आधुनिक बिहेमा हल्दी र मेहन्दीका ठूला ठूला कार्य्रक्रमहरू अहिले नेपाली समाजमा निकै लोकप्रिय भएका छन्।
सक्नेले त सजिलै गरेका छन् यस्ता नवीन संस्कारहरू। नसक्नेले ऋण काढेर भए पनि गरेकै छन् नयाँ नयाँ चलनको अनुशरण।
नयाँ चलन पनि सभ्य तरिकाले सम्पन्न गरे त केही थिएन। देखिन्छ सामाजिक सञ्जालमा हेर्न नसकिने पारिवारिक कार्यक्रम पनि देख्नु पर्छ। तर आज म खुसीको कुरा लिएर आएकी छु।
म यतिखेर धनुषाको महेन्द्रनगर छु। बडो शालीन र सरल किसिमको हल्दी र मेहन्दीको माहोल हेर्दैछु। कतै छैन तडकभडक मेहेन्दी र हल्दीमा छैन धनको प्रदर्शन। गहनाको प्रतिस्पर्धा छैन। देखावटीपन फिटिक्कै देख्दिनँ। जे छ सबै अर्ग्यानिक छ। नवीनता बोकेको पुरातन संस्कार सुन्दर छ।
कस्तो सरल र शान्तमय छ सम्पूर्ण वातावरण। घरको आँगनमा आफन्तीहरू भेला भएका छन्। घरको आँगन नै पार्टीप्यालेस भएको छ। ओस्राको कुनामा एउटा तन्ना टाँगिएको छ। सोही तन्नामा हल्दी लेखिएको छ। रातो सिंहासन अग्रभागमा देख्दैछु। बेहुला मुसुमुसु हाँस्दै त्यहीँ बसेर हेर्दैछन् आफ्नो बिहेको तामझाम। दिदीबहिनीहरू छमछमी नाचेका छन् आँगनमा। आवश्यक खर्च दिल खोलेर गरिएको देख्छु। अनावश्यक खर्च कतै छैन। अपाच्य दृश्य केही छैनन्। आफ्नै घर फराकिलो भएको छ एउटा बिहेको लागि। छिमेकीहरूले साथ दिएका छन्। मर्दाको मलामी र जिउँदाको जन्तीको भाव बुझेका छन्। बिहेघरमा आएका पाहुनाहरू बाँडिएका छन् छिमेकीहरूका घरघरमा। छिमेकीहरू सबै एकजुट छन्, यो पो हो त समाज। यो पो हो त सहयोग। ठूला ठूला कुराको वास्तवमा खाँचो नै रहेनछ शान्तमय समाजमा। सहयोगको झ्याली पिट्नु नपर्ने रहेछ। सहयोग त आवाजविहीन पो हुँदोरहेछ।
म देख्दैछु बिहेको घरको परिवेश। आँगनको पल्लोपटिको कुनामा जग्गे सजिएको छ। जग्गेको वरिपरि केराका थामहरू गाडिएका छन्। भित्तापट्टिको थाममा पसाएको केरा देख्दैछु शुभ-लाभको संकेत बोकेर बसेको। रेखी हालेको जग्गे बडो पवित्र देखिएको छ। जग्गेभन्दा भित्तापट्टि भान्साघर। त्यो पनि शुद्ध शाकाहारी। वैष्णवहरूको भान्सा विशुद्ध छ। धोती फेरेर पकाएका छन् पुरूष सदस्यहरूले। कत्रो श्रद्धा र प्रेम छ अन्नपूर्णा माताको। भान्सामा पालो पाएका छन् घरमा नारी सदस्यहरूले।
सबैले खाना खाइसकेकोले हामीलाई पनि खाना खान भान्सातिर आमन्त्रण गरिन्छ। वैष्णवको भान्सामा म बेलाबेला चिप्लिन्छु भाषा प्रयोगमा। खाँदा खाँदै भन्छु , ‘तरकारीको झोल हाल्दिनुस् न!’ भुसुक्कै बिर्सिएकी छु साँच्चै झोललाई रस पो भन्नु पर्छ त! खाना थपी थपी खुवाउने मामा भन्नुहुन्छ ‘झोल होइन् सब्जीको रस थपिदिऊँ भान्जी नानीलाई।’
