हरेक बिहान लाखौँ नानीबाबुहरू विद्यालय जाने गर्दछन्। चम्किला युनिफर्ममा सजिएका उनीहरूको काँधमा भविष्यको सपनाका साथै एउटा अदृश्य तर महसुस हुने बोझ पनि हुन्छ, विद्यालयको भारी झोला। किताब, कापी, स्टेशनरी लगायत अन्य सामग्रीले भरिएको यो झोला उनीहरूको लागि सानो शरीरको लागि ठुलो वजन हुन जान्छ जसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ।
हालै सामाजिक सञ्जालमा भेटिएको एउटा तस्बिरले यस समस्याको भयावहतालाई पुनः उजागर गरेको छ, जहाँ एउटा सानो बालक आफ्नो शरीरभन्दा ठुलो झोला बोकेर संघर्ष गरिरहेको देखिन्छ। यो केवल एक तस्बिर होइन, यो हाम्रो शिक्षा प्रणाली र सामाजिक मानसिकतामाथि उठेको गम्भीर प्रश्न हो।
हाम्रो शिक्षा प्रणालीमा हरेक विषयका लागि धेरै पुस्तकहरू र अतिरिक्त सामग्रीहरू तोकिएका हुन्छन्। एकै दिनमा धेरै विषयको कक्षा हुने हुँदा विद्यार्थीले ती सबै पुस्तक सहितको वजनदार झोला बोक्न बाध्य हुन्छन्। यसले बालबालिकामा पढाइप्रति नै नकारात्मक धारणा विकास गराउन सक्छ। विद्यालयलाई उनीहरूले 'बोझ' र 'दबाब' को ठाउँका रूपमा हेर्न थाल्छन्। शारीरिक थकानले मानसिक एकाग्रतामा कमी आउँछ जसले गर्दा सिकाइ प्रक्रिया नै प्रभावित हुन्छ। उनीहरूमा विद्यालय जाने उत्साह घट्छ र तनावको स्तर बढ्न सक्छ।
हरेक विषयका लागि छुट्टा-छुट्टै बाक्लो किताब कापी र थुप्रै स्टेशनरी सामग्रीको प्रयोगले पनि झोलाको तौल बढाउँछ। यस्ता अनावश्यक सामग्रीले बालबालिकालाई 'सबै कुरा बोक्नुपर्छ' भन्ने अनावश्यक दबाब दिन्छ। यसले उनीहरूमा व्यवस्थित हुने सीपको विकासमा भन्दा पनि नियमको पालना वा आज्ञाकारिताको भावना बढाउँछ जहाँ उनीहरूले नियम पालना गर्नै पर्छ भन्ने ठान्छन्, चाहे त्यो अव्यवहारिक नै किन नहोस्।
विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य संस्थाहरूले बालबालिकाको उमेर र शरीरको वजनको आधारमा उनीहरूले बोक्न मिल्ने झोलाको अधिकतम भार तोकेका छन्। यी संस्थाहरूले सामान्यतया बालबालिकाले आफ्नो शरीरको वजनको १० देखि १५ प्रतिशतभन्दा बढी भार बोक्नु नहुने स्पष्ट पारेका छन्। तर हाम्रो देशमा धेरैजसो बालबालिकाहरूले यो मापदण्डभन्दा निकै बढी तौलको झोला बोकिरहेका छन् जुन सीधा साधा उनीहरूको स्वास्थ्य माथिको खेलबाड हो, जसलाई हाम्रो शिक्षा प्रणालीले अप्रत्यक्ष रूपमा प्रोत्साहन गरिरहेको छ।
हामीले हरेक दिन अनुभव गर्ने र देख्ने केही व्यवहारिक समस्याहरू छन्। गाउँ घरका सरकारी विद्यालयमा पढ्ने नानीबाबुहरू घरबाट हिँडेरै स्कुल पुग्छन्, जुन कहिलेकाहीँ आधा घण्टा वा एक घण्टासम्मको बाटो हुन्छ। त्यहीँमाथि गह्रौँ झोला बोकेर उकालो-ओरालो गर्दा उनीहरूको सानो शरीर कति थाक्छ होला? बाटोमा दौडिएर साथीसँग खेल्न मन भए पनि झोलाले गर्दा उनीहरूलाई त्यो सम्भव हुँदैन र निराश हुन्छन्।
कतिले त बिच बाटोमै थकाइ मारेको पनि देखिन्छ, विद्यालयमा भौतिक स्रोत साधनको अभावले गर्दा पनि झोलाको तौल व्यवस्थापनमा ध्यान पुगेको हुँदैन। सहरी क्षेत्रमा गाडी वा बसमा स्कुल जानेहरूलाई पनि झोलाको बोझले खासै फरक पार्दैन किनभने स्कुल बसबाट ओर्लिएपछि कक्षाकोठासम्म पुग्न पनि त्यही गह्रौँ झोला बोक्नै पर्छ। साँघुरो सिँढी उक्लँदा लड्ने डर पनि हुन्छ।
