पहिलो गाडी (कोटेश्वर- सिन्धुली- इटहरी)
भाडा: १ हजार रूपैयाँ
समय: माईक्रोमा ७-९ घण्टा, बसमा १०-१२ घण्टा
बाटो: कालोपत्रे (बेलैमा मर्मत नभएकाले सडक धेरै ठाँउमा भत्किएको। साँघुरो।)
काठमाडौंबाट इटहरीसम्म जाने टिकट पक्का थियो तर गाडी कस्तो छ भन्ने थाहा थिएन। दुईपल्ट क्यान्सिल गरेर नँया काटेकी थिई निशाले। विशेष दाइ, प्रज्वल भाइ लगायत सबैजना सँगै जाने सल्लाह भएको थियो। ६:३० बजे कोटेश्वर पुग्यौं। मान्छे र गाडीको भिड थियो।
लगभग एक वर्ष पहिलानै बनिसक्नुपर्ने आठ लेन चक्रपथ बन्न सुरु भएको ठाउँ। त्यहाँको अवस्था हेरेर बाँकी ठाउँ कस्तो छ भन्ने अनुमान लगाउन सकिन्छ। पछिल्लो समय सिन्धुलीतिरबाट चल्ने गाडीको संख्या बढेकाले त्यहाँ भिड बढेको छ, भिडले जाम थपेको छ।
जापान सरकारले बनाइदिएको बाटो साँगुरो भएकाले त्यो बाटोमा धेरै माइक्रो चल्छन्। त्यसैले चढ्नुपर्ने माइक्रो नै हो। तर टिकट पाउन सकिएन। बल्लतल्ल अन्तिममा विशेष दाइले मिनि बसमा टिकट काट्नुभएको रहेछ। एकप्रकारको ग्याम्ब्लिंगनै थियो त्यो।
गाडी हेर्यौं। 'धन्न फोल्डिंग सिट भएको परेछ,' दाइले भन्नुभयो। मैले दुई वर्ष पहिला फोल्डिंग सिटमा बसेर घर गएको सम्झिएँ। मुस्किलले घुँडा अट्ने साँघुरो सिट। अगाडि बस्नेले सिट थोरै बंग्यायो भने हुरूक्कै हुनेगरी दुख्ने। संयोगले पुरै सिट ढल्काएर सुत्नुपर्ने यात्रु अगाडि बसेका। यसपल्ट धन्न त्यो खाले फोल्डिंग सिट परेनछ। खुसी भयौं तर धेरैबेर टिकेन। गाडी निस्किन ढिलो गर्यो। खै को एक जना नआएको भनेर पर्खिरह्यो। हरेक गाडीमा एक जना ढिलो गर्ने मान्छे हुन्छन्।
हामीले कोटेश्वर छोड्दा आठ बज्न लागेको थियो। धुलिखेल छोड्दा लगभग १०। कति ढिलो यात्रा हुँदैथियो भन्ने तपाईंहरूनै अनुमान गर्नुहोस्। ठाउँ-कुठाँउ रोक्ने र सहचालक हराउने। फर्किएर आँउदा हँसिलो जवाफ छँदैछ। बल्ल-बल्ल गाडी धुलिखेलबाट ओरालो लाग्यो। तर गतिलो बाटो नभएको संकेत बेलाबेला चक्काले दिइरहन्थे। देशको राजधानी जाने बाटो सम्झिएर दिक्कै लाग्ने।
साँघरो बाटो। विपरित दिशाबाट बस या ट्रक आएपनि बाटो छोड्नलाई रोकिनु पर्ने। कहिँकहिँ मोटरसाइकल छिरेर पनि जाम हुने। रोकिँदै-रोकिँदै यात्रा चलिरह्यो। सहचालक भाइ हामीसित गफ गर्न रूचाए। बिस्तारो बिस्तारो भए पनि गाडी अगाडि बढेकोमा खुसी भयौं।
