तिहारको लागि म नेपाल जाँदै थिएँ। म नेपाल जाँदैछु भन्ने कुरा मेरा केही आत्मीय साथीहरू र भाइबहिनीहरूलाई मात्रै थाहा थियो।
एक साँझ उनीहरूलाई हाँसी–हाँसी भनेको थिएँ— 'तिमीहरूको सामान त केही लान्नँ, तर घरमा केही खबर पुर्याउनु छ भने भनेजति पुर्याइदिन्छु है।'
अनि उनीहरूले पनि ठट्टै गरेर भनेँ — 'आजकाल खबर त मेसेन्जर–भाइबरले पनि पुर्याइहाल्छ नि, हामीलाई त सामान लगिदिने मान्छे मात्रैको खाँचो छ। हाम्रो अलिकति सामान लगिदेऊ न प्लिज!'
कसै–कसैसँगको आत्मीयता यति गहिरो हुन्छ कि नाइँ भन्नै सकिन्न। त्यही आत्मीयताले गर्दा एउटा सामान, दुई वटा सामान गर्दै अन्त्यमा मेरो भन्दा पनि उनीहरूकै सामान बढी हुने स्थिति आयो।
यही आत्मीयता बीचमा नेपालबाट त्यस्तै दुई वर्ष अगाडि आएकी एउटा बहिनी थिइन्। उनी मेरो घरको नजिकै बस्ने भएकाले पनि उनको आग्रहलाई त झन् नकार्नै सकिएन।
उनले भनिन् — 'दिदी, भाइलाई एउटा जुत्ता लगिदिनु न, तिहारमा उसलाई सप्राइज दिन लागेको।'
'लग्न त लगिदिन्छु तर जुत्ता त अलि किलो हुन्छ कि?' अलि आनाकानी गरेर भनेँ।
'किलो छैन दिदी, हल्का मात्रै छ पाउ मात्रै हो।'
पाउमा लगाउने पाउ मात्रै हो भने ठिकै छ भनेँ। उनले जुत्ता ल्याएर मलाई छोडिदिइन्। तर 'होका' ब्रान्डको त्यो जुत्ताले त सुटकेसको एक–तिहाइ भाग नै ओगट्यो।
जुत्ताभित्र अरू सामान घुसारेर हेरे पनि ठाउँ नै पुग्दैन। किलो होइन जुत्ताले स्पेस ओगटेको थियो। यो कुरा उनी बहिनीलाई भनेँ पनि तर उनी मिलाएर लगिदिनुन दिदी प्लिज भन्न थालिन् अनि अन्त्यमा आफ्नै स्पोट्र्स जुत्ता निकालेर होकाको जुत्ता अटाएँ।
जीवनमै पहिलो पटक नेपाल जाँदा आफ्नो एक जोर मात्रै स्पोट्र्स जुत्ता लगाएर गएको दिन त्यही बन्यो। एकछिन त दिक्क पनि लाग्यो। जहिले पनि नेपाल जाँदा र नेपालबाट आउँदा आफ्नो भन्दा अरूको सामानले सुटकेश ओगट्छ।
त्यस बेला अरू साथीहरूले भनेको पनि याद आयो—'नेपाल जानु छ भने सुटुक्क जाऊ, हल्ला नगरी।
फर्कंदा पनि सुटुक्क फर्किनु।' त्यतिखेर चाहिँ हो जस्तो लाग्यो।
फ्लाइटको अघिल्लो दिन, त्यसै बहिनीको फोन आयो फेरि। उनी अलि डराइडराइ 'दिदी, मिल्छ भने एउटा मोबाइल पनि लगिदिनु न प्लिज?' भनिन्।
म केही बोलिनँ।
बट्टा खोलेर लगे पनि हुन्छ दिदी प्लिज भनेको भन्यै गरिन्।
अनि मैले सोधेँ — मोबाइल कसलाई हो र?'
