बुधबार विहानदेखि रंगेलीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन चर्किरहेको घटनाले मेरो ध्यान खिचिरहेको थियो । मधेसवादी दलको बर्चश्व रहेको उक्त क्षेत्रमा एकैदिन मोर्चाको बिरोधसभा र अर्कापट्टि एमाले निकट युवा संघले आयोजना गर्ने तराई मधेस संवाद तथा जागरण कार्यक्रम थिए ।
पुगनपुग तीन सय मिटर क्षेत्रमा यी दुई कार्यक्रम कुनै घटनाको सूचक हुन् भन्ने मलाई लागिसकेको थियो । अप्रिय स्थिति हुनसक्छ भनेर म स्थलगत रिपोर्टिङका लागि रंगेली जाने सोच बनाउँदै थिएँ । चिसोसँगै सिमसिम पानी परिरहेको अवस्थामा यो पूर्वानुमानले म केहीबेर सोचनीय बनेँ ।
भोलिपल्ट बिहीबार विहान साढे ९ कट्दै थियो ।
‘पानी परिरहेको छ, अलि पछि जाँदा नि हुन्छ नि,’ घरबाट निस्किने बेलामा आमा भन्दै हुनुहुन्थ्यो । आमाको कुरालाई पर्वाह नगरी म आफ्नो योजनामा एकाग्र भएँ ।
‘रंगेली जाने हैन दाइ,’ सहकर्मी पत्रकार कमल रिमाललाई मैले त्यसैबेला फोनमा सोधें ।
‘पत्रकार महासंघमा एउटा गाडी रेडी छ रे,’ उनले भने, ‘त्यतै भेला हुने कि !’
म हतारहतार पत्रकार महासंघतिर दौडिँदै थिएँ । बीच बाटोमा आइपुग्दा पत्रकार सुदीप कोइरालाले फोन गर्दै भने, ‘तपाईं जाने भए आउनुस् ।’
कसैले त्यसो नै भन्दियोस् भन्ने भएको थियो । किनभने मोटरसाइकलमा रंगेली जानसक्ने अवस्थै थिएन । प्रतिकूल मौसम थियो । सिमसिम पानीबीच म पत्रकार महासंघ पुगें, नभन्दै एउटा गाडीसहित सुदीप बसिरहेका थिए ।
केहीबेर गफगाफ चल्यो । अरू पाँच÷सात जना साथीहरू भेला भए । हामी रंगेलीतिर लाग्यौं ।
***
कटहरी पुग्दा त्यहाँ आन्दोलनकारी नै देखिन्थे । नयाँ बजार पुग्यौं उस्तै । कर्सियामा पनि । प्रेस लेखेको गाडी भएकाले पनि हुनसक्छ आन्दोलनकारीले हामीलाई रोकेनन् । हामी ११ बजे रंगेली पुग्यौं ।
इलाका प्रहरी कार्यालय अगाडि युवा संघको आमसभास्थलमा केही युथफोर्सका फेटाधारी युवाहरू देखिन्थे । हामी त्यो कार्यक्रमभन्दा मोर्चाको गतिविधि के कस्तो छ रहेछ स्थलगत बुझ्न आतुर थियौं ।
थानाबाट हामी उत्तरतिर लाग्यौं । दुई सयमिटर पैदल उत्तर हिँडेपछि सशस्त्र र जनपथ प्रहरीको दुई टोली ढालडण्डासहित पोजिसनमा थियो । अगाडि मोर्चासम्बद्ध कार्यकर्ता सरकारबिरुद्ध बाँसका काँचा लाठीसहित नाराबाजी गरिरहेका थिए ।
प्रहरीको दुई टोली छिचोलेर हामी आन्दोलनकारीको भीडमा पुग्यौं । संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्द कादिरलगायत नेतासहित मोर्चा नेता कार्यकर्ताले हामीलाई बडो सहजतापूर्वक स्वागत गरेर आफ्नै भीडमा पु¥याए ।
र अघिल्लो दिनको घटनाबारे सविस्तार जानकारी दिन थाले । अनि युवा संघको कार्यक्रमले यहाँ स्थिति बिगार्नेतर्फ उनीहरू गम्भीर देखिन्थे ।
‘जनता स्वस्फूर्त तरिकाले जम्मा भइरहेका छौं, भरसक हामी संयमता अपनाउँछौं,’ यादव भन्दैथिए, ‘तर राज्यको जबरजस्ती देखिन्छ यहाँ ।’