वास्तवमा झोलाको भारको समस्या सरकारी विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढी देखिने गरेको छ। यसको मुख्य कारण संस्थागत विद्यालयहरूको सङ्ख्यात्मक र गुणात्मक प्रतिस्पर्धा हो। यसले बालबालिकाको स्वास्थ्यभन्दा 'धेरै पढाउने' देखाउने प्रवृत्तिलाई बढवा दिएको छ। संस्थागत विद्यालयहरूमा पाठ्यक्रमका अतिरिक्त थुप्रै रेफरेन्स बुक, गाइडबुक, वर्कबुक र विभिन्न 'अतिरिक्त क्रियाकलाप' का लागि भन्दै किताबहरू अनिवार्य गरिन्छ।
'हाम्रो स्कुलले धेरै पढाउँछ', 'हाम्रा विद्यार्थीलाई सबै कुरा थाहा हुन्छ' भन्ने देखाएर अभिभावकलाई आकर्षित गर्नका लागि पनि धेरै किताब र सामग्रीको सूची थमाउने चलन छ। यो एक प्रकारको शैक्षिक प्रतिस्पर्धाको उपज हो, जसको मारमा बालबालिका पर्छन्। यस्तो कार्य हुन्छ भन्दै गर्दा संस्थागत विद्यालयहरूमा पढाइको गुणस्तर कमजोर छ भन्ने चाहिँ होइन।
संस्थागत विद्यालयमा शिक्षकहरूले हरेक दिन सबै विषयका किताब, कापी र अन्य सामग्री ल्याउन कडाइ गर्छन्। यदि कुनै दिन कुनै किताब छुटेमा दण्ड दिने, कक्षामा पढ्न नदिने वा अभिभावकलाई फोन गरेर गुनासो गर्ने गर्दा बालबालिका र अभिभावक दुवै सबै सामान बोक्न बाध्य हुन्छन्। 'कपी/किताब छुट्यो भने पढाइ बिग्रन्छ' भन्ने मनोविज्ञानले पनि यो समस्यालाई बढाएको छ।
चर्को शुल्क लिने धेरै जसो संस्थागत विद्यालयमा समेत विद्यार्थीका लागि व्यक्तिगत लकरको व्यवस्था हुँदैन। यसले गर्दा उनीहरूले हरेक दिन आफ्नो सबै किताब र सामग्री घरबाटै बोक्नुपर्ने बाध्यता हुन्छ। कतिपय अवस्थामा त पानीको बोतल वा खाजाको बक्स समेत झोलामै कोच्नुपर्छ। नियमित कक्षा बाहेक विभिन्न 'स्पेसल क्लास' वा 'एक्स्ट्रा करिकुलर एक्टिभिटी' को नाममा थप किताब-कापी र आवश्यक सामग्रीहरूले पनि झोलाको तौल अझै बढाउँछन्।
शिक्षक र अभिभावकको मानसिकता पनि यसमा दोषी छ। कतिपय शिक्षकहरूले 'आज यो विषयको किताब ल्याएनस्?' भन्दै गाली गर्ने गरेर डराउने गर्छन्। उनीहरूले सबै विषयका किताब, कापी एकै चोटि ल्याउन लगाएको पनि देखिन्छ हरेक दिन हरेक विषयको किताब बोक्न लगाउनुलाई उनीहरूले सामान्य मान्छन्। तर त्यसले बालबालिकालाई कति गाह्रो हुन्छ भन्ने सोच्दैनन्।
अभिभावकहरू पनि 'मेरो बच्चाले धेरै पढ्छ, धेरै किताब बोक्छ' भन्दा गर्व गर्छन्। 'सबै किताब लगेन भने पढाइ बिग्रन्छ' भन्ने डरले वा शिक्षकले भनेको कुरालाई अन्धो भएर पत्याएर झोलामा सबै कोचिदिन्छन्। बच्चाको स्वास्थ्य भन्दा पढाइलाई बढी महत्त्व दिने प्रवृत्ति हामीमा अझै छ। एउटा विषयका लागि एउटा मुख्य किताब अनि त्यसैका लागि गाइडबुक, प्राक्टिस बुक तथा कापी पनि २-३ वटा यी सबै बोक्दा झोला नबढेर के हुन्छ? परीक्षा आउँदा त झन् सबै विषयका सबै किताब, कापी बोकेर ट्युसन जानुपर्ने वा घरमा पनि सबै पसारेर बस्नुपर्ने हुन्छ यसले पढाइलाई बोझिलो बनाउँछ।
