म मकवानपुर, बागमती प्रदेशका सयौँ युवाको मौन पीडा, संघर्ष र पुनर्जीवन यात्रा नजिकबाट हेरिरहेको मान्छे हुँ। यही अनुभवले मलाई स्पष्ट सिकाएको छ— मानसिक अवस्था अनुहारमा देखिँदैन।
मानिस हाँसिरहेको, काम गरिरहेको, सामान्य जीवन चलाइरहेको देखिए पनि त्यो दृश्यभित्र लुकेको मानसिक छटपटी कसैले देख्दैन। विशेष गरी लागुऔषधमा फसेका युवाहरूको समस्या बाहिरबाट बुझिँदैन तर भित्र भत्किएको आत्मविश्वास, पारिवारिक चोट, सामाजिक अस्वीकृतिको घाउ र मानसिक स्वास्थ्य संकट अत्यन्त गहिरो हुन्छ।
यी वास्तविकताहरूले मलाई बारम्बार सम्झाउँछ— नेपालमा लागुऔषध निर्भरता अपराध होइन, उपचार र सहानुभूति आवश्यक पर्ने स्वास्थ्य अवस्था हो। तर दुर्भाग्यवश, हामीले अझै पनि अनुहार हेरेरै मानिसको मूल्यांकन गर्ने गलत परम्परा तोड्न सकेका छैनौँ।
यही कारण म खुलेर भन्छु— सुधार केन्द्रलाई दुर्व्यसन बस्ने थलो होइन, अस्पतालको दृष्टिले हेर्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासहरू, युएनओडिसी र डब्लुएचओको मापदण्डले स्पष्ट रूपमा संकेत गर्छन् कि प्रभावकारी उपचारका लागि पुनर्स्थापना केन्द्रहरू स्वास्थ्य सेवा संस्थाको रूपमा स्विकारिनुपर्छ। तर हाम्रो समाजमा अझै पनि ‘लागुऔषध प्रयोगकर्ता = अपराधी’ भन्ने दृष्टिकोणले युवाहरूलाई उपचारभन्दा टाढा बनाइदिएको छ।
मैले सिआन पुनर्स्थापना केन्द्रमा काम गर्दा बुझेको एउटा कठोर सत्य के हो भने— दण्डले कोही पनि ठिक हुँदैन तर सही उपचार र मनोसामाजिक परामर्शले असंख्य युवाहरूले नयाँ जीवन पाएका छन्। पुनर्जीवन पाएका ती युवाहरू आज कर्मशील, जिम्मेवार र समाजका निर्माणकर्तामा बदलिएका छन् जसले प्रमाणित गर्छ कि प्रत्येक मान्छेमा दोस्रो अवसर चाहिँदै–चाहिँदैन तर जरुरी छ।
मकवानपुर अहिले नेपालका ती जिल्लामध्ये एक हो जहाँ युवा जनसंख्या ठुलो मात्रामा जोखिममा छ। बेरोजगारी, छिटो प्रभाव पार्ने साथी–समुदाय, पारिवारिक विखण्डन, सहरहरूको बढ्दो तनाव र मानसिक स्वास्थ्य सेवाको अभावले यहाँका युवालाई खासै सुरक्षित अवस्था प्रदान गरेको छैन। मैले परामर्शका क्रममा सुनेका कथाहरू— आत्महत्या प्रयासदेखि परिवारबाट बहिष्करणसम्म मन रुँगिने यथार्थ हुन्। तर ठिक उपचार पाउने बित्तिकै उनीहरू कसरी उठ्छन्, कसरी फेरि पढाइ, रोजगारी, परिवार र समाजमा फर्किन्छन्— यो परिवर्तन नै प्रेरणा हो। यी सबै तथ्यहरूले एउटा कुरा प्रस्ट बनाउँछ समस्या मानिस होइन, अवस्था हो; समाधान दण्ड होइन, उपचार हो।
त्यसैले आज म कूटनीतिक तर स्पष्ट रूपमा राष्ट्रिय स्तरमा यस सन्देशलाई दोहोर्याउन चाहन्छु— नेपालले अब पुनर्स्थापनालाई नियन्त्रणभन्दा अगाडि राख्नुपर्छ। सरकार, प्रहरी, परिवार, विद्यालय र समुदाय सबैको भूमिकाले मात्र परिवर्तन सम्भव हुन्छ। लागुऔषध सम्बन्धी कानुनले ‘दण्डको सट्टा उपचार’ भन्ने सिद्धान्त पहिल्यै अँगालेको छ तर यसको व्यवहारिक कार्यान्वयन अझै कमजोर छ।
यस्तो अवस्थामा समाजले दोष होइन समर्थन, तिरस्कार होइन अवसर र कलंक होइन करुणा दिन सक्ने वातावरण निर्माण गर्न जरुरी छ। किनकि उपचारमा आएका प्रत्येक बिरामीमा भविष्य निर्माण गर्ने क्षमता हुन्छ— हामीले चाहिएको मात्रै हो, तिनीहरूलाई योग्य मान्ने आँखा र उठ्न सहयोग गर्ने हात।
(लेखक सिआन पुनर्स्थापना केन्द्र, मकवानपुरका लागुऔषध उपचार विशेषज्ञ तथा परामर्शदाता हुन्।)