प्यारो छोरा गोविन्द,
शुभाशीष प्यार!
तिमीले यो धर्तिमा आजकै दिन अर्थात ६१ वर्ष पहिले आँखा खोलेका थियौ। दिन पनि शुक्रबार नै हो।
तिमी १३ सालमा जन्म्यौ, अहिलेसम्म १३ अौं पटक अनसन बसिरहेका छौ। तिमी त्यो अस्पतालको चिसो सिँढीमा बसेर सत्याग्रह गरी अन्न-पानी सब छोडेर निराहार बसेका छौ। म त्यहाँसम्म आएर आशीर्वाद दिन सक्दिन। तिमीलाई थाहा छ, तिम्री आमा रोगी छे, वृद्ध छे। हातपाउ राम्रोसँग चल्दैनन्। त्यसैले म त्यहाँ आएर तिम्रो माथमा हात राखेर आशीर्वाद भन्न सकिन। मलाई माफ गर बाबु! मैले यही चिट्ठी लेख्न लगाएर आशीर्वाद दिएँ। हुन त मैले तिमीलाई आशीर्वाद नदिएको कहिले पो छ र?
जसरी म आज रोगी छु, अशक्त छु त्यसैगरी यो देशमा धेरै रोगी अनि अशक्त बाबु-आमाहरू छन्। दाजुभाइ-दिदीबैनीहरु छन्। तिनीहरुका लागि तिम्रो तपस्याले सार्थकता पाउने छ। ती दीनहीन दु:खी नेपालीको आशीर्वाद तिमीलाई लाग्ने छ बाबु। तिमी मेरो छोरा भएर आयौ तर सम्पूर्ण नेपालीको छोरा, दाजुभाइ र आफन्त बन्दैछौ म यसैमा खुसी छु। तिम्री जन्म दिने आमा भएकोमा मलाई गर्व छ।
प्रिय छोरा ,
तिमी अलि बोल्ने र जान्ने भएपछि भन्ने गर्थ्यौ, आमा म डाक्टर बन्छु र यो देशको सेवा गर्छु। जब तिमीले डाक्टर पढ्न छात्रवृत्ति पायौ, हामी सबै परिवार, आफन्त, नातागोता कति खुसी भएका थियौं। सो खुसी आजको दिनसम्म आउँदा बढेर देश नै ढाक्ने भैसक्यो।
तिम्रो बुबा बाँच्नु भएको भए आज कति खुसी हुनुहुन्थ्यो होला? म आज तिम्रो बुबालाई पनि सम्झिरहेको छु। उहाँ सधैं भन्ने गर्नुहुन्थ्यो, दु:ख पाएका मान्छेलाई सधैं माया गर्नुपर्छ। सकेको सहयोग गर्नुपर्छ। परोपकारी बन्नुपर्छ। हो, आज मेरो परोपकारी छोरोको कर्मले मेरो मात्र हैन, सारा नेपालीको मुहारमा खुसी र आशाको सञ्चार गराएको छ। तिम्री आमा हुनुको नाताले मैले तिमीलाई मेरो दूध खुवाएर हुर्काएँ ,बढाएँ तर यही माटाेबाट नै खाने कुरा प्राप्त भयो। तिमीलाई चाहिने पोषण यही धुलो र माटाे बाट नै प्राप्त भयो। त्यसैले यो माटाेप्रति तिम्रो कर्तव्य छ। हरेक प्राणीको आफू जन्मेको माटाेप्रति कर्तव्य , दायित्व र ममता हुन्छ। तिमी आफ्नो माटाे र परिवेशलाई माया गर्छौ म एकदम खुसी छु बाबु, तिम्रो सुकर्मप्रति।
प्रिय छोरा,
तिमीले आजसम्म दर्जनभन्दा बढी पटक-पटक निराहार, निर्जल व्रत गरेर नेपाल र नेपालीका लागि आफ्नो ज्यान त्याग्न तयार छौ। यो कुराले म पहिले-पहिले त दु:खी थिएँ। तर बुझ्दै जाँदा थाह भयो, तिमी त सत्कर्म र परोपकारी बाटोमा रहेछौ। हामीले सानैदेखि तिमीलाई जे सिकायौं, जे देखायौं, जुन परिवेश दियौं, जसरी र जहाँ राखेर पढायौं त्यसबाट पनि तिमीले धेरै कुरा सिक्यौ। र, आफूमा आत्मसात गर्यौ। त्यो शिक्षाका लागि भूमिका खेल्ने मेरा परीवार, आफन्त , नातागोता सबैलाई म धन्यवाद दिन चाहन्छु। यतिबेला मैले पनि मलाई जन्म दिने आमाको सम्झना गरेको छु, जसले तिम्रो बाल्यकाललाई सुखद बनाइदिनु भयो।
प्रिय छोरा ,
आज तिम्रो जन्मदिनमा तिमीलाई लाखौं नेपालीले आशिर्वाद दिनेछन्, जसका लागि तिमी भोकै मर्न तयार छौ। म पनि तिम्रो यो सत्याग्रहलाई सफल पार्न अहोरात्र खट्ने सबैलाई हार्दिक धन्यवाद र आशीर्वाद दिन चाहन्छु। सबै-सबैलाई म बुढीको आशीर्वाद र मंगल कामना छ।
बाबु गोविन्द,
तिमीप्रति मेरो कुनै गुनासो र असन्तुष्टी छैन। तिमीले जे गरेका छौ, देश र जनताका लागि गरेका छौ। जनहितमा लाग्दा लाग्दै मरेछौ भने पनि म शोकाकुल बनेर बस्दिन। मलाई थाहा छ, तिमीलाई कुनै पनि बेला पापीहरुले भोकै मर्न बाध्य पार्नेछ्न्। छोरा हिम्मत नहार, सत्यको जीत भएरै छाड्छ। सानैदेखि सत्यको मार्गमा हिँड्न रुचाउने तिमी आज पनि झन् कठिन तर पुण्य आर्जन गर्ने बाटोमा छौ। तिम्रो सफलताका लागि भगवानसँग दुई हात जोडी प्रार्थना गर्छु।
मेरो बाबु, मेरो छोरा, तिमीले गरेको सबै कुरा त म जान्दिनँ, तर तिम्रो कर्मले देश र जनताको हित हुनेछ भन्नेचैं जान्दछु।
तिम्रो दीर्घायू र सु-स्वास्थ्यको कामना गर्दै विदा मागेँ। तिमीलाई धेरै-धेरै शुभकामना छोरा!
(केसी आन्दोलन अभियानकर्ता सन्जीब कार्कीले गरेको कुराकानीमा आधारित)