गायिक एलिना चौहान र समिक्षा अधिकारीले सामाजिक सञ्जालमा उनीहरूको चरित्रसँग जोडेर विभिन्न अपाच्य प्रतिक्रिया दिनेहरूका एकाउन्टहरू सार्वजनिक गरिरहेका छन्।
जीवनको एउटा मोडमा भएको दुर्घटनालाई लिएर बाँच्दासम्म आफूलाई नै एकलौटी दोषी करार गरी लखेटिरहने एउटा जमातलाई उनीहरूले कानूनी कारबाहीका लागि समेत प्रक्रिया अगाडि बढाएका छन्।
हरेक कुरालाई व्यक्तिगत पक्षसँग जोडेर अत्यन्त तुक्ष्छ शब्द प्रयोग गरिएपछि उनीहरूले यो अभियानको थालनी गरेका हुन्।
उनीहरूको अभियानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा सह्राना समेत गरेका छन्। सामाजिक सञ्जालबाट पीडित हुने उनीहरू मात्रै एक्ला होइनन् कैयौं मानिसहरू अहिले यसको शिकार भइरहेका छन्।
सामाजिक सञ्जालले समाजमा धेरै सहजता थपेको छ। दिनप्रतिदिन सामाजिक सञ्जालको प्रयोग निरन्तर बढिरहेको पनि छ। स्ट्याटिस्टाका अनुसार सन् २०२७ सम्ममा विश्वभर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको संख्या ५.८५ अर्ब पुग्ने अनुमान गरिएको छ।
यसको विस्तारको गति हेर्दा यो तथ्यांक अझै बढ्ने अनुमान समेत कतिपय अनुसन्धानकर्ताले गरिरहेका छन्। संसारका ठूलाठूला देशहरूका निर्वाचनहरूलाई समेत सामाजिक सञ्जालले प्रभाव पारिरहेका छन्।
हरेक व्यक्तिलाई भूगोलको दूरता मेटेर सञ्चार सम्पर्कसँग प्रभावकारी ढंगले जोडिरहेको छ। आज क्षणभरमै एक ठाउँको खबर संसारभर पुगिरहेको छ। विश्वको एउटा कुनामा रहेको मानिसले कफी खाँदै अर्को कुनामा रहेको मानिस सँगसँगै बसेर छलफल गरेजस्तै कुराकानी गर्न सक्ने भएको छ। सामाजिक सञ्जालमार्फत् व्यापार व्यवसाय गरेर कैयौं मानिसहरूको जीवनको मेलो समेत अगाडि सरिरहेको छ। सामाजिक सञ्जालको विकासले सञ्चारको विकासलाई ह्वात्तै अगाडि बढाएको छ। तर के हामीले सामाजिक सञ्जालको प्रयोग मात्रै गरिरहेका छौं त? के सामाजिक सञ्जालले समाजमा विकृति निम्त्याएको छैन त? यसका बारेमा भने समीक्षा गर्नुपर्ने बेला भएको छ।
मैले कैयौं साथीहरू देखेको अनि भेटेको छु। जो सामाजिक सञ्जालमा हुने अनावश्यक गालीगलौजका कारण मानसिक तनावको शिकार भएका छन्। सामाजिक सञ्जाल होइन असामाजिक सञ्जाल हुँदा समाजमा धेरै खालका विकृतिहरू आएका छन्।
यसले एक व्यक्तिको मानसिक अवस्था गतिलो नहुँदा सिङ्गो समाजमाथि नै प्रभाव पारिरहेको छ। समाजमा केही यस्ता व्यक्ति छन्। जसलाई आफूले केही काम पनि गर्नु छैन र गरिरहेका कामहरूलाई अनेक खालका टीकाटिप्पणीहरू गरेर भाँजो हाल्नु मात्रै छ। उनीहरू आफै केही पनि गर्दैनन् तर समाजका हरेक कुराहरूलाई नकारात्मक तवरले मात्रै टिप्पणी गरेर काम गर्न चाहने मान्छेलाई भाँजो हालिरहन्छन्। तर विडम्बना अझ त्यस्ता व्यक्तिहरूलाई समाजको एउटा तप्काले साहसी र निडर भनेर झन् प्रश्रय दिइरहेको देखिन्छ।
