हो। त्यसको फाइदा के भने जताततै चिनजान हुने। त्यसैले मैले रेस्टरुमकै कारणले उसलाई समस्या हुन दिइनँ। पसल, रेस्टुरेन्ट वा होटलहरुका रेस्टरुमहरुमा पनि उसलाई छिराइदिएँ।
बदलामा ऊ मसँग सम्मोहित भई। भईछ भनौं। किनभने ऊसँग छुट्टिएपछि जब म फ्ल्यासब्याकमा गएँ अनि पो थाहा पाएँ, ऊ मसँग कति धेरै नजिकिन खोजेकी थिई। ऊ विश्वविद्यलायको पढाई सकेर करिअर सुरु गर्नुअघि देशहरु घुम्न निस्केकी रहिछ।
शरीरको मादकता एउटा कुरा हो तर कहिलेकाहीँ विचार त्यसभन्दा झन् बढी मादक हुँदो रहेछ। पतिसँग बर्षौं पहिले पारपाचुके गरेकी अष्ट्रेलियाकी जेनी कति धेरै असल थिई भने ऊ पूर्व पतिलाई यतिका बर्षपछि पनि उत्ति नै माया गर्दै थिई। समस्या एउटै थियो, उनीहरुको मन मिलेन। भन्दै थिई, ‘माया गर्नु र मन मिल्नु फरक कुरा हुन्। सँगै बस्नु प्राविधिक कुरा हो तर माया त्यो भन्दा धेरै माथिको कुरा हो। माया छ भन्दैमा मन मिल्नु पर्छ भन्ने केही छैन।’
एक्लोपनको कुनै भाव र भावना उसमा मैले देखिनँ। यात्रालाई नै साथी बनाएपछि जीवनबाट एक्लोपन निकै ढाढा हुँदोरहेछ भन्ने जेनी र जेनीजस्ता थुप्रै डिभोर्सीलाई घुमाएपछि थाहा पाएँ मैले।
‘जमानामा कानभरी टप लाउँथेँ। अहिले किन हो त्यसमा मन छैन’, सन् १९७५ मा क्यानडाको टोरन्टोमा जन्मेकी करेनले व्याख्या गरी, ‘रहरहरु पनि समय, उमेर र परिस्थितिमा आधारित हुँदा रहेछन्। त्यसलाई तिमी फेसन पनि भन्न सक्छौ।’
पश्चिमतिर पहाडहरु अचल उभिइरहेका थिए तर बादलहरु तिनै पहाडका टुप्पाहरुसित नजिक–ढाटा भइरहेका थिए। बौद्धनाथको एउटा उचाइबाट हामी ती सबै हेरिरहेका थियौं।
‘म यतिका बर्षसम्म नेपालमै छु, पहाडजस्तै अचल। तर, तिमी बादलजस्तै चलायामान छौ। त्यसैले त क्यानडाबाट नेपालसम्म आइपुगेकी छौ’, ऊपटिट् थोरै नजिकिएर मैले भनें।
‘होइन, तिमी कसरी अचल हुन सक्छौ? तिमीले त मलाई स्वयम्भुबाट पाटन हुँदै यहाँ ल्याइसकेका छौं। यसपछि तिमीले मलाई पशुपति लैजाने भनेको होइन?’, उसले मेरो सातो लिउँला झै गरी भनी।
‘तिमीले ठिक भन्यौ। म तिमीहरुजस्ता अनेक देशका मान्छेसँग आफ्नै देश घुम्दै छु। यो एउटा विश्वयात्रा हो। अस्ति भर्खर म डेनिससँग थिएँ। त्यसअघि फ्रेन्चसँग। त्यसअघि अमेरिकनसँग। त्यसअघि डचसँग। त्यसअघि ...। यस्तै यस्तै। आफ्नै देशमा अरु देशका मान्छेसँग घुम्दा मलाई तिमीहरुकै देश पुगेजस्तो लाग्छ। तिमीहरुका जीवनका कथा तिमीहरुको देशको भूगोलभन्दा बढी महत्वपूर्ण हो। तिमीहरुको देशको संस्कृति, मनोविज्ञान र जीवनपद्धति भूगोलले होइन, तिमीहरुको व्यवहारबाट अझ नजिकबाट थाहा पाउन सकिन्छ। होइन त?’, मैले उसको आँखामा गहिरिएर अलि गहिरै कुरा गरें।
त्यसपछि मलाई उसले अझ गहिरो गरी हेर्दै भनी, ‘म बल्ल अहिले नेपालमा छु। तर मैले नेपाल आउनेबारे पछिल्लो एघार बर्षदेखि सोचेको थिएँ। यतिबेला साँच्चै मेरो सपना पुरा भएको छ।’
‘हो। साँच्चै तिम्रो सपना पुरा भएको छ। तिमीले सपना पुरा गर्न लामो समय प्रतिक्षा र धैर्य पनि ग¥यौ। र, अन्तिममा तिम्रो सपना पुरा भयो’, यति भन्दै मैले विषय मोडें, ‘तिमी के गछर््यौ? मेरो मतलब तिम्रो पेशा के हो?’
