एकछिन बाहिर जानु थियो। भक्तपुरको औसत साधन मोटरसाइकल नै हो। घरबाट मोटरसाइकल निकाल्ने तरखर गर्दे थिएँ। आठ वर्षीय छोराले अचम्म मान्दै भन्यो, ‘बाबा, हजुरले बाइक कसरी लगिसिन्छ? बाटोमा हेरिसियो त, कटुवाल अंकलको घरअगाडि बाटैभरि ठुलो जिरा सुकाएको छ।’
उसको शब्द सुनेर हाँसो रोक्न सकिनँ। बाहिर सुनिने गरी खित्का छुट्यो। मेरो हाँसोले छोराको अभिमानमा चोट पुग्यो क्यार। कालो मुख लगायो र फेरि भन्यो, ‘विश्वास लागेन, आफैँ हेरिस्यो न, बाटोमा कति धेरै ठुलो जिरा राखेको छ।’
छोरालाई सम्झाएँ, ‘धत्! त्यो ठुलो जिरा होइन क्या, हामीले भात खाने धान हो, धान।’
‘ह्या बाबा पनि,’ भन्दै छोरो क्रिकेट ब्याट हल्लाउँदै बाहिर निस्कियो।
म भने बाहिर जाने कामलाई एकछिन थाँती राखेर कोठाभित्रै पसेँ। एकछिन पलङमा ढल्किन मन लाग्यो। छोराको बालापन देखेर मन उड्न थाल्यो। कति निर्दोष हुन्छ बालापन। शरीर पलङमा अडिए पनि मन भने न बाटोमा अडियो न मोटरसाइकलमा। ऊ बेलाको आफ्नो बाल्यकाल सम्झेर बायुपंखी घोडाजस्तै उड्दै मन त्यति बेला हामीले दिनहुँ जस्तो खेल्ने पिठारीको रुखमा पुग्यो र म आफ्नै बाल वयमा पुगेँ।
तराई, त्यसमाथि वैशाख जेठको प्रचण्ड गर्मी। झापाको झिलझिलेबाट दक्षिण मोडिँदा लालझोडा हुँदै धौलेचोक पुग्दा छेउमा बग्ने सानो मकडुब्बाा खोला हुँदै अलिक तल झरेपछि बादल जस्तै पातहरूको झुप्पा भएको शीतल पिठारीको रुख भेटिन्थ्यो। दिनभर ओहोरदोहोर गर्ने बटुवादेखि स्कुल जाने केटाकेटीसम्म, दाउरेदेखि वयोवृद्धसम्म सबैका लागि पिठारीको रुख थकाइ मेटाउने ‘आरामचेयर’ जस्तै थियो।
पूर्वपट्टि सानै भए पनि बाह्रै महिना नसुकी बगिरहने मकडुब्बा खोलाको चिसो पानीले पिठारीको छहारीसम्म शीतल पुर्याउँदा झापाको त्यो सानो बस्तीले निकै राहत पाए जस्तो लाग्थ्यो। अझ, पिठारीको फेदमा एक खाले स्वर्गीय आनन्द नै पाउँथ्यौ हामी।
आज के खेल्ने होला? मनमा गज्जबको उत्साह थियो। लौ, पर हेर त सानो ‘कलुवा’ पनि टुकुटुकु हिँड्दै आउँदै छ। बिचरा तीन/चार वर्षको त होला। ए, कैले, जुम्ली, मैते सबै आइसकेका रहेछन्। आज हामी पिठारीको रुखमा आसपास खेल्दै छौँ। मैतेले हामीलाई भेट्टाउनु पर्नेछ। म, जुम्ली र कैले पिठारीको रुखमा चढेका छौँ। मैते खेद्दै छ। हामी भाग्दै छौँ।
