मेरा नाति आविश काठमाडौंको चुच्चेपाटीस्थित वैदिक विद्यापीठमा पढ्छन्। विद्यापीठबाट फर्किनासाथ उनी मलाई कुनै न कुनै नयाँ कुरा सुनाउँछन्।
कहिले चुट्किला सुनाउँछन् त कहिले विद्यालयमा भएको कुनै घटना। कहिले कुनै प्रश्न सोध्छन्।
यसरी उनी मलाई मनोरञ्जन गराउँछन्।
म उनका धेरैजसो प्रश्नको जबाफ सहजै दिन्छु तर कहिलेकाहीँ यस्ता प्रश्न सोध्छन् कि मसँग कुनै जबाफ हुँदैन। जबाफको कुनै उपाय पनि लाग्दैन। मैले जबाफ दिन नसकेपछि उनी आफै दिन्छन्।
त्यस्तो बेला उनी मेरो योग्यतामाथि प्रश्न उठाउन पनि पछि पर्दैनन्।
भनिहाल्छन् — हजुर पहिले कलेजमा पढाउनुहुन्थ्यो रे होइन? अनि यति जाबो प्रश्नको जबाफ पनि आउँदैन?
म हाँसेर टार्छु।
बालक हुन्, उनले जे भने पनि स्वीकार्य हुन्छ, रमाइलो लाग्छ।
उनका प्रश्नबाट म पनि केही न केही सिकिरहेको हुन्छु। कहिलेकाहीँ त ख्यालख्यालमै मेरा लागि निकै गम्भीर कुरा पनि भन्छन्। उनी मेरा साना शिक्षक हुन्छन् अनि म उनको एक प्रौढ तर 'बुद्धु' विद्यार्थी हुन्छु।
सधैंझैं केही दिनअघि उनले मेरो योग्यता परीक्षाका लागि प्रश्न सोधे — हजुरबा! म आज एउटा प्रश्न सोध्छु, विचार गरेर जबाफ दिनुपर्छ है!
मैले भनेँ — सिधै प्रश्न सोध, म जबाफ दिने प्रयास गर्छु। मैले सकिनँ भने तिमी छँदैछौ।
भूमिका सहित प्रश्न आयो — ध्यान दिएर सुन्नुहोस् है। एक जना धनी, करोडपति बाबुका चार जना मूर्ख छोरा विदेशमा धेरै पढेर घर फर्किएछन्। छिमेकीले किराना पसलबाट धेरै पैसा कमाएको देखेर उनीहरूले पनि एक करोड रूपैयाँ लगानी गरेर ठूलो किराना पसल खोलेछन्। एक वर्षपछि त उनीहरू करोडपतिबाट लखपति भएछन्, कसरी होला?
एक छिन सोचेर जबाफ दिएँ — उनीहरूको पसलमा ग्राहक आएनन् होला, बिक्री भएन होला अनि घाटा भएर लखपति भए होला।
मेरो जबाफ मिलेन।
उनले प्रश्न थप प्रस्ट पारे — होइन क्या! बिक्री धेरै हुन्थ्यो, पसल खुब चलेको हुन्थ्यो। पसलमा ग्राहकको भिड लाग्थ्यो, वरिपरिका पसल सुकेका थिए।
मैले आश्चर्य प्रकट गरेँ — त्यसरी पसल चलेको भए त करोडपतिबाट लखपति नहुनुपर्ने। बरू अर्बपति पो हुनुपर्ने! करोडबाट लाखतिर त नझर्नुपर्ने!
नातिले हाँक दिए — होइन हजुरबा! सोच्नुहोस् के, अझै सोच्नुहोस्।
म अझै अलमलिएपछि उनले ठीक जबाफको नजिक पुग्न एउटा सुराक दिए — मैले सुरूमै भनेको थिएँ नि, धनीबाबुका मूर्ख छोराले पसल खोलेका थिए भनेर; ल विचार गर्नुहोस्।
अहँ, मेरो दिमागमा केही पनि घुसेन। सुराकले पनि काम गरेन।
म पछि हटेँ अनि भनेँ— लौ बाबु! मैले हार खाएँ, मलाई जबाफ आएन, तिमी नै बताइदेऊ।
नातिले प्रश्नबाट जबाफ सुरू गरे — व्यापारीले त आफूले जति पैसामा सामान किनेर ल्याएको हो, त्यसमा केही नाफा राखेर बेच्नुपर्ने होइन?
हो, मैले समर्थन जनाएँ।
खास जबाफ आयो — ती मूर्ख पसलेहरू जतिमा सामान किनेर ल्याउँथे, त्यसको आधा मूल्यमा बेच्थे। नब्बे रूपैयाँ किलोमा ल्याएको चिनी दस रूपैयाँ नाफा राखेर सय रूपैयाँमा बेच्नुपर्नेमा पचास रूपियाँमै बेचिदिन्थे। यसरी उनीहरूको पसल त चल्यो तर उनीहरू एक वर्षमा करोडपतिबाट लखपति भए।
हामी हजुरबा र नातिबीच व्यापारको कुरा भयो। व्यापारबाट मान्छे कसरी धनी हुन्छ र त्यही व्यापार कसरी डुब्छ भन्ने कुरा भयो। मूर्ख छोराहरूको व्यापारिक काइदाको कुरा गर्दै हामी हास्यौं।
अर्को दिन विद्यापीठबाट फर्किनासाथ नातिले भने — हिजोका धनी बाबुका मूर्ख छोराको कथा सकिएको छैन है हजुरबा!
मैले जिज्ञासा राखेँ — तिनीहरूको व्यापार त डुब्यो नि, अझै के बाँकी छ र?
