कुनै बेला परदेश जानु दुखको कुरा थियो। किनेर खानु गरिबी ठानिन्थ्यो। तर आज तिनै कुरा गर्वका विषय बनेका छन्। सत्यहरू एकनास हुँदैनन्, समयसँग बगिरहन्छन् अनि रङहरू पनि बदलिँदै जान्छन्।
एउटा सानो घटना सम्झन्छु। एक दिनको कुरा हो। म उठिसकेको थिइनँ। पल्लो घरबाट रोदनको आवाज आयो। म झस्केँ, पक्कै पनि केही नराम्रो नै भयो कि! दशा त बाजा बजाएर आउँदैन भनेको नसुनेको कुरा होइन। म हत्तपत्त उठेर पल्लो घरतर्फ दौडिएँ। मन अलि डराएको थियो। मनमा अनेक कुरा नखेल्ने कुरै भएन। म पल्लो घर छिमेकी दाइ विशालको घरको आँगनमा पुगेँ।
धन्य! मैले जे सोचेको थिएँ, त्यो वास्तविकता थिएन। विशाल दाइको छोरा मनिष अस्ट्रेलिया हिँड्ने साइत रहेछ। अचम्म! मलाई त भिसा लागेको कुरा थाह पनि थिएन। ऊ तम्तयार थियो। घरको माहौल फरक थियो। सबैको आँखामा आँसु थियो। बिछोडको आँसु थियो तर दुखको होइन।
दाजु-भाउजू दुवैको आँखाभरि आँसु थियो। बिछोडको पीडाले मन दुखेको थियो होला। तर सबै आँसु दुखको मात्र हुँदैन, उनीहरूको आँसुको भावमा भने खुसी झल्किन्थ्यो। नहोस् पनि किन? दाजु भाउजूको सपना पूरा भएको थियो। आजको दिनमा छोराछोरी अस्ट्रेलिया हुनु भनेको चानचुने कुरा थिएन। समाजमा यसको मान्यता ठुलो छ। हरेक युवायुवतीको सपना आजको दिनमा राम्रो देश जाने हुन्छ। भिसा लागेको दिन सबैभन्दा बढी खुसीको दिन हुन्छ।
मनिष आँगनमा बेहुला झैँ अन्मिएको थियो। उसको गलाभरि खादा र माला थियो। अनुहारभरि रङ दलेको थियो। ऊ घर छोडेर परदेश जाँदै थियो। सपना थियो। अपेक्षा थियो। कुनै टाढाको भविष्यको कल्पना गरेर ऊ मन्त्रमुग्ध थियो। एकैछिनमा भीड लाग्यो। परिवार, आफन्त, छरछिमेकदेखि शुभचिन्तकहरू थिए। गजब थियो। मान्छेहरू मनिषलाई भन्दा पनि दाजु-भाउजूलाई बधाई र शुभकामना दिइरहेका थिए। भन्दै थिए, ‘भाग्यमानी रहेछ, केटो एकैचोटि भिसा लाग्यो।’
संयोग होला, ठिक एक महिनापछि विशाल दाइको घरमा पुनः त्यही दृश्य दोहरियो। छोरी मनिषाको बिदाइको तयारी हुँदै थियो। त्यसरी नै उनीहरूले छोरीको पनि बिदाइ गरे। म पनि फेरि विशाल दाइको घरमा पुगेको थिएँ। दाइभाउजूको खुसी बाहिरै पोखिएको थियो। उही बिछोडको पीडा त थियो तर राज खुसीको थियो। म पनि त्यो मौकाको साक्षी बनेँ अनि घर फर्केँ।