हामीले देखिरहेका यी व्यवहारिक समस्याले बालबालिकाको मस्तिष्कमा गहिरो असर पार्छ जब स्कुल जानैका लागि हरेक दिन गह्रौँ झोला बोक्नुपर्ने हुन्छ, तब उनीहरूमा विद्यालयप्रति नै वितृष्णा जाग्छ। 'आज फेरि स्कुल जानुपर्ने, झोला बोक्नुपर्ने' भन्ने सोचले उनीहरूको बाल्यकालको उत्साह नै हराउँछ। शारीरिक थकाइले मानसिक रूपमा पनि थकित बनाउँछ। कक्षामा पनि अल्छी लाग्ने, पढाइमा ध्यान नजाने हुन्छ खेलकुद र अन्य क्रियाकलापमा पनि रुचि घट्छ, जसले उनीहरूको समग्र विकासमा बाधा पुर्याउँछ।
'झोला भारी भयो, अब कसरी बोक्ने? बाटोमा लडियो भने के हुन्छ?' जस्ता चिन्ताले उनीहरूको सानो मनमा तनाव थपिन्छ। साथीले धेरै बोकेको देखेर आफूले पनि बोक्नुपर्छ भन्ने दबाबमा पर्छन् कतिपय बालबालिकालाई 'म कमजोर छु, मैले झोला बोक्न सकिनँ' भन्ने भावनाले सताउन सक्छ, जसले उनीहरूको आत्मविश्वास घटाउँछ।
'झोलाभरि किताब बोकेर मात्र पढाइ राम्रो हुन्छ' भन्ने हाम्रो पुरानो सोचलाई कोरोना कालको अनुभवले गलत साबित गरिदिएको छ। कोरोना महामारीको बेला जब स्कुलहरू बन्द भए, तब हाम्रा बालबालिकाहरूले घरमै बसेर अनलाइन माध्यमबाट पढाइ जारी राखे। उनीहरूले किताबको भारी नबोकी ल्यापटप वा मोबाइल फोनबाटै पढ्थे। त्यो बेला बालबालिकाहरूले नयाँ प्रविधि प्रयोग गरेर सिक्न पाएकोमा निकै रुचि देखाउँथे र सहजताका साथ 'भर्चुअल क्लास' मा सहभागी हुन्थे।
अनलाइन माध्यमबाट पढाइ भए पनि उनीहरूले परीक्षा दिए, राम्रो नतिजा ल्याए र ती नतिजाहरूलाई राज्यले पनि मान्यता दियो। यसले के प्रमाणित गर्छ भने, भौतिक किताबको भारी बोकेर मात्रै राम्रो पढाइ हुन्छ भन्ने होइन। अनलाइन कक्षाहरू सबैका लागि व्यवहारिक नहोला, विशेष गरी गाउँघरमा इन्टरनेटको पहुँच र उपकरणको उपलब्धताको समस्या छ। तर यसले हामीलाई 'प्रविधिमैत्री कक्षा' को सम्भावना देखायो।
यदि विद्यालयहरूले डिजिटल सामग्री, प्रोजेक्टर वा आवश्यकता अनुसार विद्यार्थीले मात्र प्रयोग गर्न मिल्ने प्रविधि प्रयोग गरेर पढाउने हो भने बालबालिकाहरूलाई हरेक दिन सबै किताब-कापीको वजनदार झोला बोकेर हिँड्नुपर्ने बाध्यता हुँदैन। यसले उनीहरूको बोझ कम गर्छ र सिकाइलाई अझ रमाइलो बनाउँछ।
यस समस्याको समाधानका लागि सरकार, विद्यालय, अभिभावक र विद्यार्थी सबैले लाग्नु पर्ने हुन्छ। नीतिगत सुधार गर्दै शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायले 'झोलाको तौल निर्धारण मापदण्ड' लाई कागजमा मात्र सीमित नराखी देशभरिका विद्यालयमा कडाइका साथ लागू गर्नुपर्छ र यसको नियमित अनुगमन हुनुपर्छ। पाठ्यक्रमलाई पुनरावलोकन गरी अनावश्यक पाठ्यपुस्तक र सामग्रीको भार कम गर्नुपर्छ, डिजिटल र वैकल्पिक शिक्षणलाई प्रवर्द्धन गर्दै ई-पुस्तक र अनलाइन सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ।
दुर्गम क्षेत्रमा पनि यसको पहुँच बढाउन सरकारी स्तरबाट पहल हुनुपर्छ विद्यालयमा पूर्वाधार विकास गरी सहरी र दुर्गम दुवै क्षेत्रका विद्यालयहरूमा विद्यार्थीका लागि लकर, खानेपानी र शौचालय जस्ता आधारभूत पूर्वाधारको व्यवस्था अनिवार्य गरिनुपर्छ। शिक्षण विधिमा परिवर्तन गर्दै शिक्षकहरूले गृहकार्य र नोट कापीको भार कम गर्दै व्यावहारिक र क्रियाकलापमा आधारित शिक्षण विधिलाई प्राथमिकता दिनुपर्छ।
