म पहिलो पटक स्याङ्जाबाट बुटवल झर्दा, त्यो मेरो लागि एउटा नयाँ संसार जस्तै थियो। टाढाबाट चम्किएजस्तो देखिने चिल्ला सडक, लाइन लागेका पसलहरू, गाडीहरूको हर्न, ठुला घरहरू, व्यस्त मान्छेहरू, सबै एकै चोटि अपरिचित लाग्थे। गाउँको शान्त वातावरणमा हुर्किएको मेरो मनलाई यो भिडभाडको जीवनले सुरुमा अलमल्यायो।
गाउँबाट पहिल्यै झरेका बा’का तरेलीहरू र आफन्तहरू भेट्न थालेँ। केही दिन उनीहरूको संगतमा बित्यो। उनीहरूसँग हिँड्दा प्रायः एउटै किसिमको कुरा सुनिन्थ्यो- ‘हामी यहाँ झरेका बेला कति सस्तो थियो जमाना! अहिलेको यो घर भएको ठाउँ त दस हजारमै किनेका थियौँ।’
म 'ओहो!' भन्दै जिब्रो टोक्थेँ, आश्चर्यचकित हुन्थेँ। त्यसपछि मनमनै प्रश्न उठ्थ्यो, मेरा बा पनि त्यस बेला तराई झरेको भए कस्तो हुन्थ्यो होला!
आफ्ना बा’को अनुहार सम्झन्थेँ। गाउँका खेतबारी, माटाका घर, हाँस्ने खेल्ने गाउँले जीवन त्यसैमा रमाएका बा सहर झर्ने कुरा कहिल्यै सोच्नुभएन कि सोच्दा पनि त्यति सजिलो थिएन होला। म भने हेर्दै गएँ, उबेला तराई झरेका बा’का तरेली साथीहरूका अहिले सहरमा ठुला घर र गाडी भएका छन्।
सस्तोमा किनिएका जमिनहरू अहिले करोडौँको मूल्यमा पुगेका छन्। म जीवनको गति समात्न संघर्ष गर्दै गर्दा उनीहरूका सन्तान सहरको बिलासी जीवन बाँचिरहेका छन्। कम्मरमा गाडीको चाबी अड्काउँदै घुमेका छन्। मलाई लाग्थ्यो, बा’ले त्यो बेला सहर झरेको भए आज म पनि यस्तै जीवन जिउँथेँ होला!
एक दिन एक आफन्तको घरमा चिया पिउँदै गर्दा उनले भने- ‘जमाना सोचे जस्तो थिएन केटा! त्यति बेला त हजार रुपैयाँ जुटाउन पनि वर्षौँ लाग्थ्यो!’ ती वाक्यले मलाई एकाएक झस्कायो। मलाई बल्ल महसुस भयो, त्यो बेला जग्गा सस्तो थियो होला तर पैसा पनि त सस्तो थिएन। आजको लाख, उबेलाको हजारजस्तै थियो। त्यो हजार पनि आम मानिसका लागि सजिलै जुट्ने कुरा थिएन।
म अहिले लाख खर्चेर पनि सहरमा जमिन किन्न सक्दिनँ, त्यस्तै उबेला बा’ले पनि हजार खर्चेर किन्न सक्नुभएन। समय, परिस्थिति, जिम्मेवारी, विकल्प यी सबै कुराले मान्छेको निर्णय निर्धारण गर्ने रहेछ।
हिजो बेलैमा सहर झर्नेहरू महँगा गाडी चढेर हिँडिरहेका छन्। उनीहरूका सन्तान विदेश पढ्न गएका छन्। म भने आफ्ना छोरालाई कुन स्कुल सस्तो छ भनेर चहार्दै छु।
जसरी उबेला बा’का साथीहरू तराई झरे, अहिले मेरा साथीहरू युरोप, अमेरिका, क्यानडा पुगेका छन्। कोही पिआर लिएर बसेका छन्, कोही ग्रिनकार्डधारी भएका छन्। फेसबुक र इन्स्टाग्राममा तस्बिर हेर्दा लाग्छ- ती देशमा घाम पनि सुनौलो लाग्छ। उनीहरू अब फर्केर स्थायी रूपमा नेपाल आउँदैनन्। बरु यता भएका हामी पनि अब सुविधा र अवसरको खोजीमा त्यही देश जाने सपना देख्दै छौँ।
मैले कहिल्यै नपत्याएको सपना मेरो छोराले पूरा गर्न सक्ला, विदेशको विमान चढ्ने सपना। मैले बुटवलका गल्लीमा बा’का साथी र उनका छोराछोरी भेटेजस्तै उसले पनि क्यानडा र युकेका गल्लीमा भोलि मेरा साथी र उनका छोराछोरी भेट्न पुग्ला। त्यहाँ जिउन संघर्ष गर्दै गरेको उसले उनीहरूको रहनसहन देखेर मलाई सम्झिएर भन्ला- कास! मेरा बा पनि त्यो बेला यतै आएका भए!
त्यस दिन मैले मेरा बा’लाई बुझेजस्तै, उसले पनि मलाई बुझ्ला; बा’का आफ्नै बाध्यता थिए होलान्, आफूले पनि आफ्ना बाध्यता अनुसार निर्णय गर्ने हो। हिजोका कुरा, आजको दिन मैले गाउँ छोडेर सहर छानेँ, एक दिन मेरो छोराले पनि सहर छोडेर परदेश रोज्ला।
तर जसरी मैले एक दिन बुझेँ बा’ले आफ्नो समयअनुसार निर्णय गर्नुभयो, मलाई लाग्छ मेरो छोराले पनि एक दिन त्यही बुझ्नेछ- बा’का आफ्नै बाध्यता थिए।
सायद समय नै सबैभन्दा ठुलो शिक्षक हो जसले कुनै पुस्तालाई तत्काल चुकाएको जस्तो लागे पनि, अन्ततः त्यसै समयले हामीलाई परिपक्व बनाउँछ।