हिजोआज पहाडका गाउँहरूको याद गर्नेहरू धेरै छन् तर गाउँमा बस्नेहरू कमै छन्।
गाउँको अर्गानिक खाना, ढुङ्गे धाराको चिसो पानी, गाउँमा फलेका अनाजहरू, गाउँमा पालेका खसी बोका र कुखुराको मासु, गाउँको घिउ चामल अनि गाउँका जंगलमा पाइने जंगली खानेकुरा आदि सहरियाहरूका मनले सम्झिने र जिब्रोले खोजिरहने स्वादहरू हुन्।
गाउँ घुमेर रमाउन पनि धेरैलाई मन पर्छ। हामीले चाहेजस्तो र खोजे जस्तो गाउँ बनाउन उत्पादन, वातावरण र समाज विकासका दृष्टिले कति सकेका छौं भन्ने विषय चाहिँ प्राय: सबैको मनमा खट्किरहने विषय बनेको छ।
केही दिन पहिले अछाम जिल्लाको एउटा स्थानीय तहमा सञ्चालन भएको कृषि तथा पशुपंक्षी कार्यक्रमहरूको अनुगमन टोलीमा सहभागी हुने मौका मिल्यो।
जिल्लास्थित केही सरकारी कार्यालयका प्रमुखहरू सहितको टोलीले कालिज फर्म, कुखुरा फर्म लगायत स्थानीय कार्यक्रहरूको अनुगमन गरेको थियो।
उक्त अनुगमनको क्रममा व्यवसाय गरिरहेका युवा व्यवसायीहरूको किस्मत मात्र देखिएन गाउँमा कृषिको अवस्था, सम्भावना र समुदायको सहभागिताको स्तर पनि नजिकबाट नियाल्ने मौका मिल्यो।
एक जना युवाले तीन वर्षअघि पैतिस लाख लगानी गरेर कालिज फर्ङ्ग सुरू गरेका रहेछन्।
सरकारी अनुदान र आफ्नो लगानी गर्दा अहिलेसम्म पचास लाख जति लगानी गरेका रहेछन्। चार हजार कालिज पाल्न सकिने क्षमताको फर्ममा अहिले उनका एक सय वटा ठूला र सात सयवटा चल्ला गरी आठ सय वटा कालिज रहेका छन्।
उनले कालिजका चल्ला ह्याचरी मसिनबाट फर्ममा नै उत्पादन गर्ने गरेका छन्। हाल ८०० अण्डा ह्याचरी मेसिनमा चल्ला बन्ने क्रममा रहेका छन्।
उनी भन्छन्- उत्पादन गर्न सकेमा बजारको अभाव छैन। यहाँदेखि धनगढीसम्म पनि माग हुने गरेको छ, अनि यहाँ पनि कालिजको स्वाद चाख्न धेरै ग्राहकहरू आउने गर्छन्। प्राय: मंसिरदेखि फागुनसम्म कालिजको सिजन हो। एक वर्षभित्रमा फर्ममा लिन आउनेलाई आठ सय वटा कालिज बेचेँ।यहाँ आउनेहरूलाई एक वर्षमा तीन सय वटा कालिजहरू पकाएर खुवाएँ।
उनको यो व्यापार देख्दा उत्साहप्रद नै देखिन्छ। लगानी अनुसार प्रतिफल दिएकोमा उनी सन्तुष्ट देखिन्छन्। सबै खर्च कटाएर वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको उनी सुनाउँछन्।
तीन वर्षसम्म स्थानीय तहमा यो नयाँ उद्यम गरेर बस्दा स्थानीय युवाहरू कालिज पालनबारे अहिलेसम्म सोध्न र जान्न नआएको कुरा उनले बताइरहँदा मन अलिक खल्लो बनाउँछ।