'भाइलाई।'
'भाइलाई त जुत्ता पठाइरहेकी छौ नि।'
'जुत्ता त सप्राइज हो दिदी।'
तर उसले त पहिलेदेखि ‘कन्टेन्ट बनाउनु छ’ भनेर 'आइफोन १७-प्रो म्याक्स' मागेको मग्यै थियो। हिजो पनि कोही आउँदैछ भने पठाइदेन दिदी भन्यो। यदि मैले नपठाए पनि त्यसले बुबाआमालाई हैरान पारेर जसरी पनि किन्न लगाइहाल्छ। बरू मै पठाइदिन्छु भनेर।'
'अनि यति चाँडो आइफोन पायो त? अस्ति म बुझ्न जाँदा स्टकमा रहेनछ त।' मैले अलि कुरा लम्बाएर सोधेँ।
'मैले त पहिला नै आफ्नो लागि बुक गरेको थिएँ। तर भाइले म भन्दा पनि बढी रहर गर्यो ह्या भनेर त्यही पठाउन लागेको। हिजो भर्खरै स्टोरबाट ल्याएको दिदी।'
मैले शान्त स्वरमा भनें— नानी फोन चाहिँ अरूकै हातमा पठाऊ। मैले लान मिल्दैन। मेरो एउटा साथीको पनि मोबाइल लगिदिँदैछु नयाँ, त्यसैले दुई वटा नयाँ मोबाइल लान रिस्क हुन्छ, एयरपोर्टमा झमेला गर्न सक्छ। आइ एम सरी' भनेँ।
उनी आनाकानी गर्दै थिइन् तर म मेरो कुरामा अडिग रहेँ अनि उनले जिद्दी गरिनन्।
यसरी म आफ्नोभन्दा अरूको सामान धेरै बोकेर नेपाल उडेँ।
***
नेपाल पुगेको पर्सिपल्टै, म काठमाडौँबाट धादिङ घरतिर लागें। नैकाप बजारमा अर्थात् बाटैमा उही बहिनीको घर पथ्र्यो। मेल्बर्न नयाँ हुँदा मेलै उनलाई कोठा र काम खोजिदिएको थिएँ। त्यतिखेर उनको आमाबुबाले धेरै खुसी हुनुभएर आशीर्वाद दिनुभएको थियो।
नेपाल आउँदा नानी हाम्रो घरमा चिया खान भए पनि अवश्य पस्नु है भन्नुभएको थियो। त्यही सम्झेर पनि बरू सामान पनि लगिदिन्छु अनि चिया पनि पिउँछु भनेर गएँ। बहिनीबाट उहाँहरूको नम्बर लिएको थिएँ। कलंकी आउने बितिक्कै मनले जितेर नै उहाँहरूलाई कडा चिया बनाउनु है भनेर खबर गरेको थिएँ। एकै क्षणमा नै उहाँहरूले भनेको लोकेसनमा हामी पुग्यौं।
गेटबाट नै मसलेदार चियाको वासना फैलिरहेको थियो।
बहिनीको बुबाले हामीलाई भित्र लग्नु भयो।
भित्र बहिनीको आमा र भाइ थियो।
'जा दिदीहरूलाई पानी ल्याइजे।' बुबाले सोफामा एयरफोन लगाएर मोबाइल चलाउन व्यस्त छोरालाई भन्नुभयो। उसले सुन्दै सुनेन अनि बुबा आफै गएर पानी ल्याउनुभयो।
आमा पनि हतार–हतार चिया छान्दै हुनुहुन्थ्यो। पानी दिइसकेपछि बुबा भान्साबाट फलफूल काटेर ल्याउनुभयो। भाइ भने सोफामा मोबाइलमै डुबेको छ। अघि एकछिन पुलुक्क हेरेर मुसुक्क हाँस्यो फेरि मोबाइलतिर घोत्लिन थाल्यो।
आमाले कडक चिया ल्याएर राखिदिनुभयो। मैले मेरो तर्फबाट उहाँहरूलाई ल्याएको चक्लेट टेबुलमा राखेँ। भाइतिर फर्केर भनें, 'बाबु तिम्रो दिदीले तिमीलाई तिहारको भाग पठाएकी छ। सप्राइज गिफ्ट हो।'
