आफन्त भन्ने चिज नेपाली समाजमा केवल रगतको सम्बन्ध मात्र होइन, जीवनको आधार स्तम्भ पनि हो। हाम्रा सम्बन्धहरू हाम्रो अस्मिता, सुरक्षा र सामाजिक पक्षको जाल हो। तर अहिले यो जाल बदलिँदै सहरीकरण, विदेश पलायन र आधुनिकताले परम्परागत आफन्त सम्बन्धलाई नयाँ चुनौतीहरूले घेरिएको छ।
उमेर बढ्दै जाँदा आफन्त र सम्बन्धहरूबारे अझ बढी नजिक हुँदै जाँदो रहेछ। हाम्रो गोत्र अनुसारको नजिकको १३ दिने दाजुभाइ होस् या चिन्दै नचिनेको नयाँ छिमेकीहरू, सबैको आफ्नो आफ्नो ठाउँमा महत्त्व छ। साँच्चै हाम्रो जीवनमा यी दाजुभाइ तथा आफन्तहरूले संकट तथा दुःखको समयमा साथ दिन्छ कि दिँदैन भन्ने कुरा जब दुःख तथा पीडा पर्दछ तब थाहा हुने रहेछ।
पल्लो गाउँको साइला काका जो असाध्यै सहयोगी र मिजासिलो थिए। काका जब गोठमा चिप्लिएर दुवै हात भाँचियो, आफ्नै भनिएका तथा सहोदर दाजुभाइबाट पाएको चोट, बारम्बार भिखारीको पात्र हुँदा भएको आत्मग्लानि वृत्तान्त सुनाउँदा साँच्चै नै यो नाता आफूसँग सम्पत्ति तथा धन दौलत हुन्जेल मात्र रहेछ भन्ने कुराको महसुस भयो।
जीवनको यात्रामा रमाइलो दिनहरू आउँछन् अनि आफन्तहरूको भिड लाग्दछ। तर जब जीवनको अँध्यारो मोड आइपुग्छ या भनौँ जीवनले अँध्यारो मोड लिन्छ अनि बल्ल थाहा हुन्छ को साँचो नातेदार हो अनि को केवल नामको मात्र नाता बोकेको पात्र हो भनेर। साँचो नाता त्यो हो जुन संकटको बेला पनि सँगै उभिएर सहारा दिन्छ।
साइला काकाको न आर्थिक क्षमता बलियो थियो न कुनै पुर्ख्यौली सम्पत्ति। थियो त केवल त्यही शरीरलाई सहारा दिने आफ्नै उमेरकी अर्धाङ्गिनी र भर्खर १२ वर्षकी छोरी। दुर्घटना नहुँदा सबैको प्यारा थिए साइला दाइ। कसैको रोपाई पर्यो भने, ए साइला दाइ आइदिनु पर्यो। कसैको मेलापात छ भने, ए साइला दाइ। कसैको घरमा पानी तथा बिजुलीको लाइन बिग्रिएमा, ए साइला दाइ! सबैको घरमा गइदिन्थे सबैलाई सक्दो सहयोग गरिदिन्थे र कसैलाई पनि चित्त नदुखाउने खालका थिए।
तर आज दुवै हात भाँचिँदा दाइले लगाएको मिठो वचन तितो वचनमा बदलिएछ। लगाएका गुनहरू बैगुनमा बदलिएछ। तर पनि ती छुद्र वचन र दयाको भिखारी भइरहँदा उनले आफ्नो हिम्मत कहिले हारेनन्। उनले डाक्टरले भनेबमोजिम गरिरहे र आज उनको दुवै हात पूर्ण रूपमा सबल छन्। आफू अझै केही गर्छु भने आट तथा साहस छ।
आफन्तले दुःखको बेला दिएको चोट र लगाएको वचनले उनको मनमा अझै इख थियो। आज ती काकालाई न कसैसँग बोल्न मन छ न त कसैसँग सौम्यता बढाउन मन। थियो त केवल आफ्नै मनसँग बोल्न, आफैँले आफैँलाई प्रश्न गर्न अनि आत्मबोध गर्न।
काकालाई दुःख घडीहरू केवल पीडादायी मात्र भएन, आफ्नो चरित्र निर्माण गर्ने अवसर पनि भयो। तर अहिले आत्मबोध गरी कसैलाई सुनाउँदै थिए। मानिसको व्यवहार नै यस्तै रहेछ अनि समाज पनि।
यदि त्यो घटना समाजको अरू कसैलाई परेको हुँदो हो त आफूले पनि त्यही गर्थे होला, जुन आफू कमजोर हुँदा अरूले गरेका थिए। सायद उनले समाजलाई अझ बढी बुझे, आफूलाई बुझे। मानवको संवेग पक्षलाई बुझे आफूभित्रको गहिरो समझदारीलाई बुझे। अनि आफूभित्रै गहिरो समझदारी गरे। फेरि अहिले साइला काका उही गाउँको सहयोगी काका बनेका छन्। पहिलेझैँ अरूको मेलापातमा सहयोग गरिदिने, बिजुली बिग्रँदा बनाइदिने, कसैको घरमा भोजभतेर हुँदा सहयोग गरिदिने काका।
सायद अहिले उनले समाजलाई अझ गहिरो तरिकाले बुझेका छन्। यही आत्मबोधले उनलाई आफ्नो जीवनप्रतिको दृष्टिकोण बदल्न सहयोग गरेको छ। आफ्नो लागि आफैले गर्नुपर्दछ भन्ने बोधसहित केही रकम समेत जम्मा गर्ने बानी बसालेको छ।
छोरीको भविष्यको निम्ति राम्रो शिक्षा दिनुपर्छ भन्ने कुरा बुझेका छन्। आत्मकेन्द्रित भएका छन् र पनि कसैलाई दुःख पर्दा सहयोग गर्दछन्।
अब उनी त्यही व्यवहार अरूको दुःखमा गर्न चाहँदैनन् जुन अरूले आफ्नो दुःखमा गरेका थिए। त्यसैले त उनी अरूभन्दा फरक छन्, अरूभन्दा उत्कृष्ट छन्। अनि सबैको प्यारो साइला काका।