म हाँस्न पुग्छु।
हो त साँच्चै म तरकारी काट्न खोज्छु तर मामाघरमा तरकारी सुधारिन्छ। बडो अचम्म लाग्छ प्याज र लसुनबिनाको भान्सा साँच्चै कति स्वादिलो। भोकभन्दा स्वादिलो छ भोजन। सुस्वादु छन् सबै सब्जीहरू। टमाटरको अचारमा छोप हालेर बनाएको खाइरहुँ जस्तो। पनिरको सब्जी पनि उस्तै मीठो। झन्डै फेरि मैले पनिरको तरकारी भनेकी। अहिले म मामा घरमै छु। खाना खाँदा खाँदै सम्झिन्छु ‘आफूलाई भने घरमा सब्जी पकाउँदा लसुन प्याज मात्र नभएर भेटेसम्म छ्यापी पनि चाहिन्छ। त्यत्रो तामझाम गर्दा पनि तरकारीमा स्वाद आउँदैन। यो कुन मन्त्र पढेर पकाएको होला यस्तो स्वादिलो खाना। मामाघर आउँदा जहिले पनि म खानामा बेग्लै स्वाद भेट्छु।
सम्बोधनमा श्रीमन नारायणको नाम मुखैमा हुन्छ। म पनि नमस्कार भन्न भुलेर सबैलाई जय श्रीमन नारायण भन्छु। मलाई भिन्न संस्कृतिमा भिज्न बडो रमाइलो लाग्छ। तामझाम त मनको भ्रम रहेछ। भावभन्दा ठूलो मसला केही छैन यो जगतमा। हामी सबै भावकै भोका रहेछौँ। प्रेम, श्रद्धा र एकाग्रता जस्तो कला केही छैन। एकाग्रताकै शक्ति हो यो मीठो भान्साको। खाना खाँदाखाँदै मलाई हतार हुँदैछ। आँगनमा दिदीबहिनीहरू छमछम नाच्दै छन्। पञ्चेबाज बडो तालमा घन्किँदै छ। खाना खाएर जुठो भाँडा उठाउन खोज्छु, ‘अहो! भान्जीले कहाँ उठाएको थाल ...।
सामूहिक आवाज आउँछ। म कसैको कुरा नसुनी जुठो थाल बोकेर कलतिर जान्छु।
स्वागत द्वारसम्म छन् बिहेको रमाइलो हेर्ने मान्छेहरू। रातको नौ बजिसकेको छ। साँच्चै भन्नुपर्दा घरभन्दा मन फराकिलो हुँदा सबै जना अटाइँदो रहेछ। सबै जना बडो आनन्दले बसेका छन्। निम्तालुहरू खुसीको छाता ओडेर मुस्कुराएका छन् रातिसम्म।
हार्दिकताभन्दा विशाल ओछ्यान केही होइन। सुत्न त एक झुप्को जहाँ पनि सुतिन्छ। बस्न त एक दुई रात जता पनि बसिन्छ तर हृदयमा स्वागतद्वार विरलैले निर्माण गर्छन्। मेरो मामाले हृदयमा स्वागत द्वार खडा गर्नु भएको छ। परिवारका जम्मै भेला भएका छन्।
छोराको बिहेले दौडधुप गरेका मामामाइजूका ओठमा अपार आनन्द छ। सन्तोषको गुलमोहर झपक्क फुलेको छ। अनिद्राले निस्तेज भएका आँखाहरू पनि तेजिला देख्छु। दिदीबहिनी र बुहारी पनि ऊर्जाशील छन्। किनमेलदेखि घरव्यवहारले कति थाकेका होलान् बिहेघरका मान्छे तर गोडामा बिजुली जडित छ। आँगन धस्नेगरी नाच्दै छन् चेलीहरू। बेहुलाकी भाउजूको नृत्य हेर्दा लाग्छ खुसीको फुलझडी बलेको छ। ऊर्जा पोखिएको छ बुहारीका गोडामा। बेहुलाको दाजुभाउजूको नृत्य क्यामरामा कैद गर्न लायक छ। उज्यालो छ घरपरिवारका सबै सदस्यहरूको मुहार। बाजा बजाउनेहरू पनि रौसिएका छन् हामी नाचेको देखेर। कति सुन्दर छ यी खुसीका दृश्यहरू। ऊर्जाशील छ सबैको शरीर। मामा पनि हामीसँगै तालमा ताल मिलाउन बेलाबेला आँगनमा आउनुहुन्छ।