उसले सुनेन अनि बुबाले उसको कानको एयरपर्ड निकालिदिनुभया। ऊ झनक्क रिसायो।
'तँलाई दिदीले के पठाइदिएको छे रे हेर।' आमाले भन्नुभयो।
'आई फोन?' ऊ यत्तिकै एक्साइटेड भएर आफैले गेस गर्यो।
'आइफोन भन्दा महँगो चिज पठाइदिएकी छिन्।' मैले मजाक गरेर भनेँ र पोको उसलाई दिएँ।
भाइले हत्तपत्त पोको खोलेर हेर्यो अनि जुत्ता देख्यो। उत्तिनैखेर उसको अनुहार झन् अँध्यारो भयो। एक्कासि जुत्तालाई सोफामै फ्याँकिदियो र रिसाउँदै भित्रतिर दौडियो।
आमाले लामो सास फेर्दै भन्नुभयो, 'आइफोन मागेको, जुत्ता पठाइदिइछ भनेर रिसाएको हो। अहिलेकै केटाकेटीको चित्त बुझाउन सकिँदैन।'
त्यसैबेला मेल्बर्नबाट बहिनीको फोन आमाको मोबाइलमा बज्यो ।
'दिदी आइपुग्नुभयो ?'
'अँ, अहिले मात्रै आइपुग्नुभया अनि तेरो भाइको तमासा पनि देख्नुभयो' आमा हाँस्दै भन्नुभयो ।
'के भयो र?' बहिनीले अचम्म मान्दै सोधिन्।
आमाले जुत्ता देखाउँदै भन्नुभयो, 'तैंले पठाएको जुत्ता मन नपरेर ल हेर यही हुर्राएर गयो।'
'तीन सय डलरको जुत्ता हो त्यो, ला फुटपाथबाट किनेर ल्याएको दिए जसरी पो फ्याँकेको छ गधाले।' बहिनी फोनमा नै गाली गर्दै थिइन्।
'आफूले लगाउन मन भएको लुगा नकिनी झन् भाइले मन पराएको जुत्ता लगाओस् भनेर पठाएको त त्यसरी पो फाल्छ कुकुरले।' बहिनी अझै थप्दै थिइन्।
'कुकुरलाई घ्यू नपचेको भनेको यही हो छोरी।' बुबाले परैबाट भन्नुभयो।
त्यहाँ त माहोल नै अर्कै बन्न थाल्यो।
त्यही माथि बुबाले थप्नु भयो, 'दिनभर भिडियो गेम, काम गर्न जाने हिम्मत छैन, तर ब्रान्डेड कपडा र महँगो फोनको डिमाण्ड गर्छ।'
त्यति नै बेला भाइ झन् रिसाउँदै कोठाबाट बाहिर आउँछ र मम्मीको फोन खोसेर दिदीलाई गाली गर्न थाल्छ।
'तँलाई मैले आइफोन पठाइदे भनेको हैन? जुत्ता किन पठाको?'
बहिनीले धैर्य गर्दै सम्झाइरहेकी थिइन्— 'ल हेर मैले फोन किनेर राखेको थिएँ तर दिदीले अरू कसैको फोन लगिदिनुभएको रहेछ। दुई वटा नयाँ फोन नेपालमा लैजान समस्या हुन सक्छ भनेर लानु भएन। म पछि कसैको हातबाट पठाइदिन्छु भनेको त बुझ न।'
मैले पनि भाइलाई सम्झाए— तिम्रो दिदीले आफूलाई उहिल्यै अर्डर गरेको फोन तिमीलाई पठाउन खोजेको थियो परिस्थिति अलि बेग्लै भएर मैले ल्याउन सकिनँ।
तर भाइ मेरो पनि कुरा सुन्ने पक्षमा थिएन।
अनि दिदीसँग फेरि गुनासो गर्यो – अनि र्याफेलो चकलेट पनि पठाएको रहेनछ त?