दुवै जना छोराछोरी अस्ट्रेलिया पुगे। दाइको जीवनमा ठुलो बम्पर पर्यो। एकाएक दाइको परिवार समाजमा गन्नेमान्ने भयो। दाइको उपलब्धि चानचुने कुरा थिएन। हुन त दाइ सामान्य मध्यम वर्गको मान्छे। धेरै दुख त थिएन तर समाजले उनलाई चिन्दैन थ्यो। जब उनका छोराछोरी अस्ट्रेलिया पुगे, सबैले चिन्न थाले। मान्न पनि थाले। दाइ समाजमा शिर ठाडो पारेर हिँड्न थाले।
मान्छेहरूले प्रत्यक्ष रूपमा प्रशंसा गर्थे, ‘कति भाग्यमानी तिमीहरू त, छोराछोरी दुवै जना अस्ट्रेलिया। सुखका दिन आए तिमेरुका।’
दाइ भाउजू मक्ख थिए। हिजो कसैले गन्दैन थियो। आज त्यही समाजमा मान सम्मान।
वरपर छिमेक सबैतिर सबैका छोराछोरी विदेश गएका थिए। कोही अमेरिका, कोही क्यानडा, कोही बेलायत कोही जापान। विदेश छोराछोरी नहुनेको लागि अभिसाप नै थियो। म एक दिन घुम्दै फिर्दै विशाल दाइको दाइ, राजन दाइको घरमा पुगेँ। दाइको सबै परिवार घरमै थिए। दाइको पनि दुई जना सन्तान हुन्। एक छोरो र एक छोरी। छोरो विवाहित थियो, घर छेउमा व्यापार गर्थ्यो। छोरी भने विवाह भइसकेको थियो।
सानो नाति आँगनमा खेलिरहेको थियो। दाइ-भाउजू कुर्सीमा बसेका थिए। छोरो चाहिँ अलि पर बसेको थियो। म पुगेपछि चुपचाप भए। सायद पारिवारिक कुराकानी थियो होला। स्वाभाविक थियो। म पुगेपछि कुराकानी भयो। कुराकानीको क्रममा दाइले भने, ‘हाम्रो केटो एक चोटि विदेश ट्राई गर भनेको मान्दै मान्दैन हो, तिमीले सम्झाइदेऊ न।’
मसँग उत्तर त थिएन तर पनि, ‘कहाँ पठाउन आँट्नु भयो दाइ?’ सोधेँ।
‘राम्रै देश जा, म जति पनि खर्च गर्छु। बच्चा पनि हामी हुर्काइदिई हाल्छौँ भनेको सुन्दैन। यो मुला साह्रै नामर्द भयो,’ दाइले गुनासो गरे।
मैले केही भन्न सकिनँ। अनि बस्न पनि अप्ठ्यारो लाग्यो। बहाना बनाएर त्यहाँबाट उठेँ।
म घर पुगेँ तर यो कुराले मलाई एकदम पिरोलिरह्यो। म केही समय घोरिइरहेँ। सोचिइरहेँ। विडम्बनापूर्ण लाग्यो। जसको घरमा खुसी थियो उनीहरू दुखी भएको पाए। जसको घरमा दुख थियो उनीहरू खुसी थिए।
विशाल दाइका छोराछोरी विदेशमा थिए। एउटा सानो परिवार छुट्टिएको थियो। परिवार टुक्रिनु आफैमा दुख हो तर उनकै त्यही समाजमा कत्रो मानमनितो थियो। राजन दाइका सपरिवार थिए। नातिनातिना साथमा थिए। छोरा पनि व्यापार गर्थ्यो। परिवार एकसाथ थियो तर उनी दुखी भएको पाएँ। समाजले पनि उनलाई गणना गर्दैनथ्यो। हेला गर्थ्यो किनकि उनको छोरा विदेश गएन।
म एकदम सोचमग्न भएँ। हाम्रो समाजले किन यसरी गलत भाष्य बनाएको छ? युवाहरू जो प्रत्येक क्षण विदेशको बारेमा सोचिरहेका छन् र जसरी पनि विदेश जानुपर्छ भन्ने मानसिकताबाट गुज्रिरहेका छन्। हाम्रो समाजको चिन्तन पनि एउटा कारण रहेछ भन्ने निष्कर्षमा पुगेँ।