छोराको बिहे पो हो त! कामको पहाड छ घरमा। भोलि बिहान सात बजे बेहुलो अन्माउने साइत छ। तर पनि मामा माइजू कामको ढिस्को पन्छाउँदै हामीसँगै नाच्दा खुसीको मकै पटटट गरेर आँगनभरि पड्किन्छ।
जति थाके पनि मन हर्षित छ भने मान्छे सजिलै रमाउन सक्दो रहेछ। आजका मान्छे शारीरिक रूपमा आरामी भए पनि मानसिक रूपमा थकित गलित हुँदैछन्। मामालाई हेरेर जीवन जिउने पाठ सिक्दै आएकी छु। खुसी जस्तो अचुक औषधि यो संसारमा केही छैन लाग्छ। खुसी जस्तो सम्पत्ति केही छैन यो विश्वमा। मन थाक्दा पो मान्छे मलिन हुनेरहेछ। मन हाँस्दा त तन थलिएर पिण्ड हुँदा पनि चरी जसरी फुर्फुर नाच्दो रहेछ।
माइजू हामीलाई सचेत गर्दै भन्नुहुन्छ, ‘लु अब बुकुबा दल्न दिदीबहिनीहरू अगाडि सर।’
माइजूको आदेश मान्दै इन्दिरा दिदीले ठूलो खड्कुलो लिएर आउनुभयो। मेनुका र विद्याले दूधको फरालिको भाँडामा गुलाफका पत्रहरूलाई सजाएर ल्याए। वरिपरि सबै जना बडो उत्सुक आँखाले हेर्दैछौँ। राजुको आँखामा पनि कौतूहलता छाएको छ आफ्नै बिहेको विधिहरू हेर्न।
तराईको वैशाख चिसो चिसो नै छ। हामी बडो भाग्यमानी छौँ। शीतल छ वातावरण। सरसर पवन चलेको छ। पानीको कल नजिकै आँगनको पल्लो कुनामा निमको अग्लो रूख छ। रूखले पनि राजुको बिहेमा नयाँ भोटो लगाएर नाच्दै छ। निमका तीता पातबाट पनि मीठो बतास चलेको छ। लाग्छ निमले पनि आफ्नो तीतोपन छोडेर राजुलाई आशीर्वाद दिँदैछ। आँगनभरि समियाना फैल्याइएको छ। नजिकैको गोठ लिपेर पूजाकोठा जस्तै सफा पारिएको देखेर मेरा आँखाहरू निकैबेर गोठको भूमिमा हराए। दुहुनो गाई पनि पाहुर लगाउँदै राजुको बिहे हेर्दैछिन्। म उठेर पुनः नाच्न थालेँ पञ्चेबाजाको तालमा।
मौलिक स्वाद छ हाम्रो परम्पराको। मधुरिएकी छु आफ्नै अतीतको मौसममा। नाच्दा नाच्दै हपहपी गर्मी भयो। चिसो पानी पिउन मन लागेर चापाकल चलाएँ। एउटा हातले कल चलाउँदै अर्को हातले खलखली मुख घोएँ। कलमै मुख जोतेर घट्घटी पानी पनि पिएँ। मलाई अझ कलको पानीसँग मित लगाउन मन लाग्यो। खलखल नुहाउन पाएँ । तर मनको मतिलाई लगाम लगाएँ। खचाखच छन् आँगनमा निम्तालुहरू।