कालीमन्दिर पूर्वपट्टि सडकमा टायर बलिरहेको थियो । मन्दिर परिसरमा मोर्चा नेता कार्यकर्ताको ठूलो समूह थियो ।
‘एकातिर वार्ता टोली भंग भएको बखत हामी आन्दोलनमा छौं, जनता आक्रोशित भइरहेका छन्, यहीबेला यहाँ प्रधानमन्त्रीसहित एमालेले कार्यक्रम गर्दा स्थिति भड्किन सक्छ भनेर कार्यक्रम नगर्नूस् भन्यौं,’ यादव भन्दैथिए, ‘तर शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज ग¥यो, त्यसपछि त झन् जनता भड्केका छन् ।’
***
महिला, युवा, बूढापाका भेला भएको त्यो माहोल एकप्रकारले रंगिन बन्दैथियो । हामी फेरि पोजिसनमा बसेको प्रहरीतर्फ फर्कियौं । मोर्चा कार्यकर्ता प्रहरी हटोस् र हामी जुलुससहित जान पाउँ भन्दै प्रदर्शन गरिरहेका थिए । तर प्रहरीले सम्भव हुन दिइरहेको थिएन ।
केहीबेर हेरिरह्यौं । मोर्चा सम्बद्ध कार्यकर्ताको उपस्थिति छिनपछि छिनमा बाक्लिन थालेको थियो । त्यो भीडमा कसैकसैले भाला बोकेको पनि मैले देखें । महिलाहरू उत्तेजित बन्दै प्रहरी घेरासम्म आउने कोसिस गरिरहेका थिए ।
एकप्रकारले मोर्चाको उपस्थिति नेता नियन्त्रित हुन छोडिसकेको थियो ।
यो क्रम चलिरहँदा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, प्रहरी उपरीक्षक तारिणी लम्साल सशस्त्र प्रहरीसहित आइपुगे ।
लम्साल भन्दैथिए, ‘यो भीड यतैतिर होस्, उताको कार्यक्रमतिर जान नपाओस् हामी दुबै कार्यक्रम फरक–फरक ठाउँमा शान्तिपूर्ण सम्पन्न हुन् भन्ने चाहन्छौं ।’
हामी एमालेको कार्यक्रमस्थलतर्फ फेरि फर्कियौं । कार्यकर्ताको उपस्थिति केही बाक्लो बन्दैथियो । तर कार्यक्रम सुरू हुन लागिरहेको थियो । केहीबेर हामी यताउता घुमिरह्यौं । बजार पुरै बन्द थियो, चिसा र पान पसलसम्म खुलेको थिएन ।
केहीबेरको पर्खाइपछि ।
एमाले मञ्चमा जब नेताहरू आइपुगे, आसनग्रहणको कार्यक्रम सुरू भयो । १ नम्बर क्षेत्रबाट आउने नेताकार्यकर्ता बाटोमा रोकिएको, ठाउँ–ठाउँमा अबरोध भएको भन्दै उद्घोषक र नेताहरू मोर्चाको आन्दोलनमाथि आलोचनात्मक टिकाटिप्पणी गरिरहेका थिए ।
***
हामी मञ्चको अघिल्तिर पुग्यौं । निरु पाल बोलिरहेकी थिइन् । त्यसपछि एउटा सांगीतिक गीत प्रस्तुत भइरहेको समयमा अचानक बन्दुक पड्केको आवाज आयो ।
पत्रकार किरण न्यौपाने, सशांक पौडेल, कमल रिमाल लगायत हामी एकैसाथ उठेर मञ्चको पश्चिमतिर दौडियौं ।
दुई सय मिटर पश्चिमतिर रंगेली अस्पताल । अघिल्तिर खेतका आलीआलीमा प्रहरी देखिन्थे । प्रहरीको दौडादौड थियो । क्षणभरमै टियर ग्यास र हवाई फायर चालीस राउण्डभन्दा बढी पड्कियो । वायुमण्डल बन्दुक पड्किँदा निस्केको धूवाँमय देखिन्थ्यो । त्यता गोली चलेको पूर्वपट्टि कालीमन्दिर छेऊमा पनि पड्किरहेको थियो ।
एकातिर एमालेको भाषणभुषण, अर्कातिर गोली चलिरहेको छ ।