सत्य कुरा आजको समाजले अनुमोदन नगर्ने रहेछ। जो देशमा बसेर केही गर्न चाहन्छ, परिवारसँग बसेर दुखसुख बाँड्न चाहन्छ, ऊ समाजमा अपहेलित हुने रहेछ। वास्तवमा आज हाम्रो नेपाली समाजले निर्माण गरेको भाष्य पनि यही हो।
यो नेपाली समाजको आजको अवस्था हो। हरेक नेपालीको घर घरको कहानी पनि भयो। नेपाली समाजको नयाँ भाष्य पनि हो। आजको समाजले निर्माण गरेको सामाजिक मूल्य हो। आज हाम्रो समाजमा दुख र सुखको परिभाषा गलत छ। धनी र गरिबको मानक फेरिएको छ। यही गलत भाष्यका कारण युवायुवतीहरू हातमा पासपोर्ट बोकेर देश छोड्ने प्रतिस्पर्धामा छन्। राजनीति मात्र यसमा दोषी छैन कि समाजले निर्माणको भाष्य पनि उत्तिकै जिम्मेवार छ।
यो कस्तो विडम्बना होला, छोराछोरीहरूले घर छोड्दा खुसी हुनुपर्ने!
बाबुआमा छोराछोरी छोड्न विमानस्थल पुग्छन्। पक्कै पनि बाआमाको मन त कसो नरोला तर समाजले यही कुरालाई सफलताको मानक ठान्छ। समाजमा मान प्रतिष्ठा दिन्छ। हुनेखाने अनि सम्भ्रान्त परिवार ठान्छ। बिहे गर्नलाई घर घरमै प्रस्ताव जान्छ। बरा नेपालमा बस्नेको कहाँ इज्जत छ र? सबैले नामर्द र गरिखान नसक्ने बिल्ला भिराइदिन्छन्। रातभर बहिरहने आँसुलाई पनि दिनभर समाजले गर्ने प्रशंसाले फेरि मन लोभ्याउँदो हो। दुखलाई छोप्दो हो। रातिको आँसु कसले देख्छ र? तर समाजको मान प्रतिष्ठा सबैले देख्छन्।
हाम्रो समाज आज यही भ्रमभित्र बाँचेको छ। यही कुरा भाष्य पनि बनेको छ। समाजे यही दृष्टिकोणले हेर्छ। मनभित्र दुख पीडा नहोला भन्ने होइन तर प्रगति र उन्नतिको नयाँ कोर्स तयार गरिदिएको छ। बाबुआमा पनि गर्व गर्दा हुन्, मेरा छोराछोरी विदेशमा छन् भनेर।
कमाइभन्दा पनि समाजमा हुने पहिचान महत्त्व छ। छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता देशमा छन् भन्ने कुरामा दम छ। फेरि यो मानसिकता समाजका सबै वर्गहरूमा छ। ‘छोरो अमेरिकामा छ, छोरी अस्ट्रेलियामा।’ यति भन्न सक्नु आजको समाजको पहिचान हो।
प्रश्न के हो भने समाजले किन यस्तो भाष्य बनायो? जुन भाष्यले गर्दा युवा पुस्ताहरूलाई बिदेसिन ऊर्जा दिन्छ। जसरी पनि विदेश जानु पर्ने मानसिकता निर्माण हुन्छ, विकसित पनि भइरहेको छ। यो एउटा भाष्यका कारण युवाहरूमा अहिले सोच पनि प्राविधिक भइसकेको छ। जसरी हामी कुनै पनि अनलाइन फर्म भर्न एउटा प्रक्रियाबाट जान्छौँ, त्यसरी नयाँ पुस्ताको सोच विकास भएको छ, ’१२ कक्षा सक्ने, पासपोर्ट बनाउने, भाषाको तयार गर्ने अनि विदेशको लागि अप्लाइ गर्ने।’ यो सिधा प्रक्रियाबाट नयाँ पुस्ता जीवनको बाटो खोजिरहेका छन्। उनीहरूको दिमागमा स्पष्ट नक्सा छ। जीवन बारे गहिरो सोच्न छाडे। अनेक कल्पनामा हराउन बिर्से।
