मंसिरको चिसो रात, बागमती किनारको कुहिरो, बत्तीले उज्यालो पाइरहेको पाशुपत क्षेत्र— यही वातावरणभित्र यो वर्ष पनि बाला चतुर्दशीको आस्था चम्किलो देखियो। रात गहिरिँदै जाँदा पनि मानिसहरूको उत्साह घट्ने हैन बरु झन्-झन् बढ्दै गइरहेको थियो। विशेष गरी वृद्ध–वृद्धाहरूको धैर्य हेर्दा लाग्थ्यो— मानिसको शरीर उमेरसँगै कमजोर भए पनि मनभित्र बस्ने आस्था भने झन् बलियो हुँदै जाने रहेछ। हात काँपेको, सासले बाफ निस्किएको जस्तो देखिए पनि उनीहरूका आँखामा पितृप्रति कृतज्ञताको उज्यालो बलिरहेको थियो।
बाला चतुर्दशी हिन्दु परम्परामा केवल कर्मकाण्ड होइन, पुर्खाहरूको स्मरण, कृतज्ञता र मनको शुद्धीकरणको एउटा पुरानो र गहिरो संस्कार हो। सत् बीज छर्ने चलनले जीवनका सात सद्गुण—दया, सत्य, धैर्य, क्षमा, सहयोग, करुणा र शान्ति मानिसको मनमा रोप्छ। यिनै गुणहरूमार्फत पितृहरूको कल्याणको कामना गरिन्छ। तर आज यो परम्परासँग अर्को दृश्य पनि जोडिएको छ—अनियन्त्रित भीड, रातभर जाग्राम, युवाहरूको उद्दण्डता र कतै नछुट्ने बाथरुमका घण्टौँ लामा लाइनहरू।
बाथरुममा लाइन लागेर बसेका वृद्ध–वृद्धाहरू धेरैजसो ६०, ७० वर्ष नाघेका। कसैले टेको टेक्दै उभिएका, कसैले चुपचाप हात तातो बनाउन कोटको खल्ती भित्र गुम्स्याएका। बढ्दै गएको चिसोले थरथराएको शरीर तर पनि उनीहरूको अनुहारमा उदासीनता हैन, बरु एउटा अद्भुत शान्ति थियो र ‘यो मेरो कर्तव्य हो’ भन्ने आन्तरिक विश्वास पनि। भीड र व्यवस्थापन कमजोर हुँदा कहिलेकाहीँ धक्का–मुक्का, असहज अवस्था देखिए पनि उनीहरूको सहनशीलता भने अडिग थियो। त्यही क्षणमा प्रश्न उब्जियो— के यो सहनशीलता आस्थाको शक्ति हो, कि पीडा पनि परम्पराकै अङ्ग हो भन्ने हाम्रो मौन स्वीकार?
धर्मले दुःख होइन, मनको पवित्रता माग्छ। पितृहरूले पनि कुनै समयमा आफ्ना सन्तानलाई विवेक, सदाचार र सहज जीवनको बाटो सिकाए। त्यसैले, भीड, चाप र चिसोमा बूढाबूढीलाई कष्ट सहन बाध्य पार्ने अवस्था देख्दा कहिलेकाहीँ लाग्छ— हाम्रो आस्था हृदयको स्नेह हो कि शरीरले सहनुपर्ने बोझ? तर जब उनीहरूले भन्छन्, ‘यो गरेपछि मन हलुका हुन्छ।’ त्यही वाक्यबाट थाहा हुन्छ— यसमा आस्था मात्र छैन, आत्मसन्तुष्टि र मनोवैज्ञानिक शान्तिको अदृश्य शक्ति पनि मिसिएको छ।
त्यो चिसो रातमा आस्थाको त्यान्द्राले सम्हालिएका वृद्ध शरीरहरूले खेपेका अनेकौँ कष्टहरूमा पनि व्यवस्थापनले प्रभावकारी भूमिका खेल्न नसकेको देख्दा लाग्यो परम्परा जोगाउनु, स्मरण गर्नु, पुज्नु राम्रो हो तर परम्परा जोगाउने क्रममा जीवित मानिसको सम्मान, सुरक्षा र सुविधा पनि उस्तै महत्त्वका हुन्। साँच्चै परम्परा पवित्र त तब हुन्छ, जब त्यसले मानिसलाई पीडा होइन, प्रेरणा दिन्छ। आस्थाको शक्ति त तब मात्र अर्थपूर्ण हुन्छ, जब भक्तजनलाई सहजता, सुरक्षित वातावरण र सम्मान पनि साथमा उपलब्ध हुन्छ।
बाला चतुर्दशीको रातले अन्ततः मलाई यही बोध गरायो कि पितृको सम्मान मनबाट हुनुपर्छ, पीडाबाट होइन। जीवित मानिसलाई सुरक्षित र सहज राखेर गरिने कर्म नै पितृलाई समर्पित सबैभन्दा पवित्र काम हो। सत् बीजले सिकाउने सात सद्गुणमध्ये पहिलो नै दया हो र त्यो दया जिउँदो मान्छेप्रति बराबर हुनुपर्छ। यही बुझाइबाट मात्र परम्परा आत्मसन्तुष्टिको आवरण होइन, मनलाई बोध गर्ने वास्तविक यात्रा बन्ने छ।