सामुदायिक संघसंस्थामा नेतृत्व गर्नेहरू विशेष गरेर अहिले यसको शिकार भइरहेका छन्। देशमा लोकतन्त्र छ। हरेक सामाजिक विषयमा प्रश्न उठाउन सकिन्छ। तर प्रश्न उठाउने स्वतन्त्रता छ भन्दैमा कुनै पनि व्यक्तिको व्यक्तिगत आचरण र व्यक्तित्वमा असर पर्ने गरी नाजायज प्रश्न उठाउने छुट त अवश्य पनि कसैलाई छैन।
सामाजिक सञ्जालमा आउने विभिन्न खालका कुराहरूले नै अहिले सार्वजनिक व्यक्तिहरूलाई नेतृत्व गर्न असहज भइरहेको छ। व्यक्ति कुण्ठा र आवेगहरू फेसबुकमा पोखिँदा यसले आम मान्छेको जीवनलाई जटिल बनाउँदै लगेको छ।
कतिपय मानिसहरूका सामाजिक संघसंस्थासँग अनेकानेक स्वार्थहरू जोडिएका हुन्छन्। ती स्वार्थहरू पूरा गर्न सकिने खालका हुँदैनन्। सामाजिक संस्थाहरू निश्चित नियम र कानूनका आधारमा चलेका हुन्छन्। तर आफू अनुकूल काम भएन भने अर्काका बारेमा सामाजिक सञ्जालमा मन लाग्दो लेख्ने संस्कार मौलाउँदै गएको छ।
वास्तवमा सार्वजनिक निकायहरूमा अहिले यो समस्या निकै द्रूत रूपमा बढेर गएको छ। व्यक्तिगत फाइदा नहुँदा सामाजिक सञ्जालको प्रयोग गर्न लगाउने एउटा जमातले समाजमा द्धेष र असहिष्णुता फैलाउँदै गएको छ। यस्ता व्यक्तिहरूको समाजमा न त गतिलो पहिचान छ न त समाजका लागि केही योगदान गरिरहेका छन्। सामाजिक सञ्जालमा जस्तो खालको पनि टीकाटिप्पणी गर्ने भएको हुँदा यस्ता व्यक्तिहरूसँग जुध्नका लागि धेरैले आँट समेत गर्दैनन्। यसले उनीहरूलाई थप उत्प्रेरित गरिरहेको हुन्छ।
समाजका विषयहरूलाई गहिरो ढंगले विश्लेषण गर्न सक्ने एउटा जमात पनि सामाजिक सञ्जालमा छ। तर उनीहरू मौन छन्। समाजका विभिन्न विवादका कुराहरूमा मुछिन उनीहरूलाई मन लाग्दैन। जसले गर्दा सामाजिक सञ्जालमा निहित स्वार्थका लागि नकारात्मक टिप्पणी लेख्नेहरूको बाक्लो उपस्थिति छ। उनीहरूकै बोलबाला छ। तर कतिपय सामाजिक विषयहरू अनावश्यक विषयान्तर हुँदा समाजको विद्धत समूह भने सक्रिय हुनु जरूरी छ। अन्यथा यही भड्काउने समूहले नै समाजमा राज गरिरहनेछ। विद्धानहरू कुनामा पुस्तक पढेर रमाइरहने छन्।
सामाजिक सञ्जालमा मनलाग्दो प्रतिक्रिया लेख्नेहरूका लागि केवल केही अक्षर मात्रै हुन सक्ला तर त्यसले एउटा असल व्यक्तिको जीवनमा कस्तोखालको नकारात्मक प्रभाव पारिरहेको हुन्छ भन्ने कुराको आकलन गर्न सकिन्छ। सामाजिक सञ्जालमा आउने कतिपय विषयहरूलाई थेग्न नसकेर आत्महत्यासम्म गरेका उदाहरणहरू छन्। कसैलाई कुनै पनि कुराको आरोप लगाउनु अगाडि सामान्य कुराको परीक्षण समेत नगरेर केवल हल्लाको भरमा मात्रै आरोपहरू लगाइएको देखिन्छ।
हेर्दा व्यक्ति एक्लो हुन सक्ला तर त्योसँग जोडिएको उसको परिवार हुन्छ। आफन्ती हुन्छन्। शुभेच्छुक हुन्छन्। अनि उसले लामो समयदेखि जोगाउँदै आएको उसको करिअर पनि हुन्छ। आफू अनुकूल काम गरेन भनेर फेसबुकमा कुनै घटनासँग जोडेर अनियमितताको आरोप लगाउन सजिलो त छ नै। तर त्यसले उसको समग्र जीवनमा कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने कुराको आकलन कसले गर्ने? त्यसको क्षतिपूर्ति कसले दिने। सामाजिक सञ्जालमा कराए कानूनी कारबाही हुने हो र?