सिन्धुलीको बाटोमा खाना मिठो खान पाइन्थ्यो। मैले त्यसको गफ साथीहरूलाई पनि सुनाएको थिएँ। अघिल्लो पल्ट खुर्कोटमा खाना खाएको सम्झना ताजै। महेन्द्र राजमार्गमा यात्रा गर्दा खानाको गुणस्तर नभएकाले कहिल्यै नखाने मान्छे म त्यो बाटोमा मस्तले खाना खान्थेँ। तर यसपल्ट उल्टो भयो। गाडी बढेकाले होला खाना मिठो थिएन। यात्रुलाई खासै वास्ता नगरेजस्तो। संख्या बढ्दा गुणस्तर बढाउने लँडाई हार्दै रहेछन् खुर्कोटका होटलहरू।
बल्लबल्ल गाडी बर्दिबास पुग्यो र समतल राजमार्गमा हुँइकिन थाल्यो। तर त्यस बेलासम्म ढिलो भइसकेको थियो। आठ बजेभन्दा पहिला इटहरी पुग्ने सम्भावना थिएन। धरानमा सुनिल दाइलाई फोन गरेर भनेँ 'भ्याँए भने त्यहीँ आँउछु, नत्र इटहरीनै बस्छु।'
त्यसपछि पनि म निदाएँ। गाडी चढेपछि मैले गर्ने मुख्य कामनै निदाउने हो। म निदाएको देखेर प्रज्वलले सोधेको सम्झिन्छु। भन्यो 'अब भरे त निदाउनै नपर्ने भो त दाइ। भनेँ 'कहाँ ननिदाउनु, गाडी र ओछ्यानको निन्द्रा फरक फरक हो नि।'
इटहरी पुग्दा ८ बज्यो। धरान पुग्न सकिएन। निशाहरूको घरमै बसे। 'व्यस्त मान्छे बाटो बिराएर आइपुग्यो' भनेर पुग्नासाथ आन्टीको डायलग भेटियो। आन्टी काठमाडौँ आँउदा पनि भेट्न जान पाएको थिइन। हँसिलो भएर पचाएँ।
दोस्रो गाडी (इटहरी-धरान)
भाडा: रु ३५
समय: धेरैमा ३० मिनेट
सडक: कालोपत्रे
बेलुका सुत्नेबेलामा अंकललाई सोधेँ 'यहाँबाट हिले जाने गाडी कतिबेला जान्छ पत्तो लगाउन सकिन्छ?'
उहाँले फोन गरेर सोध्नुभयो र भन्नुभयो, 'सकेसम्म छिटो अरे।'
मलाई हिलेसम्म जानु थियो। अन्तिम पिच गन्तव्य। त्यहाँबाट कच्ची बाटो सुरु हुन्थ्यो। सिधै इटहरीबाट हिलेसम्म उक्लिने सोचेको थिँए तर अंकलले धरान पुगेर जान भन्नुभयो। सल्लाह ठिकै थियो। धरानबाट धेरैवटा विकल्प सम्भावना हुन्थ्यो। फेरि मलाई सकेसम्म चाँडो हिले पुग्नुथियो। अघिल्लै दिन पुगेर बस्नुभएको मुकुन्द दाइले टिकटको लागि नाम लेखाइ दिनुभएको थियो। त्यसलाई समात्न कम्तिमा ८:३० बजेसम्ममा हिले टेक्नैपर्थ्यो। हुन त आमाले पनि बुक गरिदिनुभएको त थियो तर दाइहरूसँग जानुको रमाईलोनै अर्कै हुने।
पोहोर घर आँउदा हिलेको टिकट लिने ठाउँमा मान्छेको बजार सम्झिएर यसपल्ट त्यो निर्णयमा पुगेको थिएँ। त्यस बेला राती हिले पुगेर बस्नेहरू पनि हामी १०:०० बजे पुग्दासम्म हिलेमै थिए। सामान र मान्छेको त्यस्तो भिड र अव्यवस्थित व्यवस्थापन। त्यसलाई छिचोलेर घर पुग्दा ९:०० बजेको थियो। टिकट पाँउदा युद्ध जितेजस्तै भएको थियो।