हामीलाई एमालेको कार्यक्रमभन्दा गोली चलेको घटना महत्वपूर्ण बन्यो । प्रहरीको पछिपछि हामी रंगेली अस्पतालको बाटोतर्फ दौडियौं । त्यहाँ तीन सयभन्दा बढी आन्दोलनकारीको भीड एमाले मञ्चतिर आउन खोजेको रहेछ ।
हात–हातमा भाला, खुकुरी, लाठी ।
‘एक जना बृद्धाको मृत्यु भइसक्यो रे यार,’ पत्रकार न्यौपानेले सुनाए ।
‘ए, हैन होला, बुझौं त,’ मैले भने ।
हामी अस्पताल अगाडिको बाटो हुँदै गइरहेका थियौं ।
केही लाठी, भाला, खुकुरी बाटोमा भेटिए । भागाभाग हुँदा आन्दोलनकारीका चप्पल छरपस्ट थिए ।
अस्पतालभित्र छि¥यौं । सत्यनारायण साहलाई एम्बुलेन्समा हालेर विराटनगर ल्याउने तयारी भइरहेको थियो । फोटो खिचेर हामी फेरि फर्कियौं । झन्डै एक घन्टाको बीचमा एमालेको कार्यक्रमस्थल खाली भइसकेको थियो ।
त्यही गोली चलेको स्थानमा केही मिनेट बस्दाबस्दै पाहुना लाग्न आएकी द्रौपतीदेवी चौधरीको मृत्यु पुष्टि भएको कुरा मोर्चाको तर्फबाट आयो । प्रहरीले पुष्टि गरिसकेको थिएन । तर त्यो आधिकारिक नै थियो, हामीले मृत्यु भएकी महिलाका श्रीमान् कृष्णलाई सम्पर्क गर्न पाएका थियौं ।
चार पाँच जना घाइते भएका रहेछन् । नामावली टिपेर हामी फेरि रंगेली थाना फर्कियौं । जहाँ हाम्रो सवारीसाधन थियो । विराटनगर फर्किनुपर्छ भनेर साथीहरू हतार गरिरहेका थिए । हामी गाडी चढेकामात्र थियौं, डायनियाँमा पनि झडप भो भन्ने खबर आयो । एकैछिनमा शिवु माझीको मृत्यु भएको खबर आयो ।
त्यो घटनामा अर्का विक्रम सहनी गम्भीर घाइते छन् भन्ने बुझियो ।
हामी विराटनगर आइपुग्यौं । यहाँ आइपुग्नेवित्तिकै फेरि अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको खबर आयो । उनी थिए, महादेव ऋषिदेव ।
***
सरसर्ती हेर्दा रंगेली रणसंग्राम घटनामा तीन पक्ष जिम्मेवार देखिन्छन् । प्रधानमन्त्रीको दल एमाले, मोर्चा र प्रहरी । मधेसमा जारी आन्दोलन र विभिन्न घटनाले आज समाज विभाजित छ । राजनीतिक पार्टीबाट अलग भइसकेको अवस्थामा राष्ट्रपति विद्या भण्डारी जनकपुर जाँदा जे घटना भयो, त्यसले आज समाज जातीय हिसाब विभाजित छ यस्तो अवस्थामा कुनै कार्यक्रममा हिँडडुल गर्दा सचेतता अपनाउन सक्नुपर्छ भन्ने स्पष्ट संकेत दिन्छ ।
रंगेलीमा स्थिति भड्किन सक्नेतर्फ सबै राजनीतिक पार्टीको निष्कर्ष थियो । प्रशासनसहितको सर्वदलीय बैठकमा मोर्चासम्बद्ध दल र अन्य राजनीतिक पार्टीले एमालेलाई त्यहाँ कार्यक्रम नगर्न सुझाइसकेका थिए ।
तर अन्तिम समयसम्म प्रधानमन्त्री केपी ओली आउने प्रचार गरियो । एकातिर मोर्चासँग वार्ता भंग भएको बेला मोर्चाको वर्चश्व रहेको, जनता भड्किकेको स्थानमा प्रधानमन्त्री आफैं आउने हल्लाले पनि थप उत्तेजना फैलाएको देखिन्छ । जनता उत्तेजित भएको, स्थिति भड्किएको ठाउँमा जोरजबरजस्तीपूर्वक एमालेले कार्यक्रम गर्न खोज्यो, त्यसको परिणाम कहिल्यै केही नभएको रंगेली बिहीबार रणसंग्राम बन्यो ।