‘म हाइस्कुल टिचर हुँ। अंग्रेजी लिट्रेचर पढाउँछु’, उसले भनी।
‘यो एउटा सुन्दर र सम्मानित पेशा हो’, यति भन्दै मैले उसलाई हात दिएँ। हामी दुवैको हात टेवलको बीच भागमा वाफिइरहेको थुक्पाको कचौरामाथि मिलिरह्यो।
‘मेरो ड्याड बुचर (बगरे) हुनु हुन्थ्यो। ममा वकिल। उहाँहरुका तीन छोरी मात्र छन्। छोरा छैनन्। म तीन जनामध्ये बीचकी हुँ। अहिले मेरो दिदी र बहिनी दुवै विवाहित छन् र म सिंगल छु’, जीवनको पछिल्लो मोडसम्म ऊ आइपुगी।
‘अहिले तिमी सिंगल (एक्ली) छौ। यसको मलतब पहिले सिंगल थिइनौ?’, मैले अलिकति अड्किएर सोधें।
‘हो। म जीवनको पाँच बर्ष कसैसँग थिएँ। मेरो व्वाइफ्रेन्ड थियो। तर, म ती बर्षहरु भ्रममा रहेछु। सुरुका बर्षहरु उसलाई मैले आवरणमा मात्र चिनेको रहेछु। ऊ आवरणमा मायालु थियो। सहयोगी थियो। मानवीय थियो। त्यसलाई मैले वास्तविकता ठानें। तर, जब समय बित्दै गयो, त्यसपछि मैले थाहा पाएँ ऊ त स्वार्थको अर्को नाम रहेछ। मतलबी !’, एक छिन रोकिई ऊ। निशब्द ऊ भक्कानिन थालेकी थिई।
आफूलाई सम्हाल्दै थोरै हाँस्न खोजे झैं उसले भनी, ‘हो, म सिंगल छु। तर, म नेपालमा मात्र सिंगल छु। होइन भने र्यानकिन इन्टेलमा मसँग दुईटा कुकुर छन्। एउटाको नाम बिल्वोई हो भने अर्कोको पिय।’
क्यानडाको टोरन्टोमा जन्मे पनि अहिले ऊ नजिकैको र्यानकिन इन्टेलमा बस्छे।
उसको कुरा सुन्दा मलाई ऊ निकै साहित्यक लाग्यो।
‘तिमी त्यसै पनि अंग्रेजी साहित्यकी शिक्षक। त्यसमाथि तिम्रो कुरा सुन्दा तिमीमा लेख्ने बानी छ कि जस्तो लाग्यो। तिमी लेख्ने पनि गछर््यौ? जस्तो कि कविता, कथा आदि?’, मैले प्रश्न गरें।
‘अहिलेसम्म मेरा कुनै सिर्जना छापिएका छैनन्’, उसले कुटनीतिक उत्तर दिई।
‘त्यसको मतलब तिमीले लेखेकी छ्यौ। तर, नछापिएको मात्र हो?’
‘होइन। मैले लेखेकी पनि छैन। म पढ्दैछु। धेरैभन्दा धेरै।’
‘त्यसो भए तिमीले एक दिन राम्रो पुस्तक लेख्नेछौं’, मैले ठोकुवा गरें।
‘एक दिन। हो, एक दिन म अवश्य लेख्नेछु। पुस्तक मेरो सपना हो’, उसले आत्मविश्वासहित भनी।
‘तिमी अहिले टिचर छ्यौ। त्यो पनि तिम्रो सपना थियो?’, मैले सपनाबारे अर्को प्रश्न थपें।
‘पछिल्लो चार बर्षदेखि म टिचर छु। सानैदेखि टिचर हुने मेरो सपना थियो। तर, त्यसअघि म बुचर थिएँ। मैले ड्याडको त्यो पेशा खेल्दै हेर्दै उहाँसँगै सिकें। तीन बर्षअगाडि उहाँको मृत्यु भयो। उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो’, कहाँको कुरा कहाँ पुरयाएर ऊ भन्दै गई, ‘अहिले ममा अठहत्तर बर्षको हुनुहुन्छ। उहाँ क्यानडामा एक्लै बस्नु हुन्छ। र, म पनि क्यानडामै एक्लै बस्छु। तर, मसँग दुईटा कुकुर छन्। उनीहरु मेरा परिवार हुन्।’
‘कुकुरहरुका लागि समेत यति गहिरो मुटु भएकी तिमीले बच्चाबच्चीलाई कति प्रेम गर्छौ होला? के तिमीलाई बच्चा चाहिदैन?’, एक्ली एंकरलाई मैले सोधें।
