पछिल्लो समय म ९९ सम्बन्धी व्यापारमा आबद्ध छु। यहाँ हरेक सामानको मूल्य ९९, १४९, १९९ जस्ता अंकमा मिलाएर राखिन्छ। ग्राहकले दुई चार सामान ल्याउनुहुन्छ जोड्दै जाँदा अन्तिममा आउँछ ८६, ४६, ९४, ३८ वा ९६ जस्ता अंकहरू। यति सामान्य अंकका कारण समस्या हुँदैन होला भन्ने मेरो सोच एक-एक गरी ढल्दै गयो। किनकि यिनै साना अंकहरू अहिलेको पुस्ताका लागि बुझ्नै मुस्किल हुने रहेछ।
काउन्टरमा आउने अधिकांश युवा ग्राहकहरू विशेष गरी अहिले चर्चामा रहेको जेन-जी भनिने पुस्ता नेपाली अंक सुनेपछि हच्किने गर्छन्। 'छयासी' भन्ने शब्दसँग उनीहरू अपरिचित छन्। 'छयालिस' सुन्दा उनीहरूको अनुहारको भाव नै फेरिन्छ। नेपाली अंकहरूको संसार अहिलेका पुस्ताहरूको चेतनाको सतहबाट हराउँदै गएको छ।
कतिपय ग्राहकहरू त अकमकाएरै भन्छन्- ‘अंकल, तपाईं अंग्रेजीमै भन्नु न।’ उसले बुझ्दैन भन्ने थाहा पाएपछि म मुस्कुराउँदै आफ्नो भाषाको स्वाभाविकता छोडेर फेरि अंग्रेजी संख्यामा भन्ने गर्छु।
सबैभन्दा रमाइलो अनुभव त केही दिनअघि नै भयो। कलेज ड्रेसमै आएकी एउटी नानीले सामान छानेर काउन्टरमा राखिन्। जोड्दै जाँदा ४९६ आयो। मैले सहजै भनेँ- ‘चार सय छयानब्बे।’ उनले छक्क पर्दै सोधिन्- ‘अंकल, यो भनेको कति हो?’
मैले मुस्कुराउँदै भनेँ- फोर-नाइन-सिक्स।
त्यसपछि पनि उनी पूर्ण विश्वस्त हुन नसकेर भनिन्- ‘ह्या अंकल, मैले त ५०० नै हाल्दिए है।’ अनि फोन उठाएर ५०० क्युआर गरिदिइन्। संख्याको आत्मा एउटै थियो तर नेपाली रूप उनको लागि बुझ्नै नसकिने जटिल रूप बनिसकेको रहेछ।
यहीँ आएर मेरो मनमा धेरै प्रश्नहरू उठ्न थालेका छन्, हाम्रो विद्यालयहरूले के सिकाइरहेका छन्? हाम्रो घर-घरको वातावरण कता गएको छ? हामी आफैँलाई आधुनिक देखाउन खोज्दा कतै आफ्नै पहिचान, भाषा, लिपि, अंक हराउँदै त गएको छैन?
अहिलेका बालबालिका र युवाहरूलाई अंग्रेजीमा नाइन्टी-नाइन भन्न सजिलो छ, नाइन-फोर्टी-सिक्स भन्न सजिलो छ तर उनान्सय, छयानब्बे, तेह्र वा तेत्तीस बोल्नै गाह्रो महसुस गर्छन्। भाषा सिक्ने आधार नै घर-परिवार हो तर अभिभावकहरू आफैँ अंग्रेजीमा बोल्नतिर लागेपछि बच्चाहरूको सोचाइ पनि त्यतै मोडिएको छ।
यो परिवर्तनलाई कसैले रोक्न सक्दैन होला तर बुझ्न भने जरुरी छ। भाषा केवल माध्यम होइन, आत्मपहिचान हो। नेपाली अंक केवल संख्यात्मक चिन्ह होइन, भाषाको पहिचान पनि हो। हामी एटिसिक्स भनेर भुक्तानी गर्छौँ तर छयासी भन्न लाज मान्छौँ भने त्यो केवल भाषाको समस्या होइन, त्यो त हाम्रो पनि समस्या हो।
सहरमा हुर्कने अधिकांश बालबालिका अब हिसाब अंग्रेजीमा गर्छन्। सानो कक्षाको बच्चालाई तेत्तिस भने किन बुझ्दैन? किन थर्टी-थ्री भने मात्र उसको दिमाग सक्रिय हुन्छ? यो निकै सानो लक्षण हो तर समस्या ठुलो हुँदै गएको छ।
युवापिँढी आजभोलि भन्छ- नेपाली अंक किन सिक्नु? फोनमा, बैंकमा, कागजमा, सबैमा त अंग्रेजी अंक चल्छ। सही पनि हो प्रचलन यही छ। तर प्रचलन र पहिचान बिचको सन्तुलन जोगाउनु भने कसैको ध्यानमा छैन। यदि यही ढंगले जाने हो भने १०-१५ वर्षपछि उनान्सय वा बयानब्बे जस्ता शब्द हराएर जानेछन्।
मैले व्यापारमा देखेका यी साना घटनाहरू केवल हास्यास्पद प्रसंग होइनन्, डरलाग्दा संकेतहरू हुन्। नेपाली अंक बुझ्न नसक्ने पुस्ता- नेपाली भाषा बुझ्न नसक्ने पुस्तामा परिणत हुन कति समय लाग्ला र? अनि त्यसभन्दा ठुलो प्रश्न नेपालीलाई नै नेपाली भाषामा बोली बोल्न गाह्रो महसुस गर्ने पुस्ता जन्मिन कति वर्ष चाहिन्छ?
हामी सही हुनु पर्ने ठाउँमा गलत गर्व गर्दै हिँडिरहेका छौँ। अंग्रेजी सिक्नु चाहिँ आवश्यक छ तर आफ्नै भाषालाई छोडेर हैन। संसारको कुनै पनि विकसित राष्ट्र आफ्नै मातृभाषाको जगलाई धराशायी पारेर अगाडि बढ्दैन। चीनले अघि बढ्दा चिनियाँ अंक छोडेन। जापानले विकसित हुँदा आफ्नै लिपि बिर्सेन। तर हामी? हामी आफ्नै अंकलाई अनावश्यक र पुरानो ठान्न थालेका छौँ।
हामीले अंग्रेजी सिक्नै पर्छ, संसार बुझ्न र नयाँ अवसरहरूको प्रयोग आवश्यक पनि छ। तर आधुनिकताको नाममा आफ्नै भाषा, आफ्नै अंक र आफ्नै पहिचानलाई पछि धकेल्नु भने हाम्रो दीर्घकालीन क्षतिमा पर्न जाने गल्ती हो। दुनियाँ हेर्ने एउटै रङ्गिन झ्याल अंग्रेजी मात्र होइन, हामीसँग आफ्नै जरा, आफ्नै स्वर, आफ्नै गणनाको लय पनि छन्।
त्यसैले नयाँ कुरा अंगाल्दै जाँदा हामीले आफ्नै भाषालाई जगको रूपमा जोगाउनै पर्छ किनकि जग कमजोर भयो भने, कति सुन्दर घर किन नबनाए पनि, ढल्ने पहिलो चीज यही हो। नेपाली भाषा र नेपाली अंकलाई बोझ होइन, आधुनिकता त्यही बेला पूर्ण बन्छ जब मूल पहिचान गुमाएर होइन, मूल पहिचानलाई सङ्गालेरे अघि बढिन्छ।