कलुवा बाहेक हामी सबैको उमेर त्यही सात, आठ वर्ष हुँदो हो। मैते अझै खेद्दै छ, हामी भाग्दै छौँ। हामी रुखको टुप्पोमा भएर पनि यति बेला ढुक्क छौँ किनकि मैतेले हामीलाई भेट्न सकेको छैन। ऊ रुखको टुप्पोमा नपुग्दै हामी रुखको लहराबाट चिप्लेटी खेल्दै तल ओर्लिन्छौँ। मैते फेरि तल ओर्लिन्छ तर त्यस बेला हामी फेरि माथि पुगिसकेका हुन्छौँ। यो चक्र अविच्छिन्न चलिरहन्छ। हामी हस्याङफस्याङ गर्दे लड्दै कुदेको दृश्य, रुख चढ्न नसक्ने, चढेर पनि ओर्लिन नसक्ने कलुवा खित्खित् हाँस्दै भुईँमा बसेर नियालिरहेको छ। अन्ततः मैते अब थाकिसकेको हुन्छ तर पनि ऊ हार्न चाहँदैन। आजको खेलमा उसले कसैलाई न कसैलाई छुनु छ।
यत्तिकैमा उसले लहरामाथि बसेकी जुम्लीलाई झुक्क्याएर लडाइदिन्छ। जुम्ली अलाप विलाप गरेर रुन थाल्छे। कलुवा पनि सँगसँगै रुन थाल्छ। कैले मैतेलाई गाली गदै तल ओर्लिन्छ। हामीलाई उसको खेल मन परेको हुँदैन र झगडा गर्दे ऊसँग झम्टन्छौँ। तर एकैछिनमा जुम्लीको अलाप घटिसकेको हुन्छ। छल कपटविहीन आत्मीयता दर्साउँदै दुधे बच्चा झैँ एकैछिनमा फुलिएर आँसु मिश्रित हाँसोमा ऊ हामीलाई नै सम्झाउन थाल्छे। झगडाबाट पछि हट्दै बरु अर्को खेलका लागि आफै हार्न तयार हुन्छे।
सायद भोक लाग्यो होला। कलुवा त अझै फुलिएकै रहेनछ। कसरी फकाउने होला? उसले आफ्नी आमालाई छोडेर आएको पनि त धेरै भइसक्यो। फेरि चकलेट, मिठाइ त हामीसँग हुने कुरै भएन। यस्तैमा कलुवालाई काखमा बोकेर जुम्ली गीत गाउन थाल्छे। हामी उसलाई कोरस भएर साथ दिन्छौँ–
‘कालुपोके नानी आका हिप्पे
भरे आमा आउँछिन् बुबु क्याप्पे।’
भरे भरे आउने आमाको बुबु सम्झँदै कलुवा पनि चुप लाग्छ।
म कल्पँदै जान्छु, जिन्दगीको यो आसपास त्यही ४५–४६ सालतिरको हुनुपर्दछ। प्रजातन्त्र आएको पनि हुन सक्दछ, नआएको पनि हुन सक्दछ। तर हाम्रा निम्ति केही आएको थिएन, केही गएको पनि थिएन। पिठारीको रुखले हामीलाई रुन, हाँस्न र खेल्न अपार स्वतन्त्रता दिएको थियो। त्यो शीतल छहारीप्रति हामी सबैको आफ्नै खालको भरोसा थियो। आफ्नै खालको आसा थियो।
हामी मात्र होइन, त्यो भरोसा रुखको पात पातमा भुर्र गर्दै हामी एउटा लहराबाट अर्को लहरामा फाल हानेजस्तै एउटा हाँगाबाट अर्को हाँगामा फाल हान्ने चराचुरुङ्गीहरूको पनि थियो। कहिले झगडा गरे जस्तो त कहिले मिलेजस्तो गर्दे कतै यिनीहरू पनि पिठारीको रुखमा हामी जस्तै आसपास त खेलिरहेका थिएनन्। कति मन छुने ‘चिरबिर’ त्यो! कस्तो आत्मीयता झल्काउने खुसी!