अर्का युवा व्यावसायीले जग्गा भाडामा लिएर पाँच लाख रुपैयाँ लगानी गरेर लोकल कुखुरा पाल्न थालेको एक वर्ष भयो।
अहिले उनको फर्ममा ठूलासाना गरी जम्मा तीन सय पचास जति कुखुरा छन्। उनी भन्छन्- माग धेरै छ तर भर्खर सुरू गरेकोले माग अनुसार कुखुरा पाल्न सकिएको छैन।
उनी केही आशावादी हुँदै भन्छन्- अब यी तीन सय वटा चल्लाहरू हुर्केपछि धेरै बिक्ला र आम्दानी पनि राम्रै होला भन्ने आशा छ। गाउँमा पनि केही हुन्छ कि भन्ने थोरै भए पनि आशा देखाउने यी मेहनेती युवाहरू प्रतिनिधि पात्रहरू हुन्।
यिनै युवाहरूले व्यवसाय गरेका वरपर देखिएको बाँझो जग्गा र खाली घरहरूको दृष्यले भने गाउँको विकासमा सशंकित बनाउँछ। कुनैबेला यिनै जग्गा र घरहरूको महत्व कति थियो होला। एक पाइलो जग्गाको सिमाना मिचिएला कि भनेर कति सजग हुन्थे मान्छेहरू। जग्गाको कहीँकतै बाँझो पो छोडियो कि भनेर निकै होसियार हुन्थे।
एक कोदालो माटो र एक पाइलो साँध सिमानाको बारेमा बाझाबाझ हुन्थ्यो। कसले धेरै बालीनाली लगाउने, कसले खेती छिटो सक्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो। यही माटोमा मेहनेत र लगाव उधुमै थियो। यसले के देखाउँछ भने दोष माटोको हैन मान्छेको हो, नीति निर्माताहरूको हो। पहाडमा उत्पादन हुन्छ भनेर सम्भावना देखाउन सकिएन सायद। बाटोमा देखिएको लहलहाउँदो आलुको फाँटलाई देखाउँदै कृषि ज्ञान केन्द्रका एक जना अधिकारी भन्नुहुन्छ- नेपालमा राष्ट्रिय रूपमा आलु उत्पादान औसतमा प्रति हेक्टर चौधदेखि पन्ध्र मेट्रिक टन हुन्छ। अछाममा व्यक्तिगत रूपमा किसानले उत्पादन गरेको अवस्था हेर्दा प्रति हेक्टर ३८ टनसम्म भएको छ, यो औसत राष्ट्रिय उत्पादन भन्दा बढी हो। गुणस्तरको हिसाबले पनि भारतबाट आयात हुने आलु र स्थानीय आलुको तुलना गर्नै मिल्दैन। यहाँको आलुको गुणस्तर अब्बल छ।
बिडम्बना नै मान्नुपर्छ यस्तो उर्बर भूमि बाँझै रहँदासम्म पनि कसैलाई लोभ लागेन, माया लागेन। आफ्ना बाबुआमा बाजेबज्यैले टन्जमन्ज उत्पादन गरेर रमाएको जमिनमा सन्तानहरू कसैले भविष्य देखेनन्। केही उत्पादन हुन्छ वा उत्पादन भएकोले भविष्य चल्छ भने आशा पलाएन। त्यसैले उर्वर घरहरू खण्डहर बनेका छन्, जमिन बाँझिएका छन्। गाउँका धेरै बाँझो जग्गा र खाली घरहरूका बाबजुद अहिले केही स्थानमा गरिएको लगानीको प्रयास देख्दा लाग्छ यहीँको माटोमा मान्छे रमाएको भए विकासको अवस्था कस्तो हुन्थ्यो?