उसले यति मात्र भनी, ‘सायद एक दिन।’ त्यसपछि उसले केही पनि थपिन।
अघिको तात्तातो थुक्पा कचौरामा सेलाइसकेको थियो। अघि ल्याएको चीसो लस्सीले आफ्नो कडा चिसोपन पनि गुमाइसकेको थियो। तर, ऊ क्यानडाको त्यस्तो चीसो ठाउँबाट आएकी थिई, जहाँको तापक्रम जाडो याममा माइनस चालिसदेखि पचास डिग्रीसम्म हुन्छ।
‘एउटा कुनै चीज तिमी सम्झन चाहन्नौं? त्यो के हो?’, मैले बसुरे प्रश्न गरें।
‘टोर्नाडो। म दश बर्षकी थिएँ। एक दिन टोरोन्टोमा टोर्नाडो आयो। टोर्नाडो बादलको भुमरीजस्तो आँधी हो। त्यसले हाम्रो घर र धेरै चीज बबार्द गरेको थियो’, उसले एक छिन पनि नसोची फटाफट भनी।
ब्वाई फ्रेन्डसँगको ब्रेकअप पनि अर्को एउटा त्यस्तै घटना लाग्छ उसलाई।
तर, उनीहरु दुवैले सहमतिमा उनीहरुको संयुक्त यात्रालाई टुँग्याएका थिए।
बौद्धबाट पशुपति जानुअघि मैले उसलाई सोधें, ‘खुला रुपमा शवलाई जलाएको तिमीले देखेकी छौ?’
त्यो उसको लागि आश्चर्य थियो। त्यसपछि हामी पशुपति गयौं। पािरपट्टिबाट आर्यघाटमा जलिरहेका शवहरुलाई हे¥यौं। हेरिरह्यौं। ठिक माथिपट्टि भक्तिसंगीत र नाचगान चलिरहेको थियो।
तल जलिरहेको शव र माथि संगीत। मैल भनें, ‘यो भन्दा सुन्दर तस्विर मैले आजसम्म कतै देखेको छैन। तर, मैले क्यामराले खिच्ने तस्बिरको कुरा गरेको होइन नि !’
‘हो, मैले तिम्रो भावना बुझिरहेकी छु’, उसले भनी।
‘म मेरा गेस्टलाई यस्तै नयाँ कुरा देखाउन चाहन्छु, जो उनीहरुले यसअघि कहिल्यै देखेका थिएनन्’, यति भनेर म चुप लागें। ऊ पनि चुप लागिरहेकी थिई।
‘करेन ! अघि भर्खर मैले भनेको थिएँ नि, म मेरा गेस्टलाई नयाँ चीज देखाउन चाहन्छु, हो, त्यो भनेको मृत्यु हो। मृत्यु !’, शुन्य र शान्त दुवै वातावरणमा अर्कै ध्वनिजस्तो लाग्ने आवाजमा मैले भनें।
ऊ हाँसी। म पनि हाँसे। तर, त्यो मनोरञ्जनको हाँसो थियो कि मृत्युमाथिको? मैले छुट्याउन सकिन। जलिरहेका शवका धुवाँ हाम्रा नाक र आँखा दुवैतिर आइरहेका थिए।
धुवाँले हो कि भावनाले रसाएका आँखा मतिर गाड्दै उसले भनी, ‘तिमीसँगको यो दिन कुनै किताबको फिलोसफिकल पाना पढें झै लागिरहेको छ। यो दिन म धेरै पछिसम्म सम्झनेछु।’
करेनसँगको कुरा अलि अघिको हो। तर, हिजो मात्रै इंग्ल्यान्डबाट आएका क्याथ्रिन र लुजा जिस्किएर भन्दै थिए, ‘केटीहरुसँग आग्र्यु नगर। कहिल्यै जित्न सक्दैनौ।’
‘जस्ट जोकिङ’, एक छिनपछि क्याथ्रिन भन्दै थिई। यसरी जोकिङ भन्दै रमाइलो गरी–गरी यात्रा गर्नुको स्वाद लिन पल्केका विदेशीहरु के पुरुष के महिला समान लाग्छन्। उनीहरु यात्रालाई एउटा तयारीको रुपमा लिन्छन्। त्यसैले सबै चीज सरदर पूर्व निर्धारित हुन्छ। कुनै हस्याङफस्याङ हुँदैन। सुविस्तामा एडभेन्चर गर्न जानेपछि न असुरक्षाको भावना न त असुरक्षा नै। यद्यपि शतप्रतिशत सुरक्षा त स्वर्गमा पनि छैन होला। तर, म कुनै तर्क नगरी भन्न सक्छु, स्वर्गमा केटीहरु निकै धेरै होलान्।