४:३० मा इटहरीको धरान लाइन पुग्यौं। अंकलले मर्निंग वाक र मलाई छोड्ने काम सँगै गर्नुभयो। अझ केहिबेर पहिले हिँड्ने मान्छे लामो सुत्नुहुँदैन भन्दै जुरूक्क उठ्न पनि लगाउनुभयो। आफ्नै सुरले भए अलिक ढिलो गर्नेथिएँ।
'दाइ धरान हो? बस्नुहोस् अगाडी अरू गाडी छैन' गाडीको छेउमा उभिएका सहचालकले यति भनेपछि पनि कोही अगाडि जान्छ? म गाडीमा चढेँ। अंकल फर्किनुभयो।
गाडी खाली थियो। मलाई बसाएर सहचालक भाइ यात्रु खोज्न निस्कियो। एकछिनमा एक आन्टीलाई ल्याएछ। आन्टी 'चाँडो पुर्याएन भने पैसा तिर्दिन' भन्दै बस्नुभयो। 'अलेली मान्छे नटिपी किन गाडी कुदाउनु?' भन्दै चालक दाइले पनि पेल्नुभयो। उहाँहरूको छोटो बादविवाद भयो। मध्यमार्गी भएर मैले भनेँ 'जानेलाई पनि ढिलो नहोस्, लानेलाई पनि घाटा नहोस्। त्यसरी जाउँ न गुरूजी।'
धरानमा ओर्लिदाँ थोरै उज्यालो देखिन थालेको थियो। गाडीले सोचेभन्दा चाँडो ल्यायो। अघि चढ्ने आन्टीले गुरूजीलाई धन्यवाद भनेको सुनिनँ। भनेको भए हुन्थ्यो।
तेस्रो गाडी (धरान - हिले)
भाडा: २५० रुपैयाँ
समय: साढे २ घण्टा
बाटो: कालोपत्रे
'दाइ कता हिले हो?' माईक्रो स्ट्याण्डमा पुगेपछि मलाई सोधियो। एक जना ठूलो ज्यान भएका दाइ। हातमा केहिथान पैसा।
'हो हो जाने हो । तर चाँडो पुर्याउनुपर्छ। गाडी छ त्यहाँबाट मेरो।' मैले हिँडिहाल्ने हो कि हैन भनेर जाँच्न त्यसो भनेको थिएँ।
'हिँडिहाल्ने हो। एक जना नपुगेर रोकिएको। लौ झोला दिनुस् डिकिमा हाल्दिन्छु।' दाइ फुर्तिसाथ निस्किए। एकैछिनमा झोला राखेर, मलाई बीचको सिटमा राखेर हजार रुपैयाँ लगेर ७ सय ५० फिर्ता दिन पनि भ्याए।
बसन्तपुर जाने यात्रुहरू। मुस्किलले ४ जना अटिने बीचको सिटमा मोटा-मोटा अंकल र आन्टी हुनुहुन्थ्यो। आन्टीसँग सानी बहिनी र भाइ। म बसेँ र भाइलाई काखमा बोकेँ। पछाडि साना बहिनी बसेका थिए। धरान पढ्ने भए पनि पहिलोपल्ट उक्लिँदै रहेछन् बसन्तपूर।
'धन्न तपाईँ आउनुभयो र चाँडै जान पाइयो' दिदीले भन्नुभयो। चाडवाडको बेला भनेर चलेको त्यो टाटा भ्यानहरूको हिँड्ने समय 'मान्छे भरिएपछि' हो।
अन्तिमममा १-२ जना मान्छे नपुगेर घण्टौ पर्खिएको अनुभव भएको मलाई उहाँले जनाएको खुसी बुझ्न समय लागेन। मुसुक्क हाँस्दै भनेँ 'धन्न दिदीले सिट राखिदिनुभएछ। भाइ आउने कुरा थाहा थियो कि क्या हो ?'