फेरि अलिकति भूमिकासहित प्रश्न राखे — किराना पसलबाट नाफा नहुने रहेछ भनेर ती मूर्खहरूले एउटा पेट्रोल पम्प खोलेछन् तर उनीहरूको पेट्रोल पम्पमा तेल हाल्न कोही पनि गएनछन्, किन होला?
फ्याट्ट जबाफ दिएँ — गाडी नै नभएको ठाउँमा गएर पेट्रोल पम्प खोले होला।
जबाफ मिलेन। धेरै गाडी चल्ने सहरमै खोलेका थिए रे।
मैले निकैबेर निधार खुम्च्याएँ तर पेट्रोल पम्प नचल्नुको कारण पत्ता लगाउन सकिनँ।
आखिर जबाफ उनैले दिनुपर्यो।
हाँस्दै आफै भने — होइन क्या हजुरबा! ती मूर्खहरूले गाडी जान मिल्ने बाटो नभएको ठाउँमा पेट्रोल पम्प खोलेछन्।
मैले राज्यका निकायले ठाउँठाउँमा बनाएका भ्युटावर र सडक नभएको ठाउँमा बनाएको पक्की पुल सम्झेँ। मैले थाहा पाएसम्मका यस्ता दृश्य चलचित्रका रिलझैं मेरो मस्तिष्कमा पालैपालो आए।
सोचेँ, कुन बुद्धिले यस्ताको काम गराउँदो हो!
नातिले अर्को दिन अर्को प्रश्न सोधे — हजुरबा! पेट्रोल पम्पबाट पनि डुबेपछि ती चार जना मूर्खहरूले एउटा ट्याक्सी किनेर चलाउन थाले तर ट्याक्सी चढ्न कोही पनि आएन, कसैले सोधेन, किन होला?
फ्याट्ट जबाफ दिएँ — ट्याक्सी थोत्रो थियो, कसैलाई पनि मन परेन...।
मेरो कुरा पूरा हुन नपाउँदै नातिले हस्तक्षेप गरे — होइन, नयाँ थियो, न्यू ब्रान्ड, न्यू इभी थियो।
मेरो दिमागमा जबाफ फुरेन। अँह, मलाई आएन भनेर पछि हटेँ।
यत्ति पनि जान्नुहुन्न हजुरबा त भन्दै आफै जबाफ दिए— ट्याक्सीमा ती चारै जना मूर्खहरू बस्दा रहेछन्। भित्र सिटभरि मान्छे देखेपछि कसैले सोध्ने कुरै भएन!
म बेस्सरी हाँसेँ। मेरो हाँसोले नाति आविशलाई पनि हँसायो।
मैले हाम्रा राजनीतिक पार्टीका बुढा नेताहरूलाई सम्झेँ। दोस्रो पुस्ताका नेता पनि सम्झेँ।
यति बेला मुलुकमा बुढा नेता र युवा नेताबीच नेतृत्वका विषयमा छेडाखानी छ। युवा नेताहरू बुढो नेताले विश्राम लिनुपर्छ भन्छन्, बुढो नेता मैले छाड्दा त आकाशै खस्छजस्तो गर्छ।
अर्को दिन विद्यापीठबाट आउनासाथ आविशले भने — हजुरबा! यात्रु कोही नआएपछि ती मूर्खहरूले त्यो नयाँ ट्याक्सी के गरे, थाहा छ?
मैले जबाफ दिइहालेँ — बेचे नि, अरू के गर्न सक्थे र!
उनी कस्सिए– बेचेनन् के हजुरबा!
मैले आश्चर्य प्रकट गरेँ — अनि के गरे त!
नातिले हाँस्दै भने — तिनीहरूले ट्याक्सी अग्लो भिर भएको ठाउँमा लगे अनि भिरबाट खसाउन सडक किनारामा राखेर चारै जनाले बेस्सरी धकेले।
उत्साहित हुँदै मैले भनेँ — ए! त्यसो भए ट्याक्सी भिरबाट खसाइदिए!
'खसाएनन् के हजुरबा,' नातिले अर्को अड्को थापे, 'जति धकेल्दा पनि ट्याक्सी धकेलिएन। तिनीहरूले भिरबाट झार्न सकेनन्, किन होला भन्नु त!'
म एक छिन म अवाक भएँ।
बिस्तारै बोलेँ — अगाडि एउटा ढुंगो थियो होला, ती केटाले देखेनन् होला।
यो पनि मिलेन। ढुंगो थिएन रे! केही पनि थिएन रे!
हजुरबाका सबै जबाफ नमिलेपछि नातिमा विजयीभाव देखा पर्यो — मलाई थाहा थियो हजुरबाले उत्तर दिन सक्नुहुन्न भन्ने। हजुरलाई यस्तो कुरा थाहा हुँदैन के!
कुरा के रहेछ भने ती केटा दुई जना अगाडितिरबाट र दुई जना पछाडितिरबाट ट्याक्सी धकेल्दा रहेछन्!
मैले हाम्रा राजनीतिक दलहरूले चारैतिरबाट संविधान चिथोरेको सम्झेँ। संविधान संशोधन गर्ने दुई ठूला दलको प्रतिबद्धतामा सिन्को नभाँचिएको सम्झेँ। भ्रष्टाचारले देशको अर्थतन्त्र निचोरिएको सम्झेँ।
अजब नगरी गजब चाला, जो जो चार सय बीस गर्न सक्छ उसउसले खाला!
यस्तैमा म त बुढो हजुरबा भइसकेँ। आफ्नो बुढ्यौली सम्झेर मनमा चिसो पस्यो। अबको समय नातिको हो। मैले नातिलाई निर्निमेष हेरिरहेँ।