(गाउँका एक जना वृद्ध बुवा भन्दै हुनुहुन्थ्यो: 'एउटै छोरो सात समुन्द्र पारि छ, जिउँदैमा मुख देख्न त त्यस्तै भो, मरेपछि आगो लाउन पनि नआउने भो बाबु।' उहाँको स्वरमा न रिस थियो, न गुनासो केबल गाउँको वास्तविक नियति बोलिरहेको थियो। यस्तो पीडाको समाधान न त नीतिमा अटाउँछ, न बजेटमा। यो त केबल गाउँको सुनसान साँझमा गुञ्जिने एक थुनिएको सुस्केरा मात्रै हो।)
अब हाम्रो गाउँमा पनि गाडी आउँछ है! केही दशक अगाडि यो वाक्य गाउँमा सपना जस्तो लाग्थ्यो। कडा मेहनत, जनश्रमदान, राजनीतिक दबाब र सरकारी योजनाबाट बल्लतल्ल खोल्सामा पुल बन्दै गाडी गुड्ने बाटो त बन्यो।
आज, त्यही सडक हुँदै गाडी त आउँछ, तर त्यसलाई हेर्ने मान्छे नै गाउँमा छैनन्। कतै खाडीतिर, कतै सहरतिर, अनि कतै युरोप, अमेरिकाको अपार्टमेन्टभित्र लुकेर गाउँका छोराछोरीहरू हराएका छन्। सडक पुगे पनि गाउँ रित्तिएको छ।
नेपालका अधिकांश ग्रामीण भेगमा सडक निर्माणलाई विकासको पर्याय मानियो। जब चुनाव नजिक आउँछ, उम्मेदवारहरू भन्छन्- सडक बनाइदिन्छु। सडकलाई विकासको मापन गर्ने बानी बसालिएको छ। सडक आयो भने अस्पताल आउँछ, स्कुल आउँछ, बजार आउँछ भन्ने आशा गरिन्छ। तर, वास्तवमा के भयो? गाउँमा अहिले सडक छ, ट्र्याक्टर गुड्छ, गाडी पनि पुग्छ। तर घरका ढोकामा ताल्चा छन्। उकालो ओरालो खेल्नुपर्ने बालबालिका अब सहरको बन्द कोठाभित्र मोबाइल स्क्रिनमा रमाइरहेका छन्, युवाहरू गाउँको विकास फेसबुकमा हेरिरहेछन् त्यो पनि कुनै देश वा सहरको कोठाभित्र बसेर। युवाशक्ति, जसले गाउँको भविष्यमाथि आशा टाँगिएको थियो, उनीहरू वैदेशिक रोजगारीको सपना बोकेर त्यही सडक हुँदै बिदा भए तर फर्किएनन्। फर्के पनि चाडबाडका केही दिनका लागि मात्रै।
सडकले पहुँच बनायो तर त्यो पहुँच उपयोग गरेर गाउँ छाड्ने क्रम बढ्यो। सहरमा पढाइ, स्वास्थ्य, कामको अवसर छ भनेर सबै सहरतिर लागे। अब गाडी चल्ने बाटो छ, तर गाडीमा चढ्ने मान्छे छैनन्। सडकले गाउँ बनायो कि रित्यायो सोच्न बाध्य बनाएको छ। खेतहरू बाँझा छन्, बारीमा मकै कोदो फापर लगाउनेहरू अब गाउँमा छैनन्। पिँढीमा बसेर गफ गर्ने जेष्ठ नागरिकहरू एक्लिएर बिहान घाम ताप्छन्, दिउँसो टेलिभिजन हेरेर समय कटाउँछन्। नयाँ पुस्ता त गाउँमा बस्ने कुरा गर्दा अचम्म मान्छ- 'केही छैन यो गाउँमा, किन बस्ने?'