***
लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्न, बोल्न हिँड्न पाइन्छ । मधेसी मोर्चाले त्यसमा अबरोध गर्न हुन्नथ्यो । अन्य पार्टीले आयोजना गर्ने कार्यक्रममा बाधा पु¥याउने, तोडफोड, आगजनी गर्ने कार्य अलोकतान्त्रिक छ ।
शान्तिपूर्ण बिरोध भन्ने तर हातमा खुकुरी, भाला, ग्याटिस, लाठी बोकेर प्रदर्शनमा उत्रिने प्रवृत्तिले झन् उत्तेजना पैदा ग¥यो । मधेसी पार्टीमा शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दा पनि हुन्छ भन्ने विश्वास हटेको बुझिन्छ । निषेधको राजनीतिले समाधान हैन, स्थिति बिगार्छ भन्ने रंगेली घटनाले देखाएको छ ।
अर्कोपक्ष प्रहरी, प्रशासन । कुनै पनि स्थितिको पूर्वानुमान गरी सुरक्षा रणनीति बनाउनु उसको दायित्व हो । प्रहरीले सम्भावित हिंसालाई रोक्न यथेष्ट उपाय रच्न सक्नुपर्छ । रंगेली अस्पताल बाहिरबाट आन्दोलनकारी छिर्छन् भन्ने सुइँकोसम्म पाएको भए एमाले कार्यक्रमस्थल पछाडि त्यो हदसम्म हुने थिएन । सुरूमै त्यो स्थानलाई नियन्त्रणमा लिन सकेको भए त्यतिका संख्यामा आन्दोलनकारी आइपुग्ने थिएनन् ।
मधेस आन्दोलनका क्रममा प्रहरीले अधिकतम बल प्रयोग गर्ने गरेको मोर्चाको आरोप छ । ताकिताकि छातीमा, टाउकोमा गोली हानेको मोर्चाले बताउने गरेको छ । रंगेली र डायनियाँमा मारिएका व्यक्तिको छातीमै गोली लागेको छ । घाइतेको पनि गोली कम्मरमुनी छैन । एसएलआर राइफलको गोली प्रयोग भएको देखिन्छ ।
रंगेलीमा बिहीबार प्रहरीको उपस्थिति अत्यधिक थियो । यतिको संख्यामा प्रहरी थिएन भने त्यहाँ अझै ठूलो क्षति हुन्थ्यो ।
***
अन्त्यमा, पाँच महिनादेखि तराई आन्दोलित छ । नेपालको एउटा ठूलो जनसंख्याले नयाँ संविधानलाई स्वागत गर्न सकेको छैन, मान्दिन भनिरहेको छ । त्यसको राजनीतिक समाधान खोज्नेतर्फ प्रमुख सत्तापक्ष जिम्मेवार देखिनु आवश्यक छ ।
मधेसी जनताको दबदबा रहेको रंगेलीमा यही बेला (वार्ता भंग भएको) आजभोलि नै संवाद गरिरहन जरुरी थिएन । एमालेले भनेझैं तराईका जनतालाई संविधानबारे बुझाउने, तराई–पहाडको संवाद गराउने कार्यक्रम सत्तापक्ष भएका नाताले उचित नै होला, तर प्रतिकूल स्थितिबीच जबरजस्तीपूर्वक रंगेलीमा गतिविधि गर्नु जरुरी थिएन । स्थिति अलि शान्त भएपछि गरिएको भए रंगेलीमा यो हदसम्म हुने थिएन ।
रंगेली घटनाले एमालेलाई के फाइदा भो ? उसले आफ्नै कार्यक्रम पनि राम्रोसँग सम्पन्न गर्न पाएन । बरु यो घटनाले मोर्चा–सत्तापक्षबीच जुन उत्कर्षमा चलिरहेको वार्ता र संवाद थियो त्यसलाई धेरै पर धकेल्ने काम गरेको छ । रंगेली घटनामा निर्दोष मान्छे पनि मारिएका छन् । रंगेली घटनासँग प्रत्यक्ष प्रमुख सत्तापक्ष जोडिएको छ । यसलाई एमालेले कसरी लिन्छ र मोर्चासँगको आगामी संवादको वातावरण बनाउँछ त्यो हेर्न बाँकी छ ।