आज नेपालीहरूको घर घरमा हुने पारिवारिक सरसल्लाह एउटै मात्र हुन्छ, त्यो भनेको कसरी राम्रो देश छोराछोरीलाई पठाउने? सबैको मानसिकतामा के छ भने, ‘ आफ्ना छोराछोरी विदेश पठाउन सकिएन भने छोराछोरी पछि पर्छन् र हाम्रो पनि समाजमा इज्जत रहँदैन।’ यो भाष्य समाजमा स्थापित भइसकेको छ। छोराछोरी देशभित्र बस्लान् भन्ने पो पिर छ किनभने यही देशभित्र केही गर्ने भनेको त बेकार मानिन्छ। असफल मानिन्छ। कमजोर ठानिन्छ। अहिले हरेक परिवारमा यही मानसिकताले गाँजेको छ।
अहिले सामाजिक स्तरीकरण पनि देशको आधारमा गर्ने गरिन्छ। अमेरिका, अस्ट्रेलिया र क्यानडामा छोराछोरी हुनेहरू पहिलो वर्गमा, युरोपतिर जानेहरू दोस्रो वर्गमा र बाँकी देशहरू। तर आफ्नो देशमा बसेर काम गर्नेहरूको वर्ग नै छैन। यो यथार्थ हो। हाम्रो समाजले हरेक व्यक्ति र परिवारलाई यसरी नै मूल्याङ्कन गर्छ। त्यही मानसिकताबाट हुर्केका अहिलेका युवा पुस्ताहरू मनमा अमेरिका, अस्ट्रेलिया र क्यानडा बोकेर हिँडिरहेका भेटिन्छन्। सपनाको देश मनमा बोकेर हिँडिरहेका छन्।
देशहरूको वर्ग पनि यही समाजले छुट्ट्याएको हो। युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता विकसित देशहरूमा आफ्ना छोराछोरी पुगे भने बाबुआमाहरूको लागि आत्मसम्मानको विषय बन्छ। समाज त झन् सकारात्मक छ। इज्जत गर्छ। फरक नजरले हेर्छ। गाउँ समाजमा विशेष स्थान दिन्छ। यही कारण आज अभिभावकहरू आफ्नो भएभरको सम्पत्ति सकेर होस वा जस्तोसुकै सम्बन्ध स्थापित गरेर होस, सन्तानलाई विकसित देशमा पठाउन चाहन्छन्। जतिसुकै त्याग गर्न पनि तयार हुन्छन्।
समाजको यही नियतिको कारण प्रत्येक नेपालीको परिवार टुक्रिएको छ। हरेक नेपालीको मन भाँचिएको छ। जसको कारण समाजमा मूल्य मान्यता मात्र बिलाउँदै गएका होइन कि मानवीय भाव, भावना र सम्बन्ध पनि प्राविधिक भएको पाइन्छ। समाज असामाजिक हुँदै गइरहेको छ। सम्बन्धहरू टुक्रिने क्रम बढेको छ। सम्बन्धहरू कमजोर हुँदै गएका छन्। आपराधिक घटनाहरू बढ्न थालेको पाइन्छ। सम्बन्धविच्छेद सामान्य हुँदै गएको छ।