गाउँको आँगन उज्यालो भए पनि डिलबाट मान्छे झुल्कँदैन, अनि के उज्यालो? सडक त बने, तर त्यो बाटोले गाउँलाई होइन, सहरलाई चिन्यो। पाका-पुरानाहरू भन्थे 'घर त त्यही हो जहाँ मान्छे बोल्छन्, ढोका खुलेका हुन्छन्।' तर आज गाउँका ढोका बन्द छन्, कोठाभित्र शून्यताको गन्ध छ। सडकले केबल माटो छोयो, गाउँको मुटु होइन। सरकारले बाटो त बनायो तर बाटोमा हिँड्ने सपना दिन सकेन। सडकले बाटो मात्र बनायो, अवसर बनाएन। गाउँमा रोजगारी छैन। उत्पादनको मूल्य छैन। गोठमा गाईपाल्नुभन्दा दुबई, कतारमा श्रम गर्न सजिलो लाग्न थाल्यो। सरकारले सडक बनायो, तर त्यो सडक प्रयोग गराउने सामाजिक र आर्थिक संरचना बनाउन सकेन।
गाउँमा कृषि व्यवसाय गर्नेलाई प्रोत्साहन छैन, बजार छैन, बीमा छैन। किसानले उत्पादन गरे पनि बेच्न सहज छैन। सरकारले अनुदान त दिन्छ, तर त्यो वास्तविक माटोमा पसिना बगाउने किसानभन्दा पनि फाइलमा मात्र कृषि गर्ने, पहुँच भएका व्यक्तिहरूले पाउँछन्। यस्ता अनियमितताले साँचो किसान निराश हुन्छ, र कृषि प्रतिको विश्वास हराउँदै जान्छ। युवालाई गाउँमै राख्ने यस्ता संरचनाको अभावमा त्यै सडक हुँदै उनीहरू सहर र विदेश पलायन हुन्छन्।
सडकले न केवल गाउँको जनसंख्या घटायो, संस्कार पनि हराउँदै गयो। अब दसैंमा पिङ लगाउनेहरू छैनन्। तिहारमा देउसीभैलो गाउने टोली जम्मा हुँदैन। परम्परागत जात्रा र मेलाहरू पनि क्रमशः निरूत्साहित हुँदैछन्। पुराना घरहरू अब भत्किएर खण्डहरमा परिणत भइरहेका छन्। कतिपय घरहरू त झ्याल ढोकामा झारपात पलाएको अवस्थामा छन्, मानौं कुनै संग्रहालय हो। वास्तविक विकास तब मात्र हुन्छ जब सडकसँगै स्वास्थ्य सेवा, शिक्षा, रोजगारी, कृषिमा प्रविधि, बजार र संस्कृति जोगाउने उपायहरू पनि सँगसँगै जोडिन्छन्। अहिले भएको विकास भौतिक विकास हो, मानव विकास होइन। सडक बन्यो, तर गाउँ रित्तियो त्यसलाई सफल विकास कसरी भन्न सकिन्छ?
गाउँका एक जना वृद्ध बुवा भन्दै हुनुहुन्थ्यो- 'एउटै छोरो सात समुन्द्र पारि छ, जिउँदैमा मुख देख्न त त्यस्तै भो, मरेपछि आगो लाउन पनि नआउने भो बाबु।'
उहाँको स्वरमा न रिस थियो, न गुनासो केबल गाउँको वास्तविक नियति बोलिरहेको थियो। सडक त आएको छ उहाँको घरअगाडि, गाडी पनि पुग्छ, तर छोराको पाइला कहिल्यै नपुग्ने भयो। गाउँमा बाटो त बन्यो, तर बाँचुन्जेल मायालु अनुहार हेर्ने रहर अधुरो रह्यो। यस्तो पीडा न त नीतिमा अटाउँछ, न बजेटमा। यो त केवल गाउँको सुनसान साँझमा गुञ्जिने एक थुनिएको सुस्केरा हो।
अर्का एक वृद्धको यस्तै गुनासो थियो- 'लासमा काँध हाल्ने सम्म कोही छैनन्, अब यही बाटो मोटरमा लगेर फाल्ने त होलान नि बाबु!'
यी शब्दहरू हाँसो होइनन्, असहाय भावले निस्किएको कटु यथार्थ हुन्। पहिले गाउँमा मृत्यु हुँदा छरछिमेक, नातागोता र टोलभरिका युवाहरू मिलेर घाट पुर्याउँथे। अहिले वृद्धका आँखा बाटोतिर टोलाउँछन्, को होला काँध दिने भनेर। सडक त छ, मोटर पनि छ, तर साथ दिने मान्छे छैनन्। यस्तो सडकको के गर्व, जहाँबाट बाँचुन्जेल कसैले बोल्दैन र मरेपछि चुपचाप लाश मात्रै लैजान सकिन्छ?
अझै पनि ढिला भएको छैन। सडक बनेको छ त्यसको सदुपयोग गर्न सकिन्छ। गाउँमै कृषि पर्यटन,साना उद्योग, होमस्टे, मौलिक उत्पादनको ब्रान्डिङ र प्रविधिको प्रयोगमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ। सरकारले युवालाई गाउँमै राख्ने खालका योजना ल्याउनुपर्छ, सस्तो ऋण, अनुदान, प्रशिक्षण र बजारको सुनिश्चितता गर्नुपर्दछ। सडक गाउँ छोड्ने बाटो मात्रै होइन, फर्किने बाटो पनि बनोस्। त्यो बाटो हुँदै फर्किएका युवाहरूले अबको गाउँको नयाँ कथा लेखून्, जहाँ भौतिक संरचना मात्रै होइन, मान्छे पनि रमाइलो जीवन बाँच्न सकून्।