आज यतिका वर्ष बितिसक्दा अहिले कस्तो भयो होला है त्यो पिठारी? मन त्यसै भावुक हुन्छ। सुन्दै छु, पिठारीको रुखमा आजकाल कोही पनि जान सक्दैनन् रे, त्यहाँ दिउँसै तर्साउँछ रे, पिठारीको रुख त्यसै जिङ्ग्रिङ्ङ देखिन्छ रे। यति बेला कैले बिदेसिएको छ रे। क्रान्ति गर्न भन्दै मैते जङ्गल पस्यो रे। अनि जुम्लीको त कुनै अत्तोपत्तो छैन रे।
म सम्झँदै जान्छु, त्यो त्यही जुम्ली थिई जो अरूले आफूलाई लडाउँदा आफ्ना आँसु आफै पुछेर मित्रताको अँगालो हाल्न सक्थी। त्यो त्यही मैते थियो जसको गोजीमा एक मुठी खानेकुरा हुँदा ‘जोर कि बिजोर’ गर्दै हरेक पटक जोर अरूलाई पारेर आफू बिजोरमा रमाउँथ्यो। विवेकशील बन्न सबैका हातमा किताबहरू थिए। केही जान्न बुझ्न सबैका बाटामा स्कुलहरू थिए। अनि ऊ कसरी बेपत्ता भई? ऊ कसरी बिदेसियो? उसले कसरी बन्दुक बोक्न सक्यो?
म देख्दै जान्छु पिठारीको रुखको टुप्पोबाट त्यस बेला पनि एक हुल अगाडि अगाडि ‘जिन्दाबाद’ भन्दै हुन्थ्यो। अर्को ठुलो लस्कर त्यसमा ताल मिलाउँदै हुन्थ्यो। त्यही हुल फेरि ‘मुर्दावाद’ भन्थ्यो, ठुलो लस्कर त्यसमा पनि ताल मिलाउँदै हुन्थ्यो। माला, खादा अबिर लगाएका दुई तीन सय मान्छे अघि–अघि, अरू धेरै मान्छे पछि–पछि। म पिठारीको रुखबाट त्यो अचम्मको दृश्य अनजानमा नियालिरहेको हुन्थेँ। सायद मैले नबुझेको र नदेखेको ‘जिन्दाबादमा’ कुनै मोह थिएन। नपाएको र नभोगेको ‘मुर्दावादमा’ पनि कुनै चाख थिएन।
अहिले थोरै बुझ्न सक्ने हुँदा सुन्दै छु, ती जिन्दाबाद र मुर्दावाद भन्दै अघि अघि लाग्नेहरू आजकाल गाउँबाट वाक्क भएर राजधानी केन्द्रित आन्दोलनमा जुटेका छन् रे। विगत धेरै वर्षदेखि यिनीहरू केही न केही मागिरहेका छन् रे। धेरै त मन्त्री नै भइसके रे। ठुला ठुला महल, बंगला, गाडी सबै पाइसके रे तर अझै पनि माग सकिएको छैन रे।
म सोच्दै जान्छु, जिन्दगीभर केही नमाग्ने वा माग्नै नजान्नेहरू के गर्दै होलान्? कैले, जुम्ली, मैते, कलुवा सबै सग्लै छन्? यिनीहरू मरेर बाँचिरहेका छन् वा बाँचेर पनि मरिरहेका छन्?
म सम्झन्छु, मुसुक्क हाँस्दा जुम्लीको दाहिने गालामा सानो डिम्पल देखिन्थ्यो। गुन्द्रुक जस्तै घुङ्रिएको कपाल, गहुँगोरो अनुहार, ब्वाइज कट कपालमा काइँयो नलाउँदा पनि कति राम्री देखिन्थी ऊ। अलिक ठुली हुँदा कस्ती भई होली? उसलाई पनि त बैँसको लालीमाले छुँदो हो। हलक्क बढ्दा आँखामा आउने लज्जाले त्यो डिम्पल देखिने गाला कति लजायो होला?