हुनत: जुनबेला पहाडका जग्गाहरूको महत्व थियो त्यो बेला सरकार लगानी गर्न सक्ने अवस्थामा नै थिएन। अहिले जस्तो नयाँ बिउ, पुँजी तथा प्रविधि त हुने कुरै भएन। अहिले तलको पानी माथि ल्याएर सिँचाइ गर्ने प्रविधि भित्रिएको छ, पहिले एक काल्ना मुन खोलो बग्थ्यो तर एक काल्ना माथिको खेतबारी खडेरीले सुक्थ्यो। आफूले जे जानिन्थ्यो त्यही गर्ने, जति सक्यो त्यति नै गर्ने अवस्था थियो। किसानहरूका लागि सरकारको लगानी पहाडका गाउँमा अत्यन्तै न्यून थियो। गाउँमा बस्ती नै उजाडिएपछि सुविधा पुग्नु र सहरमा बसेर सम्भावनाको सपना देख्नु भनेको शीतल कादम्बिनीले लेखेको र शिव परियारले संगीत र स्वर भरेको 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ समयले जवानी यो लुटेपछि आयौ…' भन्ने गीत जस्तै भएको छ।
विकासको ढिलाइले गर्दा हो कि अवस्थितिले गर्दा किन पहाडका गाउँप्रति मान्छेको मन भाँचियो भन्ने उत्सुकता धेरैलाई जाग्ने गर्छ। एक जना साथीले भने तराईको पूर्व-पश्चिम राजमार्ग बन्नु अगावै मध्य पहाडी लोकमार्ग बनेको थियो भने नेपालको विकास बनोट सायद फरक पर्थ्यो होला।
पहाडका मान्छेहरू पहाडमा नै सम्भावना देख्थे होलान्। उत्पादन, बजारीकरण र यातायात सहज भएपछि मान्छे यतै पो थामिन्थ्यो कि? विकासको अवस्थाबारे मनमा उब्जिने यस्ता प्रश्नहरू स्वाभाविक हुन्। मान्छे बसाइँसराइ किन गर्छ भन्ने विभिन्न कारण हुन सक्छन्। आधारभूत तवरले सोच्ने हो भने मान्छे सुरूमा त खानकै लागि एक ठाउँबाट अर्को ठाउँमा गयो। जहाँ खान पाइन्छ त्यही केही समय अडियो। समय अनुसारका माग र चाहना बढ्दै गएपछि ठाउँ पनि सर्दैसर्दै गयो। यस बारेमा इतिहासको अध्ययन गर्ने र मानवशास्त्र अध्ययन गर्नेहरूले तथ्यहरू पत्ता लगाएका छन् नै तर आफूले अनुभव गरेर मान्छेले बनाउने अवधारणा पनि सत्यको नजिक नहोला भन्न सकिँदैन।
पहिले पहिले पहाडबाट तराई जानेहरू पहाडमा भन्दा तराईमा धेरै धान फल्छ र पर्याप्त खान पाइन्छ भनेरै गएका हुन्। शिक्षा, स्वास्थ्य र यातायतको सुविधाको मोह र आवश्यकताको महसुस त पछि मात्र भएको हो। त्यतिबेला मान्छे आधारभूत आवश्यकताकै लागि संघर्ष गरिहेको थियो। जतिबेला कुनै समाज आधारभूत आवश्यकतालाई प्राथमिकता दिन्छ त्यसका लागि संघर्ष गर्छ त्यतिबेला नै सरकारले विकासलाई तीव्रता दिन सक्यो भने देश बन्दोरहेछ क्यार। किनभने विकासको सुरूआत नै आधारभूत आवश्यकताको धरातलबाट हुने हो।
आधारभूत आवश्यकताको पूर्ति आफू बसेकै ठाउँबाट गर्नुपर्छ भन्ने सोचबाट मान्छे विमुख हुँदै गएपछि र सिंगै घरबारी छोडेर बस्ती उजाड हुन थालेपछि सुरू गरिएको लगानीले केही युवालाई थम्थम्याउन त सकिएला तर समग्र समुदायलाई स्थानीयताप्रति आसावादी बनाएर दिगो रूपमा टिकाउन भने कठिन छ।केही व्यक्तिले गरेका राम्रा कामले पनि समाजलाई सुनौलो भविष्यप्रति आशावादी बन्न सहयोग पुग्ने नै छ।परिश्रमी युवाहरुको मेहनेत र लगावलाई सलाम भन्नपर्छ।