'पैसा हालिदिन्छु जा गएर भाटभटिनीमा किनेर खा।' बहिनी रिसाएर भन्दैथिई।
'भाटभटिनी त जलेर खरानी भैसक्यो।' भाइ हाँस्दै भन्यो।
'तिमीहरूजस्ता उदो बुद्धि लागेकाहरूले त जलायो नि। अब खालास् र्याफेलो चक्लेट।'
'तँ बढी नबोल् है। विदेश गएर एक–दुई डलर कमाएर शान देखाएकी! हामी नेपाल बस्नेलाई हेप्ने?'
'चकलेट खान मन लागे जा चकलेट फ्याक्ट्रीमा गएर मजदुरी गर्,' बुबाले पनि त्यहाँ थपिदिनुभयो।
त्यहाँ भाइ र दिदीबीच फेरि वार पर्न थाल्यो।
'जा अब त तँलाई म केही पनि दिन्नँ। त्यो जुत्ता पनि दिदीलाई फिर्ता ल्याइदिनु भन्छु। अस्ति नै जुत्ता भनिस्, अहिले आइफोन, भोलि ल्यापटप, मन छिनछिनमा परिवर्तन गरेको छ। भोलि फेरि आइफोन होइन, एनड्रोइड चाहिन्छ भन्छस्। तँलाई आखिर के चाहिएको हो नै थाहा छैन। इस् दिउँला अब केही तँलाई।' बहिनी कुरा फेरि कताबाट घुमाउँदै कता कता पुर्याउन थालिन्।
बुबा छोराको हातबाट फोन खोस्दै झन् भडकिएर भन्नुभयो, 'ठिक भनिस् यसलाई के चाहेको नै थाहा छैन। हेरिराख केही महिनापछि आइफोन होइन मलाई क्यामेरा चाहिन्छ भन्न थाल्छ। यसको बानी नथापाएको हो र। हामी सबै चेतेर बसेको छ।
'यसलाई केही चाहिएको हैन, एक झापड नपुगेको हो बुबा।' बहिनी उताबाट कड्केर भनिन्।
आमा तुरून्तै बुबाको हातबाट फोन खोसेर छोरीलाई चुप लाग्न आग्रह गर्दै हुनुहुन्थ्यो।
'तँ पनि धेरै नबोल तँ। ऊ रिसाएर आगो भइसक्यो। रिसले आफ्नै घर जलाउन बेर लाग्दैन। चुपलाग नत्र यो झन् उग्र बन्छ।'
त्यहाँको माहोल हेर्दा महसुस गरेँ—त्यो घरमा यसरी झगडा हुनु पहिलोपटक होइन रहेछ।
बुबाले थकित स्वरमा भन्नु भयो, 'दिदीको कलेजको शुल्क तिर्न बाँकी छ। घरको आम्दानी त्यत्तिकै छैन। अब त उन्नाइस् पो भइसकिस् सानो तिनो जे जागिर गर्दा पनि हुन्छ त।'
भाइ झन् चिच्याउँदै भनिरह्यो, 'खान–लाउन दिन पनि नसक्ने भए मान्छेले बच्चा किन जन्माउने?' चक्लेट मागेको चक्लेट फ्याक्ट्रीमा काम गर्न जा रे। यस्तो पनि हुन्छ परिवार। घरमा मान्छे आउँदा सदै मेरो बेइज्जत गर्छन्।
'अनि घरमा मान्छे आउँदा तँ सधैं किन तमासा गर्छस् त।' उताबाट फोनमा बहिनी बोलिन्।
भाइ अझै थामिनसक्नु भएर भन्दै गयो 'साथीका बाउले बाइक, कार, बिजनेस सबै खोलिदिन्छन्। मेरो बाउले भने अण्डा खान मन लाग्यो बुबा भन्दा पहिला कुखुरा पालेर कुखुरालाई स्यार अनि अण्डा खा भनेर जबाफ लगाउँछ।'
