बलिउडका 'तीन खान' (शाहरूख, सलमान र आमिर) मध्ये मलाई सबैभन्दा मनपर्ने आमिर खान हुन्।
यी तीन खानमध्ये फिल्म, पैसा र फ्यान फलोइङको स्टारडम दौडमा सबैभन्दा पछि आमिर नै छन्। मजस्ता धेरै दर्शकका प्रिय पनि उनी नै छन्।
उनले खेलेका र बनाएका फिल्मकै कारणले मेरा लागि उनी प्रिय भएका हुन्। उनका अधिकांश फिल्म मनोरञ्जनपूर्ण त छँदैछन्, उद्देश्यपूर्ण पनि छन्।
उनका फिल्मले पाखण्ड प्रोत्साहित गर्दैनन् बरू आफ्नो शैलीमा त्यसको खण्डन गर्छन्। मलाई विशेष मनपर्ने पक्ष पनि यही हो।
उनको फिल्म 'थ्री इडियट्स' जति रमाइलो छ, त्योभन्दा बढी त त्यसले शिक्षामा नयाँ सोच चाहिन्छ भन्ने कुरा बहसमा ल्याएको छ।
सामान्यतया अहिलेको दुनियाँमा धेरै फिल्म क्षणिक मनोरञ्जनका माध्यम भएका छन्। टेलिभिजनको पर्दामा हेर्दा होस् कि हलको पर्दामा, अधिकांश फिल्मले प्रदर्शनपछि समाजमा कुनै प्रभाव पार्दैनन्। हेर्यो मनोरञ्जन लियो, फर्कियो, सकियो।
आमिर खानका अधिकांश फिल्म यसविपरीत छन्, फिल्मको कथा र दृश्यबारे सोच्न बाध्य पार्छन्। उनले फिल्म मात्रै उद्देश्यपूर्ण बनाएका छैनन्। टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' प्रस्तोताका रूपमा सामाजिक जागरणमा झन् बढी महत्त्वपूर्ण काम गरेका छन्। त्यही कार्यक्रमको सिको गरेर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले 'ऐना' बनाए।
अब चर्चा गरौं 'सितारे जमिनपर' को।
यो फिल्म गत जुन २० मा रिलिज भएको थियो। आमिर खानको आफ्नै प्रोडक्सन हो। उनले हलमै रिलिज गरे। फिल्मले विश्वव्यापी रूपमा २६६ करोड भारतीय रूपैयाँ कलेक्सन गरेको भनिएको छ।
यस हिसाबले यो फिल्म 'ब्लकबस्टर' नभए पनि हिट मान्न सकिन्छ। 'लालसिंह चढ्ढा' बाट गुमेको शाख 'सितारे जमिनपर' ले फर्काइदियो, नाफा पनि कमाइदियो।
आमिर खानले यो फिल्म सबैको आशाविपरीत ओटिटी प्लाटफर्ममा रिलिज नगरेर यही अगस्टको सुरूमा युट्युबमा रिलिज गरेका छन्। भारतमा सय रूपैयाँ तिरेर हेर्न पाइन्छ। अन्य देशको हकमा त्यहीँको सहटी दरमा हेर्न पाइन्छ। यसको अर्थ नेपालमा १६० रूपैयाँमा हेर्न पाइन्छ।
'तारे जमिनपर' डिस्लेक्सिया भएका अर्थात् राम्ररी सिक्न नसक्ने एक जना बालकका बारेमा थियो। त्यसको सिक्वेलका रूपमा 'सितारे जमिनपर' बौद्धिक अपांगता भएका किशोरकिशोरीका बारेमा छ।
'तारे जमिनपर' आमिर आफैले निर्देशन गरेका थिए। यो फिल्म 'इमोसनल ड्रामा' थियो। अलिक गम्भीर र मान्छेलाई रूवाउने खालको थियो।
'सितारे जमिनपर' मा आरएस प्रसन्नालाई निर्देशक बनाए। यो धेरै हदसम्म 'कमेडी जनरा' मा बनाइएको छ। अलिक चटपटे र हँसाउने खालको छ।