मूलद्वार नजिकै लहरै बसेका छन् पञ्चेबाजा लिएर एक लहरमा बाजा बजाउने दाइहरू। कर्नालको आवाजले बिहेको माहोल बडो रोमाञ्चक हुँदैछ । काठमाडौँबाट आएका भान्जा भान्जीको प्रतीक्षामा बसेको माहोल हतारियो कार्यक्रमलाई अगाडि बढाउन। अनि गाडीबाट झोला झिकेर दिदी र म पनि माथि चोटातिर उक्लियौँ। पहेँलो सारीमा हामी अब मेहन्दी लगाउन तयार भयौँ। राजुलाई खड्कुलोमा राखेर सबैजना मिलेर कुमकुम, बेसार र पहेँलो तोरीको बुकुवा घस्न थाल्यौँ। लामो समय भएछ यो आदीम दृश्य नदेखेको। सबैजनाले बुकुबा दलेपछि अघि सजाएर राखेको दूधले बेहुलालाई स्नान पनि गरायौँ। कति सुन्दर छ हाम्रो संस्कृति। हे ईश्वर यति राम्रो संस्कारमा किन भारी मेकप लगाइँदै छ अज समय। जे छ मौलिक नै उत्तम छ।
हाम्रो हल्लाखल्ला बिछटैको छ। नृत्य नित्य छ। विष्णुको सिठ्ठी बडो सुरिलो सुनिन्छ। केहीबेरपछि बेहुला कलमा गएर खलमल नुहाउन थाल्यो। हामी राति ११ बजेसम्म बाजाको तालमा नाचिरह्यौँ। अनि पो होस आयो भोलि त जन्ती जानुछ। निद्रा पनि पूरा गर्नुछ। बिहेघरमा पाहुना टन्न भएकाले इन्द्रिरा दिदीको घर हामी दिदीबहिनीको लागि व्यवस्थित गरिएको रहेछ। राति ११ बजे झोला झाम्टा टिपेर हामी दिदीको घरतिर लाग्यौँ।
पाँच मिनेटको हिँडाइमा दिदीको घर पुग्यौँ। दिदीको आतिथ्य बडो आत्मीय लाग्यो। एकतला माथि हाम्रो कोठा सजिएको छ। भुइँभरि ठूलो झुल टाँगेर पाँच छ जना अट्ने ओछ्यान सफासँग मिलाइएको। खाटमा पनि दुई जना सुन्त मिल्ने छ। उषा दिदी र म पल्लो कोठामा पुग्यौँ। मामाका नातिनीहरू हामीसँगै भर्खरै परिचित भएकाले हाम्रो कोठामा आउन मानेनन्। हामी दिदीबहिनी बेग्लाबेग्लै खाटमा आनन्दले सुत्न पायौँ।
पन्खा घन्कँदो छ। फनन फनन गरेर पंखा घुमेको छ एकोहोरो। भित्तामा माउसुलीको अर्कै संसार छ। बत्तीमा आएका पुतलीलाई आफ्नो पेटमा हुल्न आतुर छन् माउसुली। घरी भित्तामा दगुर्छन् घरी सिलिङ्मा। उज्यालो चाहनु पुतलीको गल्ती हो त ? के पुललीलाई छैन अधिकार उज्यालोमा बस्ने। उज्यालोमा आउने बित्तिकै किन असुरक्षित हुन्छन् यी पुललीहरू? म सोच्दै थिएँ ...
‘ए नानी लु दुध पिएर सुत।’ इन्द्रिरा दिदीले तराईको बाक्लो दूध ल्याएर ओछ्यानमै दिनुभयो। प्रेम त होला नि दिदीको, नत्र त टन्नै खाएका थियौँ स्वादिलो खाना। दिदीको प्रेमलाई नाइँ भन्न नसकेर स्वाद लिएर दूध पिउन थालेँ। घडीमा बिहान चार बजेको अलार्म लगाएँ। घुटुक्क दुध पिएँ केहीबेरमा त म त मस्त निदाएछु।
अपरिचित छ खाट। भित्ता छाम्दा अनौठो छ। कहाँ छु केही थाहा छैन। अतालिएको अवस्थामा बाहिर निस्किन्छु , बाहिर पनि छक्क पर्ने दृश्य छ। लौ म कहाँ छु ज्ञात छैन। चेतना उडेको छ। होस् छैन्। डरले कामेकी छु। म अहिले कहाँ छु भन्ने बोध नभएर अत्तालिएकी छु। मेलोमेसो नपाए पछि पुनः कोठाभित्र पस्छु। केहीबेरपछि होस् आउँछ ‘अहो ! म त महेन्द्रनगरमा पो छु त! राति इन्दिरा दिदीको घरमा सुत्न आएका। आज राजुको बिहे छ। जन्त जानु छ सिन्धुली। चाँडै ठिक पर्नु छ।’