अनि गीत घन्काउँदै गाडी उकालो लाग्यो। भेडेटार पुगुन्जेल त आँखा खुल्लै थियो। त्यसपछि भने बीचका केही ठाँउ बेलाबेला देखेँ। मैले बोकेको भाइ पनि म जस्तै परेछ निदाउनमा। दुईवटा बिरालो सँगै सुतेजस्तै भयो।
धनकुटा पुग्नेबेला आमाको फोनले ब्यूझिँए। 'धनकुटा आईपुगेँ भन्दा झन्डै नपत्याउनु भएको। पोहोर घर फर्किँदा '७:०० बजे हिँड्छ' भनेर माईक्रोले धरानमा पर्खाएको सम्झिनुभयो क्यारे। उहाँलाई पनि सिट रोकिदिइराख्नु भनेँ। हिँड्नेबेलामा कोही चिनेकै मान्छे भेटिन सक्छ हिलेमा।
गाडीले हिलेको नयाँ ट्याक्सी स्टेण्डमा छोडिदियो। ओर्लिँए। स्टेण्ड अचम्मैले खाली थियो। मुकुन्द दाइसँगै एम कुमार दाइ-भाउजू- भतिज, र विनोद काका पनि भेटिनुभयो। नयाँ गन्तव्य सुरु हुन ढिलो भएन।
चौथो गाडी (हिले - तुम्लिंगटार)
भाडा: ८०० रुपैयाँ
समय: ३-४ घण्टा
बाटो: सामान्य ग्राभेल (ओर्लिएर गाडी ढेल्नु नपर्ने)
हिलेबाट हिँड्दा ८:१५ भएको थियो सायद। यो हिँडाई एकदमै दुर्लभ थियो। त्यहाँबाट १०:०० नबझी हिँडेको याद छैन।
यसपल्ट किन सुनसान भनेर सोद्धा थाहा भयो 'हिले-तुम्लिंगटार ट्याक्सी सिण्डिकेट' तोडिएछ। उताबाट आएका गाडी सिधै तुम्लिंग जान पाउने भएछन्। अनि पो धरानमा 'तुम्लिंगटार हो दाइ' भनेर एक जना भाइले सोधेको रहेछ। मनमनै लाग्यो 'ठिकै भएछ।' तर त्यसमा नचढेर राम्रो गरेँ। गाडी पो भटिन्छ, सँगै जाने साथी कहाँ भेटिन्छ।
एमकुमार दाइ परिवार निलो ल्याण्डरोबरको बीच सिटमा बस्नुभयो। मुकुन्द दाइ, विनोद काका र म पछाडि। हाम्रो अगाडि तीनजना दिदी- बहिनी। उहाँहरू संखुवासभाको उत्तरी ठाउँ 'बाला' बाट हुनुहुन्थ्यो। कुन भाषा बोल्नुभएको बाट सुरु भएर ठेगानासम्म कुराकानी भइसकेको थियो गाडी हिँड्दा सम्ममा।
एकैछिनमा गफ सुरु भए। बीचको सिटमा बस्नुभएका मानिसहरूसँग पनि चिनजान भयो। एम दाइसँग हिँडेपछि चिनजानको के चिन्ता? उहाँले नचिन्ने मान्छेनै छैनन् जस्तो लाग्छ मलाई त। संयोगले एक दाइ चाहिँ झ्याँउपोखरीमा भलिबल खेल्न आउने नेपालेडाँडाका दाइ हुनुहुँदो रहेछ। उहाँको नाम सबैले 'माईलो' राखिदिएका थिए। खत्रा सट हान्नुहुन्थ्यो। 'हि वाज माई चाइल्डहुड हिरो।'
कुराकानी थपिँदै गए। केहिछिनमा बालाका दिदी बहिनी पनि सामेल भए। दुईतिरको सिटको बीचमा बस्नुभएको बाजे रमाइलो मान्दै सुनिराख्नु भएको थियो। एक अर्कातिर फर्किएका सिट। हाम्रो सिटको बीचमा विनोद काका बस्नुभएको थियो। उताको सिटमा बस्ने दिदी पनि बोल्नमा खप्पिस। कुरो बढ्दै गएपछि काकाले भन्नुभयो 'उता त चौँरीको घिउ पाँउछ हैन ?' प्रश्न भुँईमा खस्न नपाउँदै जवाफ आयो 'अँ पाँउच। खान मन भए हिँड। गोठैमा राखिदिँउला।' शेर्पिनी दिदीहरूलाई बोल्न कसले भेट्ने ?