यस फिल्ममा बौद्धिक अपांगता भएका व्यक्तिलाई 'गुड्स फर नथिङ' का रूपमा बोझ मान्ने प्रचलनका बीच यस्ता पात्रमार्फत कमेडी र इमोसन पस्किनु मेरा लागि अनौठो पक्ष हो।
यो फिल्मले बौद्धिक अपांगता भएका व्यक्तिहरू पनि बास्केटबल जस्तो कठिन खेलको राम्रो खेलाडी हुन सक्छन् भन्ने देखाएको छ। यो पनि कुनै नाटकीय पारामा होइन, अत्यन्त स्वाभाविक तरिकाले।
यी दुवै पक्षलाई मैले फिल्मको खास विशेषता मानेको छु।
अब चलचित्रको कथावस्तुबारे थोरै चर्चा गरौं।
गुल्सन अरोडा अर्थात् आमिर खान खेलका सहायक कोच हुन्छन्। उनको टिम हारिरहेको हुन्छ। उनका सिनियर कोचमार्फत सच्याएर खेलाउन आग्रह गर्दा सिनियर कोचसँग हात हालाहाल हुन्छ।
यसबाट निराश भएर गुल्सन रक्सी पिएर गाडी चलाउँछन्। उनी प्रहरीको फन्दामा पर्छन्। अदालतले पहिलेको 'क्रिमिनल रेकर्ड' नभएको आधारमा उनलाई सच्चिने मौका दिन्छ तर बौद्धिक अपांगता भएका किशोरहरूको बास्केटबल कोचका रूपमा काम गर्न आदेश दिन्छ।
अपांगता नभएका व्यक्तिलाई खेलाएर जिताउन त कठिन हुन्छ भने बौद्धिक अपांगता भएकाहरूलाई खेल सिकाउनु महाभारत हुने नै भयो।
यसकै सेरोफेरोमा कथा अघि बढ्छ।
एउटा हिरोले गर्ने चमत्कारजस्तै आमिरले यसमा पनि चमत्कार गरेका छन्। अपांगता भएका किशोरहरूको टिमलाई 'स्टेट लेभल' मा त जिताउँछन् नै, 'इन्टर स्टेट लेभल' को प्रतिस्पर्धामा उनको टिम दोस्रो हुन्छ।
एक प्रकारले असम्भव जस्तै मानिएको काम गरेकाले उनी पुरानै सिंगो टिमको प्रमुख कोच बन्छन्।
यतिमै फिल्म सकिन्छ।
यो फिल्ममा मेरो मन छुने पक्षहरू धेरै छन्। सामान्यतया अपांगता भएका वा बौद्धिक अपांगता भएका व्यक्तिहरू परिवार, समाज र देशका लागि 'गुड्स फर नथिङ' हुन्छन् भन्ने भाष्य व्याप्त छ।
कमी कमजोरी त आफूलाई सद्दे र चलाख मान्नेहरूसँग पनि हुन्छ। बौद्धिक अपांगता वा अपांगता भएका व्यक्तिसँग पनि विशिष्ट क्षमता हुन्छ। त्यो क्षमता उपयोगबाट समाज लाभान्वित हुन सक्छ भन्ने कुरा फिल्मले सशक्त ढंगले देखाएको छ।
त्यस्तै एक जनासँग विभिन्न जनावरको व्यवहार र भावना बुझ्ने क्षमता हुन्छ। उसले 'एनिमल केयर' विभागमा राम्ररी काम गरेको हुन्छ।
अर्का एक जनाले रेस्टुरेन्टमा भाँडा माझ्ने र अन्य सरसफाइको काम इमानदारीपूर्वक मिहिनेत गरेर आफ्नो खर्च जुटाएका हुन्छन्।
फिल्मले यस्ता अनेक व्यक्तिगत विशेषता देखाएको छ।
यसरी 'सितारे जमिनपर' ले 'गुड्स फर नथिङ' भन्ने भाष्य गलत साबित गरेर 'गुड्स फर एनिथिङ' भन्ने प्रमाणित गर्ने प्रयास गरेको छ।
कथा अनुसार जनावरको भावना बुझ्ने व्यक्तिलाई बाल्यावस्थामा तातोपानीमा नुहाउँदा अत्तालिएर मानसिक आघात परेको थियो। त्यस कारण उनी नुहाउन नमान्ने हुन्छन्, शरीर फोहोर भएर गनाउने हुन्छ। एउटा सानो पोखरीमा मुसा डुबाएर उनको डर भगाइन्छ।