बोध फर्किएपछि मैले अमूल्य सम्पत्ति प्राप्त गरेँ। अनि शान्त भएँ।
मलाई कतै हिँड्दा प्रायः यो समस्या हुन्छ। बिहान सुतेर उठ्दा धेरैचोटी आकुलव्याकुल भएकी छु म कहाँ छु भन्ने सत्य थाहा नपाएर। नयाँ ठाउँको बोध झट्ट सम्झिन नसकेर। नवीन भूगोल पत्ता लगाउन नसकेर।
अब हतारको हाव चल्न थाल्यो। दिदीको नौलो भान्सामा गएर तातो पानी तताएर खाएँ। नित्य कर्म सकेर स्नान पनि भ्याएँ। अब तयार हुनुछ। राम्री हुनुछ। जन्त पो जाने हो त। तर राम्रोसँग शृङ्गारिन जानेकी छैन अनुहारमा घस्ने अनेक थरीका सामान पनि छैन। एउटा सन्सक्रीम, टीका र लाली लगाएपछि मेरो शृङ्गार पूरा हुन्छ। सबैजना तयार भएपछि हिँड्यौँ बिहेघरतिर।
बाजा घन्किएको छ आँगनमा। नाच्ने कोही छैन अहिले शृङ्गारपटारको चटारोले। आज अक्षत तृतिया परेकोले भान्साको छेउमा जौको सातु र सर्बत राखिएको छ। सबैले गति पर्न सातु सर्वत खायौँ। जसै सातु मुखमा हालेँ अतीतको फोटो सादृश्य भयो। आमा दोबाटोमा बसेर बटुवाहरूलाई कुर्दै सातु र सर्वत खुवाउँदै हुनुहुन्छ। बाल्टिनमा कागतीको अमिलो हालेको सर्वत छ भरिछ। हल्का मरिच पनि हालेको सर्वत बडो सुस्वादु छ।
कमलाको डिलबाट म सबैलाई उछिनेर सबैभन्दा अगाडि कुदेर आएकी छु। आफ्नै साथीहरूलाई सर्वत बाँड्न म कुदेकी हुँ। डालोमा दुना बोगता लिएर आमा नजिकै बसेको छ चिने। सबैलाई सातु दिँदै सर्वत पनि पिउन दिनुहुन्छ आमा। कत्रो आस्था कत्रो श्रद्धा। सानो अमखोराले बाल्टिनबाट झिकेको सर्वत मलाई पनि खान मन लागेर हुरूक्क भएकी छु। तर पहिले अरूकै पालो आएको छ। सबै जना खुसीको ओठ खोल्दै सातु सर्वत खाएर जान्छन्।
झमक्क साँझ परेपछि आमा रित्तो बाल्टिन बोकेर चिने र आमा घर फर्किनु हुन्छ। ‘मलाई अझ खानु छ सर्वत।’
‘ओई नानी के सोचेर उभिएकी हिँड् ढिलो भयो’ उषा दिदीले बोलाउँदा पो म झसङ्ग भएँ। अनि थपेर खाएँ मसिच राखेको सर्बत महेन्द्रनगरमा।
बेहुलो शृङ्गारिँदै छ। सबैलाई भ्याइनभ्याई छ। उकुसमुकुस भएको छ सबैलाई। शीतल बिहानी पनि रापिलो लागेको छ। चाँडोभन्दा भन्दै पनि अबेर हुन लागिसक्यो। साँच्चै भनेका रहेछन् हाम्रा अग्रजले ‘कस्तो बेहुलो अन्माएको जस्तो’ भनेर।
पञ्चे बाजाका पनि बिभिन्न राग हुँदा रहेछन्। विधि अनुसारका राग फेरिँदो रहेछ। बाजाको राग बदलियो। ढोकामा देखियो बेहुलो भाइ। सेतो र रातो पहिरनमा भव्य देखियो छ। अझ ढाका टोपी र दुबोको माला लगाएपछि त हेरिरहूँ जस्तो। साइतको दही खुवाएर बेहुलो अन्मियो। अब हामी जन्ती लिएर हिँड्यौँ सिन्धुलीको रातमाटातिर ... ।
यो पनि:
हाम्रै प्रतीक्षामा रहेछ बिहे घर!