बुबा फेरि कराउनुभयो, 'ठूला–ठूला कुरा गर्छस्। खुरूक्क जा भित्र। अनि भाइ खुरूक्क भित्र जान्छ।
म त्यहाँ बसेर उनीहरूको आवाज, अनुहारको थकान, वर्षौंको दबिएको तनाव—सबै महसुस गरिरहेकी थिएँ। त्यो लक्जरी झगडा आजको मात्र होइन, लामै समयदेखि रहेको अनुमान लगाएँ।
कपमा आधा चिया बाँकी थियो स्वाट्ट पारेर म बिदा हुन उठेँ।
उहाँहरूले छोराो त्यो व्यवहारप्रति माफी माग्नुभयो।
'नानी पहिलो पटक आउनुभयो। राम्ररी गफ गर्न पनि पाएन यस्तो तनाव पो भोग्नु भयो भन्नुभयो। उहाँहरूले मेल्वर्न फर्कनुभन्दा अगाडि बरू एकदिन खाना खान आउनु न भन्नुभयो।'
मैले मिलेसम्म मिलाउँछु भनेर बिदा लिएँ।
बाटोमा फेरि के होला भनेर जानुभन्दा अगाडि शौचालय छिरेर जाने निधो गरेँ।
शौचालाय भाइको कोठा नजिकै रहेछ। शौचलयबाट निस्कँदा भाइको कोठाको ढोका अलिकति खुला भएको देखेँ। त्यही साइडको वालमा हालसालैको एउटा फोटोलाई फ्रेम गरेर राखेको रहेछ। भित्र केही महिनाअघिको जेनजी आन्दोलनको उसको फोटो थियो। फोटोमुनि लेखिएको थियो—
'भ्रष्टाचार बन्द गर।
नेपो बेबी कल्चर बन्द गर।
जनताको करको पैसाले लक्जरी जीवन बन्द गर।'
फोटोमा उसको आँखामा क्रोध थियो, क्रान्ति थियो, विद्रोह थियो—एडिडासको टी–सर्ट, नाइकीको जुत्ता, क्याल्भिन–क्लाइनको टोपी लगाएर सडकमा चोर औँला देखाउँदै चिच्चाउँदै थियो।
त्यो देखेर रूनु कि हाँस्नु भयो। त्यही तस्बिरको युवक—आज आइफोन १७ नपाएकोमा घर नै अशान्त बनाइरहेको थियो। ब्राण्डको उपभोगको लागि घरमा युद्ध गरिरहेको थियो।
ढोकाबाट बाहिर निस्कँदै मैले मनमनै सोचेँ—
उही एउटै शरीरभित्र दुई व्यक्तित्व बस्छन्।
एक, जो सडकमा नारा लगाउँछ, न्यायका लागि लड्छ, भ्रष्टाचारको विरोध गर्छ, नेपो–बेबी कल्चरलाई चुनौती दिन्छ।
अर्को, जो घरभित्र लक्जरी नपाउँदा आमाबुबालाई थकित पार्छ, दिदीलाई अपराधबोध गराउँछ।
त्यसदिन मैले दुई प्रकारको युवाहरू सम्झेँ
पहिलो,
जो साँचिक्कै सडकमा न्यायका लागि लड्छ,
भ्रष्टाचार विरूद्ध भोट र आवाज उठाउँछ,
नेपो–बेबी र राज्यको फजुल खर्चको विरोध गर्छ।
दोस्रो,
जो घरभित्र उही लक्जरी नपाउँदा आमाको आँसु झार्छ,
बुबालाई थर्काउँछ,
दिदीलाई अपराधबोध गराउँछ।
त्यसदिन मैले बुझें—
कोही युवाहरू जेनजी क्रान्ति पनि गर्छ,
तर लक्जरीको क्रान्ति पनि खोज्छ।