अनि हामी मिलेर काकालाई जिस्काउन थाल्यौं। काका जनकपूरको अदालतमा काम गर्नुहुन्थ्यो। त्यो थाहा भएपछि दिदीले पेलिन् 'तराईमा घामले डढेर कालो भएछ। हामीसँग हिँड रातोपिरो हुन्छ।' हिमाली लबजमा उहाँले जिस्काएको साह्रै मिठो सुनियो। हामी काकालाई जिस्काउन थाल्यौं तर धेरैबेर पाएनौं। एमकुमार दाइले घिउ थपेर 'बाँकी दुईभाइको चाहिँ के हुन्छ?' भनेर सोधिदिएपछि कुरो हामीसम्म आयो। 'यी तीन, हामी तीन। सबैलाई लैजान्छ र रातोपिरो पार्दिन्छ। हिँड।'
हामी मुर्छा परिपरि हाँस्न थाल्यौं। दिदीहरूपनि हाँसे। थपे 'तर हामीसँग जाँदा पछाडिको सबैलाई बिर्सिनु पर्छ नि' उनीहरूले हामीलाई जिस्काँउदै ठूलो ठूलो स्वरमा हाँसेको सुन्नलायक थियो। यो प्रसङ्ग तबमात्र सकियो जब काकाले 'त्यहाँ गएपछि रातोपिरो हुने पक्का हो त?' भनेर सोध्नुभएको प्रश्नको जवाफ यस्तो आयो 'हुन्छ किन नहुनु। चौँरीको घिउले गाला स्याउजस्तो हुन्छ, चाक फर्सिजस्तो हुन्छ।'
अनि त यसो भन्नु परिगो 'गाडी उडेर भए पनि तुम्लिंगटार पुगे हुने। कि त टपिक चेन्ज गरौँ।'
तुम्लिंगटारमा ओर्लिँदा पनि ती दिदीले 'रातोपिरो हुन जाँउ' भन्दै जिस्काउँदै हुनुहुन्थ्यो। हामी दसैंको शुभकामना दिएर उम्कियौं।
पाँचौ गाडी (तुर्केपुल- सुनखानी चौक)
भाडा: ३५० रुपैयाँ
बाटो: पूर्णतया कच्ची
समय: १-२ घण्टा
तुम्लिंगटार छोडियो। हामी रातोपिरो हुन गएनौं। गाडीमै रातोपिरो भएर पुगिसकेको थियो। शेर्पिनी दिदीहरूको काउन्टर अट्याक महँगो साबित भयो। तर फाइदा पनि भयो हाँस्दा हाँस्दै बाटो कटेको थाहा भएन कच्ची बाटोमा ल्याण्डरोबर दौडिएको थाहा नपाउनु पनि ठूलै कुरा थियो।
तुम्लिंगटारमा असाध्यै गर्मी। तराईजस्तै सम्म परेको ठाउँ भएर होला तराई जस्तै उधुम गर्मी। हामीलाई जतिसक्यो चाँडो तुर्के पुल पुग्नु थियो। त्यहाँबाट अरूण तरेपछि हाम्रो षडानन्द नगरपालिका लाग्छ। पारिपट्टिबाट संयोगले चढ्न पाइने। यसपल्ट त्यो संयोग जुर्दै थियो। संयोग किन भनेको भने थोरै पानी पर्यो भने गाडी आउन सक्दैन। रातोमाटो तेल जसरी चिप्लिन्छ। पूर्णतया कच्ची बाटोमा महिन्द्राको गाडी दौडिनु सामान्य काम हुँदै हैन।
बुबाले दुईपल्ट फोन गरेर 'चाँडै झर, गाडी हिँड्छ फेरि' भनिसक्नुभएको थियो।
हिँडेर झरेको भएर होला पुलमा तुम्लिंगटार भन्दा धेरै गर्मी भयो। धन्न केही छिनमै गाडी हिँडिहाल्यो। हामी उता जस्तै पछाडिको सिटमा बस्यौं। यसपल्ट एमकुमार दाइपनि थपिनुभयो।
धेरै हिलो भएको केही ठाउँमा ओर्लिएर हिँड्दै र फेरि चढ्दै गइयो। धन्न ठेल्नु चाहिँ परेन। त्यति दुःख गर्दा ३ घण्टा लाग्ने उकालो हिँड्नु नपर्ने भएकाले हामी लोभिएका थियौं। फेरि गाडी देखेपछि हिँड्न मन कहाँ लाग्नु? गाडीले बल गरेको देखेर भन्न मन लाग्थ्यो 'धन्न चलेको छ।'
घर नजिकै पुगेपछि हाडीबाट ओर्लिएँ चक्काले उछिट्याएर झोला र लुगामा लागेको हिलोलाई 'देशको माटो' नामाकरण गरिदिएपछि सजिलो भयो।
यसरी घर पुगेँ। दुइटा खुसी एकैपल्ट मिसिए। म घर आँउदा खुसी, घर म आँउदा खुसी। काठमाडौंबाट हिँडे भनेपछि मैले मनमनै नापेको बाटो र बुबाआमाले नापेको बाटो उस्तै थियो होला सायद।