मैते मनको धनी थियो तर उसको आङले नयाँ लुगा फेर्न दसैँ नै कुर्नु पर्थ्यो। बाह्रमासै उसको शरीरमा लाइलुङको लुगा मात्र। हामी मैतेको दसैँ चाँडै हेर्न भदौ लागेदेखि नै मकडुब्बा खोलाको किनारमा फुलेको काँस खोज्दै हिँड्थ्यौँ। फुलेको काँस देखिन थालेपछि मैते जस्तै हामी सबैको घरमा दसैँ आउँथ्यो।
कैलेको कपाल कालो हुँदो हो त उसको नाम अर्कै रहन्थ्यो होला। परबाट हेर्दा उसको कपाल कुहिरो जस्तै देखिने भएर नै हामीले उसलाई कैले भनेको हो। एक दिन कैले भैँसी चराउँदै रहेछ। भैँसी तर्सिएर भाग्दा हातमा पगा बेरिएर भैँसीले कैलेलाई घिसार्दे धेरै परसम्म पुर्याएछ। धन्न बाँचेछ कैले। हामी घरमा हेर्न जाँदा निन्याउरो मुख लगाएर बसेको थियो। दाहिने हात भाँचिएर सिमेन्ट लगाएको। शरीरभरि दागै दाग। ऊ मुखले केही बेल्न सकेन तर उसका आँखा बेलिरहेका थिए, ‘अब कहिले खेल्न पाउने होला?’
सानो साथी कलुवा जति चकचके थियो त्यति नै मिलनसार पनि। सबैको माया पाएर होला, साह्रै पुलपुलिएको थियो ऊ। झट्ट हेर्दा रातो वर्णकै देखिए पनि सबैले उसलाई मायाले ‘कलुवा’ भनेरै बेलाउँथे।
अरू बेला शान्त देखिने मकडुब्बा खोला बर्खामा बाघ जस्तै गर्जिन्थ्यो। छेउछाउमा भएका बुट्यान, केराको थम्बा, पाँक, मुढा, स–साना रुख सबै सोरपटार पारेर ल्याउँथ्यो। म कहिलेकाहीँ बुईमा बेकर कलुवालाई मकडुब्बा खोलामा आएको बाढी हेर्न लैजान्थेँ। ऊ परैबाट सबैभन्दा पहिला बाढीले डुबाएको पिठारीको रुखमा आँखा डुलाउँथ्यो। सायद मनमनै भन्दो हो, ‘हे भगवान्, मुढा बगाएजस्तै पिठारीको रुख चाहिँ नबगाओस्।’
आखिर अहिले सम्झेर ल्याउँदा बाढीले न पिठारीलाई बगाउन सक्यो न त बस्तीका झुप्राहरूमा बस्ने कैले र मैतेहरूलाई। अन्ततः त्यो बर्खामा कहिलेकाहीँ आउने बाढीभन्दा बस्तीमा हरेक दिन हरेक घरमा आउने निराशा र अभावको बाढीले मैते, कैलेहरूलाई गाउँ नै रित्तो हुने गरी बगाइदिएको छ।
म रित्तो पिठारी हेरेर एक्लै बसेको छु। सायद चाहेर पनि अब जुम्लीको आँसु पुछ्न सक्ने छैन। खोजेर पनि कैलेलाई पाउने छैन। देखेर पनि मैतेलाई चिन्ने छैन। पिठारीको रुख जिउँदै सुक्न लागेको छ। लहरा त के, त्यहाँ अडिएका पातहरू समेत ओइलाउन थालेका छन्।
म चाहेर पनि त्यहाँ पुग्न सक्दिनँ, नचाहेर त्यसलाई त्यत्तिकै छोड्न पनि सक्दिनँ। त्यो दुब्लो पिठारीमा फेरि लहरा बुन्ने इच्छा छ। नयाँ जुम्लीहरू रमाएको हेर्ने इच्छा छ। पिठारीको रुखमा साँच्चैको त्राण भर्ने रहर छ।
आँखा मिच्दै, आङ तान्दै पलङमा लमतन्न ढल्किएको शरीर उठाउँदै थिएँ। छोरो कराउँदै आइपुग्यो, ‘बाबा, के सोचेर बसिसेको? मेरो क्रिकेट बल हरायो। जाऊँ ठिमी चोकमा किन्न।’
झ्यालबाहिर यसो बाटोमा हेरेँ, उसले अघि भरखर देखेको ठुलो जिरारूपी धान बेरामा उठाइसकिएको रहेछ।