दैनिक आवश्यक सामग्री मात्र ल्याउन विद्यार्थीलाई सिकाउनुपर्छ। अभिभावकको सचेतना पनि उत्तिकै महत्त्वपूर्ण छ, उनीहरूले बच्चाको झोला दैनिक जाँच गर्ने र 'टाइम-टेबल' हेरेर मात्र किताब राख्ने बानी बसाल्ने गर्नु पर्दछ। बच्चाले 'झोला भारी भयो' भन्दा वा 'गाह्रो भयो' भन्दा उसलाई गाली नगरी समस्या बुझ्ने प्रयास गर्नु पर्दछ। बच्चाको स्वास्थ्यलाई पढाइभन्दा माथि राख्ने मानसिकता विकास गर्ने, स्थानीय सरकार र समुदायले पनि विद्यालयमा आवश्यक पूर्वाधार विकासका लागि सहयोग गर्नुपर्छ।
काठमाडौँ महानगरपालिका लगायत केही विद्यालयहरूले हप्ताको एक दिन ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गरिरहेका छन्। यो एउटा स्वागतयोग्य कदम हो तर यसको पूर्ण सम्भावनालाई साकार पार्न अझै केही थप गर्न सकिन्छ। यदि यो कार्यक्रमलाई पुस्तक र झोलाबाट मुक्त दिनका हप्ताको एक दिन ‘नो ब्याग डे’ कार्यक्रम पनि सञ्चालन गरेमा व्यवहारिक हुनेछ।
बालबालिकाहरूलाई दैनिक जीवनसँग जोडिएका व्यावहारिक काम, जीवनोपयोगी सीप र समुदायमा आधारित गतिविधिहरूमा सक्रिय रूपमा सहभागी गराउने अवसरका रूपमा विकास गर्न सकियो भने यसको प्रभावकारिता धेरै गुणा बढ्नेछ। यस दिनमा विद्यालयले बालबालिकालाई आधारभूत सरसफाइका सीप सिक्ने, स्थानीय कला वा हस्तकला बुझ्ने, सामुदायिक सेवामा सघाउने वा वित्तीय साक्षरता जस्ता व्यावहारिक ज्ञान सिकाउने कार्यशालाहरू आयोजना गर्न सक्छ। यसले बालबालिकालाई किताबको सैद्धान्तिक ज्ञानभन्दा बाहिरको वास्तविक संसारसँग जोड्दै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ र उनीहरूको सिकाइलाई अझ अर्थपूर्ण बनाउनेछ।
बालबालिकाको स्वस्थ शारीरिक र मानसिक विकास हाम्रो समाजको भविष्य हो, उनीहरूको काँधमा पुस्तकको बोझ होइन, ज्ञानको ज्योति हुनुपर्छ। भारी झोलाले थिचेको बाल मस्तिष्कले भविष्यमा सृजनशीलता र खुसी दुवै गुमाउन सक्छ। कोरोना कालको अनुभवले 'किताबको भारी' भन्दा 'ज्ञानको पहुँच' महत्त्वपूर्ण हो भन्ने कुरा स्पष्ट पारिसकेको छ। यो केवल शारीरिक समस्या मात्र होइन, यो बालबालिकाको मानसिक र भावनात्मक विकासमा गम्भीर असर पार्ने हाम्रो समाजको एउटा ठुलो अव्यवहारिक समस्या हो।
दुर्गम गाउँको धुले बाटो होस् वा काठमाडौँको पिच रोड, सबै ठाउँका बालबालिकालाई यो बोझबाट मुक्ति दिलाउनु आवश्यक छ, विद्यालयहरूले आफ्नो प्रतिस्पर्धात्मक 'कल्चर' को नाममा बालबालिकाको स्वास्थ्य माथि खेलबाड गर्ने प्रवृत्तिलाई त्याग्नुपर्छ। उनीहरूको काँधमा पुस्तकको बोझ होइन, ज्ञानको ज्योति होस्, जब उनीहरूले भारी झोलाको बोझबाट मुक्ति पाउँछन् तब मात्र उनीहरूको कलिलो मस्तिष्कले निर्धक्क भएर ज्ञान आर्जन गर्न सक्छ र उनीहरू खुसी साथ मुस्कुराउँदै विद्यालय जानेछन्। आशा गरौँ, नीति निर्माता र सरोकारवालाहरूले यो गम्भीर समस्यालाई समयमै बुझेर बालबालिकाको उज्ज्वल भविष्यका लागि ठोस कदम चाल्नेछन्।