आमिर खान आफै लिफ्ट प्रयोग गर्न डराउने हुन्छन्। बाल्यकालमा उनी कुनै लिफ्टमा फसेका हुन्छन्। उनको यो डर सबै मिलेर लिफ्टमा चढाएर हटाइदिन्छन्।
यी दुवै घटना तुलना गर्दा यस्तो घटना बौद्धिक अपांगता भएकामा होस् वा नभएका, सबैमा कमीकमजोरी हुन्छ; डर हुन्छ। काउन्सिलिङ (परामर्श) वा डर लागेकै विषयमा अभ्यासको प्रयासबाट हटाउन सकिन्छ।
'तारे जमिनपर' को संगीत मर्मस्पर्शी छ। 'सितारे जमिनपर' मा अलिक चटपटे खालको छ। तुलनात्मक रूपमा हेर्दा दोस्रोको संगीत केही कमजोर देखिन्छ।
'तारे जमिनपर' मा अस्वाभाविक घटना र दृश्यहरू उति थिएनन्। 'सितारे जमिनपर' मा केही मात्रामा अस्वाभाविकता र नाटकीयता देखा पर्छ।
'इन्टर स्टेट लेभल' को बास्केटबल प्रतियोगिता मुम्बईमा आयोजना भएको हुन्छ। बौद्धिक अपांगता भएका खेलाडीको टिमलाई हवाईजहाजबाट पठाउने बजेट हुँदैन। उनीहरू रेलको लामो यात्रा नसक्ने हुन्छन्।
यस्तो अवस्थामा फिल्मकी हिरोइनलाई प्रहरीको वेश धारण गराइन्छ। यस्ती प्रहरी कम तलबमा बढी काम गराएर मजदुरको शोषण गर्ने रेस्टुरेन्टमा जान्छिन् र एक एकप्रकारले 'ब्याकमेल' गरेर टिमका लागि खर्च जुटाउँछिन्।
यो दृश्य निकै अस्वाभाविक लाग्छ।
यो फिल्मका हिरोको व्यक्तिगत–पारिवारिक जीवन त्यति राम्रो हुँदैन। उनकी श्रीमती बनेकी जेनेलिया डिसुजा आफ्नै बच्चा चाहन्छिन् तर हिरो बच्चालाई बोझ ठान्छन्। उनका पिताले सानै उमेरमा छाडेर गएका र आमा एक्लैको पालनपोषणमा हुर्केका हुनाले बच्चालाई बोझ मान्ने मानसिकता बनेको हुन्छ।
बौद्धिक आपांगता भएका बास्केटबल खेलाडीकै प्रेरणाले बच्चालाई बोझ मान्ने समस्या पनि समाधान हुन्छ।
बौद्धिक अपांगता भएका व्यक्तिहरूको सेन्टरका प्रिन्सिपलले आफ्नो संवादमा नायकलाई भन्छन्– जहाँ सद्दे बच्चाहरू हुन्छन् त्यो परिवारलाई चाँडै बच्चाहरूले पढ्ने वा अरू बहानामा छोड्दै जान्छन् र घर शून्य हुन्छ।
त्यो शून्यताले घरमा भएका बाआमा उमेर नपुग्दै बुढ्यौलीमा जान्छन् तर यस्ता अपांगता भएका व्यक्ति घर छाडेर जाँदैनन् र कुनै न कुनै रूपमा बालापन जीवित हुन्छ, मान्छे बुढो भए पनि बुढ्यौलीमा जान दिँदैनन्।
फिल्मभरिमा मलाई सबैभन्दा मर्मस्पर्शी लागेको यही भनाइ हो, फिल्मको यही पक्ष हो।
केही ससाना कमजोरीहरू बाहेक आमिर खानको यो फिल्म पनि मर्मस्पर्शी र उद्देश्यपूर्ण छ। अहिलेको समाजलाई अपांगता भएका व्यक्तिहरू 'गुड्स फर समथिङ' भन्ने गतिलो शिक्षा–सन्देश दिएका छन्।
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्