सहरमा मात्र सीमित छैन। आज दूरदराजमा पनि उत्तिकै यस्ता घटनाहरू सुन्न थालिएको छ। पश्चिमी समाज र संस्कृतिले बिस्तारै च्याप्दै गरेको आभास हुन्छ। परिवारको महत्त्व, भूमिका र अस्तित्व कमजोर हुन थालेका छन्। यो कस्तो विडम्बना होला, परिवार टुक्रिँदा, छोराछोरीहरू परदेशमा जाँदा खुसी हुनुपर्ने? आज अधिकांश नेपालीहरूको भाग्य बनेको छ।
समाज आज मनको सुखभन्दा पनि भौतिक सुखमा विश्वास गर्छ। नेपालमा बसे पनि युरोप अमेरिकाको कुरा गर्छन्। जुनसुकै मूल्य तिरेर पनि सन्तानलाई सपनाको देशमा पठाउँछन्। मनमा पिर होस वा दुख तर छोराछोरी युरोप अमेरिका पुगे समाजले इज्जत दिन्छ। आफ्ना सन्तानहरू फर्केर नआउन भन्ने कामना गर्छन्। सम्भव भए यता देशमा बस्नेहरू पनि उतै जाने सोच पो बढाउँछन्। छोराछोरीले पिआर पाउन भन्ने सोच राख्छन्।
समाजको यही सोचले गर्दा देशमा बस्न सक्ने वातावरण छैन। कोही बस्यो भने समाजले टोकिरहन्छ, ‘विदेश किन नगएको?’
बाबुआमा पनि छोराछोरी विदेश पठाउन उद्धत छन्। समाजको लागि भए पनि वा समाजमा नाक राख्नको लागि पनि पठाउँछन्। नत्र जोकोही समाजमा आलोचित हुन्छ। छोराछोरीहरूलाई यही प्रश्नले खेदिरहन्छ। हाम्रो समाज यतिसम्म भइसक्यो कि सन्तान नेपालमा परिवारसँग बसेको राम्रो मान्दैन। विदेशमा गएको राम्रो मान्छन्। दुख जतिसुकै किन नहोस् तर छोराछोरी अमेरिका, अस्ट्रेलिया भएको कुरा फेसबुकमा अपडेट गर्छन्। समाज विवेकले भन्दा पनि भीडले चलेको छ। चल्दो रहेछ। सुख र खुसी भन्ने कुरा पनि समाजले निर्माण गर्दो रहेछ। जोसँग वास्तविक सुख र खुसी हुन्छ, ती मान्छेहरूलाई समाजले दुखी र बिचरा मान्छ। यो समाज यस्तै छ।
विदेश जान बाध्यता नै हो भन्ने पनि होइन। देशको अवस्था नराम्रो त छ, काम गरेर खाने अवस्था गाह्रो पनि छ। तर यो अवस्थाबाट भागेर कहाँ जाने? विदेशमा पनि सुखै सुख हुन्छ भन्ने पनि हुँदैन। सधैँ पनि हुँदैन। भोलि दुख भयो भने फेरि कहाँ जाने? प्रश्नै प्रश्न पनि छन्। यो भाष्य न राजनीतिले सम्बोधन गरेको छ न समाजले।
यही बेवास्ताका कारण युवायुवतीहरू बिदेसिने माहौल झन् सकारात्मक बन्दै छ। देशमै बसेर केही गर्न खोज्नेहरूलाई समाजले हौसला दिँदैन। मान सम्मान गर्दैन। गर्व गर्दैन। अब यो भाष्य कसरी बदल्ने हो? यो प्रश्न एकदम गम्भीर छ। सबैले आफूले आफैलाई सोध्नुपर्छ।
हाम्रो समाजले भाष्य बदल्नुपर्छ। आफ्नो देशमा काम गरेर खानेहरूलाई इज्जत गर्न सक्नुपर्छ। प्रेरणाका स्रोत मान्नुपर्छ। हौसला दिनुपर्छ। अनि पो युवाहरूमा पनि देशमा बस्ने सोचको विकास हुन्छ त। देशको माया गर्ने अनि यही पसिना बगाउनेहरूप्रति राज्यले पनि सोचोस्।