हो, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूका लागि साइबर कानुन छ। तर साइबर कानूनका पनि केही सीमितताहरू छन्। सबैले साइबर कानूनका बारेमा जानकारी पनि राख्दैनन्। सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सामाजिक सञ्जाल विधेयक दर्ता पनि भएको छ। तर त्यो कहिले कानूनका रूपमा आउने हो भन्न सकिने अवस्था छैन। साइबर कानूनको उजुरी गर्न प्रकृया त्यति सहज छैन। जसले गर्दा धेरैले उजुरी हाल्ने आँट समेत गर्दैनन्। सामाजिक सञ्जालले गलत गर्नेहरूलाई पनि खबरदारी गरिरहेको छ। तर त्योसँगै स्वार्थका लागि कसैको बदनाम गराउनेहरूको जमात पनि ठूलै छ। सामाजिक सञ्जालमा राम्रा कुराभन्दा पनि नराम्रा कुराहरू छिटो फैलने भएकाले पनि यस्ता कुराहरूका बारेमा बढी चर्चा हुने र फैलने गरेका छन्।
सार्वजनिक पदमा बसेको व्यक्तिले अनेक खालका जिम्मेवारी बहन गरिरहेको हुन्छ। हरेक काम स्वार्थ समूहलाई फाइदा पुग्ने गरी नहुन पनि सक्छ त्यस्तो अवस्थामा आफ्नो स्वार्थ अनुकूल काम नभएपछि सामाजिक सञ्जालमा नानाभाँती लेख्ने क्रमको सुरूआत हुन्छ। मान्छे हो काम गर्दा साना साना गल्ती हुन सक्छ तर त्यसलाई नै ठूलो बनाएर अनावश्यक प्रचार प्रसार गर्न थालियो भने त्यसले काम गर्ने मानिसको ऊर्जा हराउन सक्छ।
म आफै पनि सामुदायिक संस्थामा काम गरिरहेको छु। संस्थाको नेतृत्वकर्ताको हिसाबले मैले अनेक कामहरूको कार्यसम्पादन गर्नुपर्ने हुन सक्छ। हरेक काम गर्दा सबैको चित्त बुझाउन गाह्रो हुन्छ। यस्तो अवस्थामा चित्त नबुझ्ने मान्छेले कपोलकल्पित आरोप लगाउँदै सामाजिक सञ्जाल रङ्गाइरहेको हुन्छ। हरेकको जबाफ दिँदै जाऊँ पुग्ने ठाउँ नै भेटिँदैन। मौन बसूँ आफ्ना विरूद्धका भ्रामक कुराहरूलाई पनि समाजले पत्याएर आफूप्रतिको दृष्टिकोण बदलिदेला भन्ने त्रास। यस्तो अवस्थामा साँच्चै सार्वजनिक संस्थाको नेतृत्व गरेकोमा ठूलो पश्चाताप हुन्छ।
सामाजिक सञ्जालमा गलत कुरा लेख्नेका लागि केही अक्षर भए पनि भोग्नेका लागि त्यो लाख हुन्छ। रातभर निद्रा पर्दैन, खान मन लाग्दैन, बोल्न मन लाग्दैन। तनाव नै तनाव मात्रै हुन्छ। हामीसँग मानवताको यति धेरै अभाव हुँदै गइरहेको छ कि अरूलाई दुख्ला असर गर्दा भन्ने सोच पनि हामीले राख्न सकिरहेका हुँदैनौं।
समाजलाई गतिदिने सामाजिक सञ्जाल किन यति असहिष्णु र असामाजिक बन्दै गएको होला? कसले सोच्ने यसको बारेमा?
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)